शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको सम्पादकीयः ट्रान्सपरेन्सीको प्रतिवेदनको औचित्यमाथि प्रश्न ‘भ्रष्टाचारमा भित्ते प्रतिबद्धता’

आइतबार, १२ माघ २०७६, ०८ : १६
आइतबार, १२ माघ २०७६

आज माघ १२ गते आइतबार प्रकाशित मुख्य दैनिक पत्रिकाले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता गरेपनि सुधार नभएको तथा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको तथ्यांक पनि यथार्थ परक नभएको विषयमा सम्पादकीय लेखेका छन् । त्यसैगरी उता चीनबाट फैलिएको नयाँ कोरोना भाइरसको संक्रमण नेपालमा पनि पाइएकाले यसबारे थप सतर्कता अपनाउन पनि सम्पादकीयमार्फत सुझाव दिइएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको तथ्यांकले नेपालमा भ्रष्टाचार व्यप्त छ भन्ने देखाएका कारण भ्रष्टाचार नगर्ने भनी घोषणा गरिएको भित्तेलेखनले खासै प्रभाव नपारेको उल्लेख गर्दै आज नेपाल समाचारपत्रले ‘भ्रष्टाचारमा भित्ते प्रतिबद्धता’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– म भ्रष्टाचार गर्दिनँ भन्ने वाक्य प्रायः सरकारी कार्यालयका भित्तामा टाँस्ने गरिएको भए पनि  यसले खासै प्रभाव पारेको देखिँदैन । वर्तमान सरकार गठन भएयता प्राय सरकारी कार्यालयमा भ्रष्टाचार विरोधी शब्दहरु टाँस्नुपर्ने उर्दी नै जारी गरिएको थियो । यस्ता शब्द सरकारी कार्यालयका भित्तामा टाँसिएका देख्दा सेवाग्राही शुरु–शुरुमा खुसी हुने गरेका भए पनि सरकारी कार्यालयको पारा उस्तै हुने गरेपछि उनीहरुले यसमा विश्वास गर्न छाडेका छन् ।

त्यसैगरी कारोबार दैनिकले अत्यधिक भ्रष्टाचारकै कारण राजनीतिक व्यवस्थासमेत बदनाम भइरहेको बेला मुलुकमा भ्रष्टाचार घटेको तथा सूचकांकमा माथि चढेको जस्ता प्रतिवेदनको औचित्यमाथि प्रश्न गरेको छ । ‘घटेकै हो त भ्रष्टाचार ?’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपतिलाई बुझाएको २९ औं प्रतिवेदनमा मन्त्रालयले सार्वजनिक खरिदसम्बन्धी विषयमा निर्णय गर्न मन्त्रिपरिषद् पुर्‍याईने प्रवित्ति छ । ठूला ठेक्कापट्टका निर्णय मन्त्रिपरिषद् पु¥याउने कारण हो, निर्णयमा अन्तर्निहित भ्रष्टाचारका विषयमा अनुसन्धान गर्न रोकावट गर्नु । मुलुकमा भ्रष्टाचारसम्बन्धी अनुसन्धान र नियन्त्रणको अख्तियारी पाएको एकमात्र संवैधानिक निकाय अख्तियारले मन्त्रिपरिषद् र यसका समितिबाट सामूहिक रुपमा जेजस्ता भ्रष्टाचारजन्य निर्णय लिए पनि छानबिन गर्न नपाउने व्यवस्था छ ।

त्यस्तै आज अन्नपूर्ण पोस्ट्ले मुलुकभर झन्डै पाँच सय बिघा सार्वजनिक जग्गामाथि बिभिन्न व्यक्तिले कब्जा जमाएको उल्लेख गर्दै ‘जग्गा संरक्षण गर’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– सार्वजनिक जग्गा हिनामिनामा राज्यकै निकाय वा राष्ट्र सेवकको पनि मिलेमतो छ ।...सार्वजनिक जग्गा हिनामिनामा ठूला घरानिया र केही नेताका नाम पनि मुछिएका छन् । सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही हुनैपर्छ ।

उता चीनबाट फैलिएको नयाँ कोरोना भाइरसको संक्रमण नेपालमा पनि पाइएकाले यसबारे थप सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै कान्तिपुर दैनिकले ‘नयाँ कोरोना भाइरसको जोखिम’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘चीनका आधा दर्जनभन्दा बढी सहर र काठमाडौंबीच सिधा हवाई सम्पर्क भएकाले नेपालमा यो संक्रमणको जोखिम बढी छ, सम्पदकीयमा भनिएको छ, ‘चीनको वुहानबाट विदामा नेपाल आएका विद्यार्थीको रगत र र्‍यालको परीक्षण गर्दा यो भाइरस भएको पुष्टि भएको छ । हङकङबाट आएका अर्का व्यक्तिसमेत संक्रमण भएको आशंका छ, त्यसैले संक्रमण फैलन नदिन त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको २४ घण्टे हेल्थ डेस्क सेन्टरलाई प्रभावकारी बनाइनुपर्छ ।’

त्यस्तै आजको नयाँ पत्रिकाले पनि चीनको वुहानबाट मानिसमा सल्लकेर आएको नयाँ कोरोना भाइरसको संक्रमणबारे सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै सम्पादकीय लेखेको छ । ‘पर्याप्त जनशक्ति र प्रविधि अभावका कारण सरकारले अपनाउने सजगताले मात्र कोरोना भाइरसलाई रोकथाम गर्न मुस्किल पर्ने हुनाले यससम्बन्धी चेतना घरघरसम्म पुर्‍याउन जरुरी छ ,’ सम्पादकीयमा भनिएको छ, ‘ सरकारले तत्काल यसबारे चेतना फैलाउन आवश्यक पहलकदमी लेओस् ।’

सरकारले अस्पताल गएका सामान्य बिरामी, अन्तरङ्ग विभागमा भर्ना भएकाहरु तथा तिनका लागि आफन्तलाई सहज होस् भनेर अस्पताल परिसरभित्रै अस्पतालको औषधी पसल(फार्मेसी) राख्नुपर्ने निर्णय गरेपछि अधिकांश सरकारी अस्पतालमा औषधी पसल राखिएको उल्लेख गर्दै गोरखापत्रले ‘सहज र सुलभ फार्मेसी’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– राजधानीका सबै लगायत प्रदेश, जिल्ला, क्षेत्रीय र उपक्षेत्रीय अस्पतालमा फार्मेसी सञ्चालन गरिएकाले अधिकांश अस्पतालभित्र निजी फार्मेसीको बोलबाला अन्त्य भएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप