शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धबाबा भारत ‘भाग्दा’ प्रहरीलाई तनाव, हवल्दारलाई सुरक्षामा नखटाइएको दावी

शनिबार, ११ माघ २०७६, १२ : ०१
शनिबार, ११ माघ २०७६

काठमाडौँ । बिहीबार बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी ‘सुटुक्क’ भारतर्फ लागेपछि प्रहरीभित्र हलचल मच्चिएको छ । सुनसरीको चतरास्थित आश्रमबाट उच्च अदालत विराटनगर जाने भन्दै हिँडेका गिरी प्रहरीलाई झुक्याएर एकाएक भारत पसेका थिए।

 गिरीविरुद्धको मुद्दाको पेसी उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा चलिरहेका बेला सिद्धबाबा सुरक्षा संयन्त्रलाई झुक्याएर भारत पसेका हुन् । 

सिद्धबाबाको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले हबल्दार मुकेश साहसहितको टोलीलाई खटाएको बताइएको छ । सीमावर्ती क्षेत्र रानीबाट भारतीय बजार जोगवनी पुगेका गिरीले सुरक्षाकर्मीलाई फिर्ता पठाएर भारत पसेका हुन् । 

तर, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख यज्ञविनोद पोखरेलले भने जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि सिद्धबाबाको सुरक्षाका लागि कुनै प्रहरी नखटाइएको दावी गरे । 

पोखरेलले भने, ‘सिद्धबाबाको लागि जिप्रका सुनसरीले प्रहरी हबल्दार खटाएको छैन । मिडियामा आएको कुरा सत्य होइन । आफ्नै अनुयायीहरुसँग सिद्धबाबा विराटनगर जाँदै थिए भन्ने हल्ला सुनेको हुँ ।’
उनले यस्तो बताएपनि प्रहरीले आफ्नो गल्ती ढाकछोप गर्न प्रयत्न गरिरहेको आरोप लागेको छ।  

उस्तै प्रकृतिको बलात्कार प्रयाससम्बन्धी मुद्दामा निवर्तमान कृष्णबहादुर सभामुख महरा पुर्पक्षका लागि थुनामा रहिरहेको बेला  जिल्ला अदालत सुनसरीले गिरीलाई चाहिँ पुस १४ गते तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो । 

जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको थियो । सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पूर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए । 

महरा र सिद्धबाबाको मुद्दा जबरजस्ती करणी हो । एउटै प्रकृतिको घटनामा जिल्ला अदालत काठमाडौँले महरालाई हिरासत पठायो भने सिद्धबाबालाई जिल्ला अदालत सुनसरीले धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत सुनसरीका एक अधिकारीका अनुसार हबल्दार साहले सिद्धबाबा भारत छिरेको भन्दै जिल्ला प्रहरी प्रमुखलाई फोन गरेर जानकारी गराएका थिए । तर, जिल्ला प्रहरी प्रमुख यो घटना सत्य नभएको बताउँदै आएका छन् । यद्यपि अहिले नै उनी मुद्दाको सामना गर्न छाडेर भागेको भनिहाल्ने अवस्था भने छैन । 

‘सिद्धबाबाको फागुन ६ गते तारेख हो । त्यसअघि उनलाई फरार सूचीमा राख्न मिल्दैन,’ उनले थपे, ‘त्यतिबेला उपस्थित भएनन् भने फरार सूचीमा राख्न मिल्छ । र, मुद्दाको डरले भागेको आशंका गर्न मिल्छ ।’

पजेरो गाडी चढेर भारत
ग१च ८१५७ नम्बरको पजेरो गाडी चढेर जोगवनी हुँदै दक्षिणतर्फ लागेका थिए गिरी । कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारी गराइएको छैन । 
अदालत नपुगिकन सिधै जोगवनी हानिएका उनले दिउँसो १ बजे सीमा पार गरेका हुन् ।

मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । 

मंसिर १६ गतेबाट विराटनगरस्थित विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा भर्ना भएका सिद्धबाबा ३८ दिनसम्म अस्पतालमा बसेका थिए । प्रहरीले उनको बयान अस्पतालमै लिएको थियो ।

बेला–बेला प्रहरीमो चर्को आलोचना पनि हुन्छ । केही दिनअघि गायिका आस्था राउत प्रकरणमा विवादमा तानिएको घटना सेलाउन नपाउँदै प्रहरी सिद्धबाबा भारत पसेको घटनाले विवादमा तानिएको छ । 

प्रहरी हबल्दार साहलाई जोगाउन खोज्दा पनि सुनसरी प्रहरी प्रमुख पोखरेलमाथि यतिबेला प्रश्न तेर्सिएको छ । यतिबेला जानी–जानी सिद्धबाबालाई नेपाल–भारत सीमामा लगेर छाडेको आरोप प्रहरीमाथि लागेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप