शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी बललाई राज्यले धान्न सक्ने सहयोग गर्छ: प्रधानमन्त्री ओली

बिहीबार, ०९ माघ २०७६, १८ : २८
बिहीबार, ०९ माघ २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले सिंगो राष्ट्र विकास र सुशासन कायम गर्न जुटेको बताएका छन् । सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवसका अवसरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासन कायम गर्न सिंगो राष्ट्र जुटेको बताएका हुन् । यस अभियानमा राज्यका सबै निकायको सहयोग र योगदान उत्तिकै आवश्यक रहेको उनले उल्लेख गरे ।

उनले भने, ‘सुशासन कायम गर्दै विकासको बाटोमा अगाडी बढ्ने र तिव्र विकासका साथ देशलाई गरिबी, निरक्षरता र पछौटेपन जस्ता कुराहरुबाट मुक्त गरेर एउटा विकसित, समृद्ध र आधुनिक राष्ट्र निर्माण गर्ने अभियानमा जुटेका छौँ । यसक्रममा समाज, सर्वसाधारण नागरिक देखि लिएर राज्यका सबै अंगहरु सुशासन र विकासका कार्यहरुलाई अगाडी बढाउने क्रममा आफ्नो ठाउँबाट योगदान गर्ने हिसाबले अगाडी बढिरहेका छन् ।’
प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बलको कार्यसम्पादनको खुलेर प्रशंसा गरे । भ्रष्टाचार नियन्त्रण, बेरुजु फर्छ्यौट जस्ता काममा सशस्त्र प्रहरीले खेलेको भूमिका उदाहरणीय रहेको पनि बताए । ओलीले सशस्त्र प्रहरी बललाई सुदृढ र सबल बनाउनलाई राज्यले धान्न सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले भने, ‘सशस्त्र प्रहरीले शान्ति सुव्यवस्था कायम गर्नेदेखि लिएर स्वच्छता पारदर्शिता जस्ता कुराहरु भ्रष्टाचार नियन्त्रणका कुराहरुमा पनि सशस्त्र प्रहरीले आफुलाई नमुनाको रुपमा प्रस्तुत गर्दै आएको छ । बेरुजु फर्छयौंट जस्ता कुराहरुमा अग्रणी स्थानमा रहेको जानकारी पाउँदा हामी सबैलाई खुसी लागेको छ ।’

कार्यक्रममा उत्कृष्ट बाहिनी पुरस्कारबाट प्रदेश नम्बर २ मा रहेको छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई सम्मान गरिएको थियो । मुलुकभरका आठवटा बाहिनीमध्ये उत्कृष्ट कार्यसम्पादन गरेबापत बाहिनीपति अर्याललाई सम्मान गरिएको हो । सशस्त्र प्रहरीले गतवर्षदेखि यो सम्मान दिँदै आएको छ ।

गतवर्ष प्रदेश नम्बर ५ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवी अधिकारीलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरीले गर्दै आएको शान्ति मिसन, विशिष्ट सुरक्षा, प्राकृतिक प्रकोप उद्धार, आपतकालिन उद्धार तथा सहायता लगायत सम्पादन गर्दै आएका कामहरुलाई प्रदर्शन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप