शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले दिए राजीनामा

शुक्रबार, १० माघ २०७६, १४ : ४१
शुक्रबार, १० माघ २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् ।  प्याकुलले शुक्रबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

उनी ०७४ मा भण्डारीको सल्लाहरकारमा नियुक्त भएका थिए । भण्डरीको पहिलो कार्यकालमा पनि उनी दुई वर्ष सल्लाहकारको जिम्मेवारीमा थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवारका रुपमा अग्नि सापकोटालाई अगाडि सारेपछि उनीले राजीनामा दिएका हुन् । 

प्याकुरेलले काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटाविरूद्ध २०७२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त मुद्दा सर्वोच्च अदालतमा  विचाराधीन छ । 

प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूको पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालका करिब दुई बर्षका अवधिमा मैले विज्ञ सल्लाहकारका हैसियतबाट आफ्ना अनुभव, योग्यता र क्षमताले भ्याएसम्म सदैव देश र जनतालाई हृदयंगम गर्दै इमान्दारीपूर्वक योगदान गरेको विदितै छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई मजवूत बनाउन संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्बोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर मैले आजैका मिति देखि सम्माननीय राष्ट्रपतिज्यूको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको छु ।

यस घडीमा म, हाम्रा राजनीतिक दल गणतन्त्रलाई वलियो बनाउन तथा राष्ट्रपतिलगायत सबै उच्च संस्थाहरूको प्रभावकारिता एवम् सम्मान अभिबृद्धि गर्न राष्ट्रका सम्पूर्ण संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्छ भन्ने कुरामा जोड दिन चाहन्छु । लोकतान्त्रिक आन्दोलनका दौरानमा सिकेको सबैभन्दा ठूलो शिक्षा के हो भने कुनै पनि औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठुलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिक प्रतिको उत्तरदायित्व हो । हामीले ठुलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणाली भित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनु पर्दछ । यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्दछ । साथै, गत निर्वाचनको जनमतले सरकारलाई सजग तुल्याइरहने पहरेदारको भूमिकामा स्थापित गरेको प्रमूख प्रतिपक्ष नेपाली कांग्रेसले पनि भागवण्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्दछ । 

सामाजिक न्याय र लोकतन्त्रका लागि विगत साढे चार दशकदेखि समर्पित व्यक्तिका हैसियतमा म आफ्नो मूल कर्तव्यप्रति सधैं निष्ठावान रहँदै आएको छु । यसैक्रममा सुदृढ लोकतन्त्रका लागि कानूनका सामु सबैको समान हैसियत कायम गराउने गणतन्त्र नेपालका आम नेपालीको आकांक्षाको पक्षमा योगदान गर्न मैले राष्ट्रपतिको बिज्ञ सल्लाहकारको पदबाट राजीनामा गरेको हुँ । 

राष्ट्रपतिको विज्ञ सल्लाहकारका रुपमा मैले आफ्नो कार्यकालमा राष्ट्र प्रमूख र सर्वोच्च संस्थाका औपचारिक वृत्तमा मात्र सीमित नरही सम्माननीय राष्ट्रपति सामाजिक न्याय र राज्यका निकायबाट अपेक्षित मानवोचित व्यवहारका मामिलामा सदैव सजग रहने गरेको पाएं । सबै संवैधानिक संस्था र सरकारका सबै अवयवहरूले लोकतान्त्रिक मूल्य र मान्यताको पालनाका सन्दर्भमा रत्तिभर पनि चुक्नु हुँदैन भन्ने कुरामा पनि उहाँ दृढ रहेको पाएँ । देशको ऐतिहासिक महत्वको एउटा कालखण्डमा संघीय गणतन्त्र नेपालको राष्ट्र प्रमूख, सर्बोच्च संस्था सम्माननीय राष्ट्रपतिको सल्लाहकार भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा म गौरवान्वित छु । नेपाली जनताको लामो, अथक र वलिदानी संघर्षबाट स्थापित संविधान सभाले निर्माण गरेको संघीय गणतन्त्र नेपालको संविधान संस्थागत हुने चरणका ती ऐतिहासिक महत्वका वर्षहरूमा सम्माननीयज्यूसँगै काम गर्ने अवसर प्राप्त गर्दा मैले महत्वपूर्ण ज्ञान र अनुभव पनि आर्जन गरेको छु । यस अवसरमा म राष्ट्र र जनताको सेवा गर्ने यस्तो विशिष्ट अवसर प्रदान गर्नु भएकोमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष हार्दिक धन्यवाद एवम् कृतज्ञता ज्ञापन गर्दछु । 

राष्ट्रपतिको बिज्ञ सल्लाहकारका रुपमा मलाई आवश्यक सहयोग प्रदान गर्नु भएकोमा नागरिक समाज एवम् आमसञ्चार जगतका साथीहरूका साथै राजनीतिक व्यक्तित्वहरू, राष्ट्रपति कार्यलयका मेरा मित्रहरू एवम् सम्पूर्ण निजामति कर्मचारी, सुरक्षाकर्मीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

सुशील प्याकुरेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप