शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रेस रिभ्यू : थप तीन जनामा कोरोनाको आशंका, पाँच अस्पताल स्ट्यान्डबाईमा

आइतबार, १२ माघ २०७६, ०७ : ५५
आइतबार, १२ माघ २०७६

आज माघ १२ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा नोवल कोरोना भाइरसको संक्रमणको बारेमा समाचारहरु प्रकाशित भएका छन् । त्यस्तै, सभामुख पदको निर्वाचनको बारेमा पनि समाचारहरु प्रकाशित भएका छन् ।

'नोवल कोरोना' संक्रमण पुष्टि नहुँदै संक्रमितलाई किन डिस्चार्ज गरियो भन्दै कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलन सुरु भएको कोरोना भाइरस अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया हुँदै अहिले नेपालसम्म आइपुगेको छ ।  नेपालमा भने कोराना भाइरसको परीक्षण उपलब्ध छैन। चीनको वुहानमा पीएचडी अध्ययनरत एकजनामा यसको संक्रमण देखिएको छ। गत जनवरी ५ मा नेपाल आएका उनलाई ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि जनवरी १३ मा अस्पताल भर्ना भएका थिए। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलन वार्डमा राखेर उनको उपचार गरियो। कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगत र र्यालको नुमना परीक्षणका लागि उनको रिपार्ट गत मंगलबार विश्व स्वास्थ्य संगठनको हङकङस्थित कोलाबरेटिङ सेन्टरमा पठाइएको थियो। नुमना परीक्षणका क्रममा उनमा कोराना भाइरस संक्रमणको भएको पुष्टि भयो। भाइरस संक्रमण आशंका गरिएका ती विद्यार्थीलाई नमुना परीक्षणकै बेलामा घर पठाइयो। उनलाई उपचारमा आएको ४ दिनमै ठीक भएको भन्दै डिस्चार्ज गरियो। यसले विभिन्न प्रश्नहरु खडा गरेका छन्। वुहानबाट फर्किएका ती विद्यार्थीलाई उच्च निगरानीमा किन राख्न सकिएन भन्दै अहिले प्रश्न उठाउन थालिएको छ। कोरोना भाइरस पुष्टि नहुँदै अस्पतालले उनलाई किन डिस्चार्ज दियोरु डिस्चार्जपछि उनी कहाँ(कहाँ घुमेरु आफ्नो परिवारको को–को सँग सम्पर्कमा आएरु प्लेनमा नै आउँदा उनीबाट कतिजनालाई कोरोना सर्यो होलारु के सरकारले उनको परिवार र उनी सवार विमानमा रहेका अन्य यात्रुको स्क्रिनिङ गरेको छ तरु यी प्रश्नहरु अहिले मानिसहरु आतंकित बन्न पुगेका छन्। यदि उनीहरुमा पनि यो भाइरस फैलिसकेको हो भने नेपालमा पनि उच्च जोखिममा हुन सक्छ। यसमा अस्पतालले सामान्य रुपमा लिएर गभ्भीर लापारबाही गरेको देखिन्छ।

चीनमा कोरोना भाइरसले महामारीको रूप लिएको नयाँ पत्रिका दैनिकमा समाचार छ । संक्रमितको उपचारमा संलग्न डाक्टरसहित ४१ जनाको ज्यान गएको छ । शनिबार मात्रै १५ जनाको मृत्यु भएको छ । मृतक सबै हुपेई प्रान्तको वुहान सहरका हुन् । देशभर १३ सयभन्दा बढी संक्रमित छन् । शनिबार भेटिएका एक सय ८० बिरामीमध्ये ७७ वुहानकै छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ । एक करोड १० लाख जनसंख्या रहेको वुहानमै गत महिना पहिलोपटक कोरोनाको संक्रमण देखिएको थियो । अहिले विश्वभर फैलिँदै छ । चीनले कोरोना नियन्त्रण गर्न व्यापक सतर्कता अपनाएको छ । नयाँ वर्षका धेरै कार्यक्रम रद्द भएका छन् । वुहानसँग जोडिएका १४ सहरमा आवतजावत नै बन्द गरिएको छ । वुहानमा सम्पूर्ण बस, मेट्रो, रेल र फेरी सेवा स्थगित गरिएका छन् भने त्यहाँबाट उड्ने विमान सेवा पनि रद्द गरिएको छ । वुहानमा कोरोना संक्रमितको उपचारका लागि मात्रै विशेष अस्पताल बनाउन सुरु गरिएको छ । २५ हजार वर्गमटिर क्षेत्रफलमा निर्माण भइरहेको एक हजार शय्याको अस्पताल ६ दिनमा तयार हुनेछ । निर्माणमा ४५ डोजर प्रयोग गरिएका छन् । नयाँ अस्पतालले मेडिकल स्रोतसाधनको विद्यमान समस्यालाई समाधान गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सन् २००३ मा सार्स भाइरस संक्रमणका वेला पनि बेइजिङमा एक सातामा एउटा अस्पताल निर्माण भएको थियो । ग्रेटवालको केही अंशलगायत बेइजिङको महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्द छन् । देशका अन्य भागमा हुन लागेका महत्वपूर्ण कार्यक्रम पनि रद्द गरिएका छन् । सांघाईको डिज्नी रिसोर्ट अस्थायी रूपमा बन्द छ भने पाँच सहरमा म्याक डोनाल्ड रेस्टुरेन्टका शाखा बन्द छन् ।

चीनको वुहानमा अध्ययन गरेर फर्किएका जनकपुरका ३२ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएपछि नेपालले सतर्कता अपनाएको सोही पत्रिकामा समाचार छ । कोरोनाबाट संक्रमित बिरामीको उपचार गर्न पाँच अस्पताल तोकेको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पताल तोकिएका हुन् । शनिबार सबै अस्पताल प्रमुखहरूलाई बोलाएर तयारी अवस्थामा रहन दिर्नेशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । प्रारम्भिक चरणमा बिरामी हेर्न शुक्रराज तथा सरुवा रोग अस्पताललाई जिम्मा दिएको छ । दुई हप्ताअघि वुहानबाट नेपाल आएका युवालाई पनि ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि सुरुमा टेकु अस्पतालमै भर्ना गरिएको थियो । कोरोना भाइरसको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिएको थियो । तर, परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि विश्वस्वास्थ्य संगठन ९डब्लुएचओ०को अग्रसरतामा उनको रगत र र्‍यालको नमूना हङकङ पठाइएको थियो । बिहीवार राति आएको उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । तर, रिपोर्ट आउँदासम्म बिरामी भने डिस्चार्ज भइसकेका छन् । बिरामी नै अस्पताल बस्न नमानेपछि विशेष निगरानीमा घर पठाइएको चिकित्सकहरूले बताएका छन् ।

चीनबाट फर्किएका एक नेपालीमा नोवल कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै थप तीनजनामा त्यसको आशंका गरिएको नागरिक दैनिकमा समाचार छ। कोरोना भाइरसको संक्रमणको आशंकामा दुईजनालाई शुक्रबार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ। कोरोनाकै आशंकामा अर्का एकजना निजी अस्पतालमा भर्ना भएका छन्। उनीहरूको नाम खुलाइएको छैन। रुघाखोकी र श्वासप्रश्वासमा समस्या अएपछि पुस २८ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका एक बिरामीको खकार र रगतको नमुना परीक्षणमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो। चीनको वुहानबाट फर्किएका जनकपुरका ३५ वर्षीय ती युवक अस्पतालबाट डिस्चार्ज भए पनि चिकित्सकको नियमित निगरानीमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले बताए। संक्रमण पुष्टि भएकै बिरामीमा जस्तो लक्षण देखिएका २८ वर्षीय एक युवक शुक्रबार शुक्रराज आइसोलेसन वार्डमा भर्ना भएका हुन्। अस्पताल स्रोतका अनुसार हङकङबाट आएका ती युवकको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको छ। त्यस्तै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट शुक्रराजमा रेफर गरिएका एक बिरामी पनि भर्ना भएको सरुवा रोग अस्पताल स्रोतको भनाइ छ। एक निजी अस्पतालमा पनि कोरोना भाइरस संक्रमण भएको आशंकामा एकजना भर्ना भएको जानकारी प्राप्त भएको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी बताउँछन्। कोरोना भाइरसको आशंकामा भर्ना हुने बिरामीको संख्या बढ्न थालेपिछ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आपतकालीन बैठक राखेको एक उच्च अधिकारीले बताए।

सरकारले नै उखु किसानलाई अनुदान उपलब्ध गराउन आनाकानी गरेको पाइएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । किसानका विषयमा प्रमाण पुष्टि हुने कागजात नमिलेका कारण कतिपय जिल्लाका किसानले अनुदानबापतको रकम भुक्तानी नगरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव डा युवकध्वज जीसीले आवश्यक कागजात नपुगेका कारण अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालयमा थन्किएको बताए । ‘किसानलाई अनुदान दिने कार्यविधिमा अनुदान रकम पाउन नेपाली उखु उत्पादक किसान हुनैपर्ने र उत्पादन भएको उखु नेपाली चिनी उद्योगलाई बिक्री गरेको प्रमाणसहितको पुष्टि हुने पर्याप्त कागजात हुनुपर्ने व्यवस्था छ,’ सचिव जीसीले भने, ‘उखु क्षेत्रमा रहेका बिचौलिया नियन्त्रण गर्न यस्तो व्यवस्था राखिए पनि तल्लो तहमा सबै निकायबीच समन्वय नहुँदा किसानले अनुदान रकम नपाएका हुन् ।’ उनका अनुसार एक अर्ब ३४ करोड अनुदान रकम वितरण गर्नुपर्नेमा अर्थ मन्त्रालयबाट ९२ करोड ८० लाख रुपैयाँ निकासा भएको थियो । निकासा भएको रकम ६ महिनाअघि आठ जिल्लाका भुक्तानी समितिलाई उपलब्ध गराइएको थियो । सरकारले किसानलाई उखुखेती प्रोत्साहन अनुदानबापत प्रतिक्विन्टल ६५ रुपैयाँ उपलब्ध गराउँछ । कागजात मिलेको आधारमा करिब ५५ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । बाँकी ९२ करोड ३० लाख रुपैयाँ कोलेनिकाको खातामै थन्किएको सचिव जीसीले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा तीन जना पूर्वसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको कान्तिपुर दैनिकमा समाचार छ । अख्तियारको प्रमुख आयुक्तबाट अवकाश पाएका तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यात तथा भूमिसुधार मन्त्रालयका तत्कालीन सचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारीमाथि सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न ब्युरोले सिफारिस गरेको हो। कारबाहीको सिफारिस गरिएका पूर्वसचिव पन्त खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारका मन्त्री हुन् भने अर्का पूर्वसचिव अधिकारी वरिष्ठ साहित्यकार पनि हुन्। ललिता निवासका तत्कालीन भोगाधिकारीहरू रुक्मशमशेर राणा तथा उनका दुई भतिजा हाटकशमशेर र हेमाद्रीशमशेर राणा, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, भूमिसुधार विभाग, मालपोत र नापी कार्यालय, गुठी संस्थान र समरजंग कम्पनीका कर्मचारीमाथि पनि ब्युरोले थप अनुसन्धान गरी कारबाहीको सिफारिस गरेको छ। सरकारी जग्गा हडप्ने नियतसहित भूमाफियालाई सट्टाभर्ना र नक्कली मोही कायम गर्न मन्त्रालयबाट आएका राय र टिप्पणी मन्त्रिपरिषद् बैठकमा पठाउन तथा मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न लिखित निर्देशन लिखित दिएको आरोपमा तत्कालीन मुख्यसचिव एवं हाल चीनका निम्ति नेपाली राजदूत लीलामणि पौडेललाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप