शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तहको समन्वय र अनुगमन गर्न आग्रह

शनिबार, ११ माघ २०७६, १२ : ४०
शनिबार, ११ माघ २०७६

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिकार भएन भन्नुभन्दा पनि प्राप्त अधिकारको सदुुपयोग गर्दै थप अधिकारको लागि लाग्नुपर्ने बताएका छन्। जिल्ला समन्वय समिति महासङ्घ नेपालको रजत महोत्सवको अवसरमा  शुक्रबार आयोजित कार्यक्रमा अध्यक्ष तिमिल्सिनाले जिल्ला समन्वय समितिलाई स्थानीय तहको समन्वय र अनुगमन गर्ने कार्यमा जिम्मेवारी रहेकाले आफ्नो क्षमताको प्रयोग गर्न आग्रह गरे । 

सङ्घमा नभई अधिकार स्थानीय तहमा हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले आवश्य ऐन नियम बनाएर परेका अप्ठेरालाई फुकाउँदै जाने पनि बताए । 

 कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अहिले प्रतिपक्षले सरकारले केही गरेन भनेर चलाएको हल्ला सही नभएको बताउँदै प्रत्यक्ष जनतासँग जोडिएका घटना र समस्याको सरकारले सम्बोधन गरिरहेको बताइन् । मन्त्री अर्यालले जिल्ला समन्वय समितिलाई प्राप्त अधिकारको सहीरुपमा प्रयोग गर्न आग्रह गर्दै गुनासो गर्नुभन्दा पनि थप अधिकारको लागि लाग्नुपर्नेमा जोड दिइन् । 

    कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घ नेपालका अध्यक्ष सीताकुमारी सुन्दासले जिल्ला समन्वय समितिलाई नाम मात्रैको बनाइएको गुनासो गरिन् । सुन्दासले भनिन् “जिल्ला समन्वय समितिलाई स्थानीय तहको समन्वय र अनुगमन गर्ने भनिएको छ, तर स्रोत र साधनविहीन बनाइएको छ यो अवस्थामा कसरी काम गर्न सकिन्छ ।” देशैभरका ७७ वटै जिल्ला समन्वयका प्रमुख एवं उपप्रमुखको उपस्थित रहेको कार्यक्रम आज सकिँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप