शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : कोरोना भाइरस नेपालमा पनि देखियो, अग्नि सापकोटाविरुद्ध रिट

शुक्रबार, १० माघ २०७६, २० : ४५
शुक्रबार, १० माघ २०७६

काठमाडौं । चीन लगायतका मुलुकहरुमा देखिएको कोरोना भाइरस नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर सो भाइरसबारे जानकारी दिएको हो।


एक बिरामीमा सो भाइरसको संक्रमण भएको आशंकामा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले नमूना परीक्षणको लागि हङकङ पठाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

भाइरस संक्रमित बिरामीको रिपोर्ट बिहीबार आएको र सो भाइरस कोरोना नै भएको अस्पतालले पुष्टि गरेको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीमा उक्त संक्रमणदेखिएको मन्त्रालयको दाबी छ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ’  मन्त्रालयले बिरामीको सम्पर्कमा रहेका आफन्तहरुको समेत खोजी भैरहेको जनाएको छ ।  चीन, जापान लगायतका मुलुकहरुमा केही दिनयता सो भाइरसको संक्रमण देखिएपछि विश्वभर सतकर्ता अभियान सुरु भएको छ । 

अग्नि सापकोटा 

प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिनु भएका नेकपा नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले आइतबार व्यक्ति हत्यामा मुछिएका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सभामुख पदमा निर्वा्चित गर्नबाट रोक्नुका साथै सभामुखको हाल भएको निर्वाचन प्रक्रिया समेत रोक्न रिटमा माग गरिएको छ । यस्तै सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न र उहालाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई समेत कारबाही गर्न माग गरिएको छ । यसैगरी मुद्दाको पेशी आइतबारको लागि तोकिएको त्रिपाठीले रातोपाटीलाई जानकारी दिए । 

माओवादी युद्धका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरेर हत्या गरेको आरोप सापकोटामाथि छ ।

यससम्बन्धी अर्को मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ । हत्या आरोप लागेका सापकोटालाई सभामुख बनाउन लागेको भन्दै केही अधिकारकर्मीले विरोध समेत गर्दै आएका छन् । 

राष्ट्रपतिका सल्लाहकार 

यता, राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । प्याकुलले शुक्रबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । प्याकुरेलको राजिनामा राष्ट्रपति विद्यादेवि भण्डारीले स्विकृत पनि गरिसकेकी छन् ।

उनी ०७४ मा भण्डारीको सल्लाहरकारमा नियुक्त भएका  थिए । भण्डारीको पहिलो कार्यकालमा पनि उनी दुई वर्ष सल्लाहकारको जिम्मेवारीमा थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवारका रुपमा अग्नि सापकोटालाई अगाडि सारेपछि उनले राजीनामा दिएको बुझिएको छ ।

प्याकुरेलले काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटाविरूद्ध २०७२ मा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको  थिए । उक्त मुद्दा सर्वोच्च अदालतमा  विचाराधीन छ । 

काँग्रेस 

काँग्रेसभित्रको आन्तरिक समस्या समाधान भएको छ । शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवासमा भएको शीर्ष नेताहरुबीचको बैठकले लामो समयदेखि यथावत विवादलाई टुंगो लगाएको हो । 

पुस ११ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयमा केन्द्रीय महाधिवेशनबाहेक अन्य निर्णयहरु फेरि केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्ने सहमति भएको हो ।

काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले लामो समययता जारी रहेको विवादमा शुक्रबार सहमति जुटेको भन्दै विवादित विषय पुन केन्द्रीय समिति बैठकमा लगेर टुंग्याइने जानकारी दिए ।

यसैबीच काँग्रेसले आगामी माघ १३ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।  उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।


सहिद सप्ताह सुरु

आजबाट सहिद सप्ताह सुरु भएको छ । मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह मनाउने गरिन्छ । 

माघ १० गतेबाट सुरु हुने सहिद सप्ताहमा आजको दिन सहिद शुक्रराज शास्त्रीको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाईदैछ । नागरिकको हक हितका लागि लड्दालड्दै विस १९९७ माघ १० गते टेकुको पचलीमा रहेको खरीको बोटमा झुण्डयाएर शास्त्रीको हत्या गरिएको थियो । शास्त्रीलाई झुण्ड्याइएको रुख भएको ठाउँमा आज काठमाडौं महानगरपालिकाले श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ ।

सभामा महानगरपालिकाका प्रमुख लगायत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो । नेपाल सरकारले सहिद शुक्रराज शास्त्रीको सम्झनामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएको छ ।

सहिद सप्ताहमा माघ १३ गते धर्मभक्त माथेमाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना हुनेछन् ।

माथेमाको १९९७ माघ १५ गते सिफलमा हत्या गरिएको थियो । त्यसैगरी सोही वर्षको माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दको माघ १५ गते शोभा भगवतिमा तत्कालिन राणाशासकहरुले गोली हानेर हत्या गरेका थिए । माघ १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाइने छ । 

गुरुङ पनि पक्राउ

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । 

मिलनलाई ठगी मुद्दामा पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए । उनीविरुद्ध चेक बाउन्स र धाकधम्कीका उजुरी समेत रहेको बताइएको छ । 

यसअघि आफूलाई हातपात गरेको भन्दै गुरुङले दिएको उजुरीका आधारमा दीपक मनाङेलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो । 

मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ । 

मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत नै स्वीकार गरिसकेका छन् । पत्रकार सम्मेलनमा उनले मिलन भ्रष्टाचार र ठगीमा संलग्न रहेको भन्दै उनले फूलमाला लगाएर नहुने र झापडमै हान्नुपर्ने बताएका थिए । 

दीपक मनाङे 

यता, गण्डकी प्रदेशसभा (सांसद) सदस्य दीपक मनाङेमाथि थप अनुसन्धान गर्न २ दिनको म्याद थप भएको छ ।  
मनाङेलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट २ दिनको  म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए । 

भारतीय दुतावास 

नेपालस्थित भारतीय दूतावासका कार्यबहाक राजदूत डा. अजयकुमारले योग शिक्षा नेपाल र भारतको साझा पद्धति भएको बताएका छन् । स्वामी विवेकानन्द सांस्कृति केन्द्रले आयोजना गरेको कार्यक्रममा कार्यवहाक राजदूत अजयकुमारले योग नेपाल र भारतको साझा पद्धति भएको बताए । उनले स्वास्थ्यको प्राकृतिक तरिकाबाट उपचारमा ध्यान दिन आग्रह गर्नुहुँदै कम केमिकल र कम औषधिको प्रयोग गर्न सुझाव समेत दिए । 

सांस्कृतिक केन्द्रका निर्देशक प्रोफेसर केदारनाथ शर्माले एक महिने एडभान्स योग शिक्षाको समापन र एक दिने एडभान्स तबला प्लेइङ वर्कसप गरिएको बताए ।

भारतको बनारस हिन्द विश्वविद्यालयका प्रोफेसर प्रविण कुमारले वर्कसपमा आफ्नो अनुभव, तबलाको महत्व लगायतका विषयमा जानकारी दिनुहुने उनले बताए ।

कार्यक्रममा एक महिने योग शिक्षा लिएका विद्यार्थीहरुलाई प्रमाणपत्र तथा उपाधि प्रदान गरिएको थियो । उनीहरुको लिखित तथा प्रयोगात्मक गराएर उपाधि प्रदान गरेको हो । 


भन्सार दिवस

भन्सार विभागका महानिर्देशक सुमन दाहालले अब नेपाली भन्सारहरु ‘क्यास लेस’ भएको बताए । भन्सार दिवसका अवसरमा भएको विशेष पत्रकार सम्मेलनमा महानिर्देशक दाहालले भन्सारहरुमा नगद कारोबार बन्द भएको बताए । पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँचपास हुने गरेकोमा अहिले सबै आर्थिक कारोबार बैंकिङ प्रणाली मार्फत हुने गरेको उनले बताए ।

उनले ‘भन्सार क्यास लेस भएको र पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँच पास हुने गरेको तर अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हने बताए ।

दाहालले नेपाल नेशनल सिंगल विण्डो सिस्टमको विकास भइरहेको र अबको केही समयपछि कार्यालयहरुको अन्तर समन्वयमा देखिएको समस्या हल गर्ने बताए । सिस्टममा पहिलो चरणमा २१ भन्दा बढी कार्यालय एकै छातामुनि रहने भएकाले समुन्वयको अभाव नदेखिने उनले बताए ।

उद्यमीहरु 

उद्योग राज्यमन्त्री मोतीलाल दुगडले उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् ।

‘नेपाली उत्पादनहरुको विक्री तथा निर्यात र महिला उद्यमीहरुका अवसर र चुनौति’ विषयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने बताए ।

राज्यमन्त्री दुगडले उद्यमी व्यवसायीहरुलाई सबै समस्या मन्त्रालयमा आएर बताउन समेत आग्रह गरे । उनले महिला उद्यमीहरुका लागि छुट्टै व्यवास्था गरेर सहयोग गर्न मन्त्रालयले योजना बनाइरहेको जानकारी समेत दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सानो सानो कृषि गरेर देश समृद्ध हुन नसक्ने बताए । डेपुटी गभर्नर शिवाकोटीले उद्यमशिलता विकासमा महिलाहरुको योगदान बढी होस भन्ने उद्देश्यले जागरण र जागृति ल्याउनुपर्नेमा जोड दिए ।

उनले बैंकहरुले पनि महिलाहरुलाई लक्षित गरि कर्जा दिदै आएकाले त्यसको फाइदा लिन आग्रह गरे । उनले बैंकहरुले सहुलियत दरमा कर्जा नदिए राष्ट्र बैंकले कारबाही गर्ने बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले सरकारले महिलाहरुलाई सहज कर्जा उपलब्ध गराउने नीति लिएपनि बैंकहरुले कर्जा नदिएको बताए । उनले महासंघले महिलाहरुलाई सहज होस भन्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको तर ४० वटा फाइल बुझाएको चार महिना हुँदा समेत कर्जा नदिएको बताए । 

कार्यक्रममा महिलाहरुको उद्यमशिलता विकासमा सरकारले अझबढी कार्यक्रमहरु लयाउनु पर्नेमा जोड दिइएको थियो । 

युवा विकास कार्यक्रम

संघीय तथा स्थानीय तहमा युवाको विकास सम्बन्धी कार्यक्रमहरु लागू गर्न राष्ट्रिय युवा परिषद् र नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघबीच सहकार्य गर्ने सम्झौता भएको छ । 
युवा विकाससम्बन्धी कार्यक्रमहरु लागू गर्नका लागि राष्ट्रिय युवा परिषद् र नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सहमति पत्रमा सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमहरुको स्थानीय तहमा प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताइएको छ । कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाको विकास तथा युवा परिचालन मार्फत समाजिक जागरण र समृद्धिका अभियानहरु सञ्चालन गर्दै युवालाई उद्यमशिलतासँग जोड्ने बताए । 

सम्झौताले युथ भिजन २०२५ मा उल्लेखित युवा विकासका लागि पाँच आधार स्तम्भहरुका लागि सहयोग पु¥याउने समेत बताइएको छ । 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप