शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले भन्यो–कोरोना भाइरस नेपाल आइपुगेको छैन,  यस्तो हुन्छ यो रोगको लक्षण (भिडियो सहित)

बिहीबार, ०९ माघ २०७६, २२ : ००
बिहीबार, ०९ माघ २०७६

काठमाडौँ । सरकारले ‘कोरोना भाइरस’ अहिलेसम्म नेपालमा नदेखिएको तर सर्तकता अपनाइएको जनाएको छ । 

चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङकङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ । तर नेपालमा अहिले सम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’ देखा परेमा कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा छलफल समेत भएको छ । 

छलफल पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । 
उनले ‘कारोना भाइरस’ भएको शंका लाग्ने वित्तीकै विशेष एम्बुलेन्स मार्फत अस्पतालसम्म पु¥याउने व्यवस्था समेत गर्न लागिएको बताए । 

उनले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन हस्पिटल, टिचिङ हस्पिटल लगायतका अस्पतालहरुमा उपचार गर्न सकिने समेत बताए । उनले भने, ‘नेपालको स्वास्थ्य मन्त्रालयले यस सम्बन्धी थप निगरानी गर्नका लागि अहिले भर्खरै सचिवको अध्यक्षतामा बैठक बस्यो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हेल्प डेस्कलाई अझ व्यवस्थित गर्ने, त्यहाँ स्क्यानरहरु राख्ने र जो पनि ज्वरो आएका बिरामी छन, असर परेको ठाउँबाट ज्वरो आएकोलाई डेडिकेटेड एम्बुलेन्सबाट पिकअप गर्ने र सम्बन्धीत अस्पतालहरुमा लैजाने, टेकु हस्पिटल, पुलिस हस्पिटल, पाटन हस्पिटल, टिचिङ हस्पिटल लगायतमा उपचार गर्न सकिन्छ ।’

उनले अहिलेसम्म डराउनुपर्ने अवस्था नरहेको भएपनि एक प्रजातिबाट अर्को प्रजातिमा सजिलै सर्ने भएकाले र मानिसहरुमा पनि स्वासप्रस्वासबाट सर्ने भएकाले डरलाग्दो भएको बताए । 

उनले ‘कोरोना भाइरस’ लागेमा रुघा लग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुने लगायतका लक्षणहरु देखापर्ने र मृत्यु समेत हुने बताए । यसबाट सुरक्षित रहन सतर्क रहनु नै उत्तम विकल्प रहेकोले रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप