शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नातीसँग सुत्न नपाएको झोकमा बुहारीको  निर्मम हत्या

बिहीबार, ०९ माघ २०७६, १७ : ४०
बिहीबार, ०९ माघ २०७६

बुटवल । गएराती दाङ्गमा एक वृद्धले बुहारीको हत्या गरेका छन् । नातीलाई सँगै सुत्न नपठाएको झोकमा निर्मम ढङ्गले बुहारीको चक्कु प्रहार गरि हत्या गरेका हुन् । 

जिल्लाको गढवा गाउँपालिका– ४, रामनगरका ६५ वर्षीय कुलमान योगी कुँवरले आफ्नै २७ बर्षीया बुहारी बसन्ता योगी कुँवरको पेट, ढाड र छातीमा निर्मम ढङ्गले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी बसन्तालाई तत्कालै उपचारका लागि कोहलपुर अस्पताल लगिएपनि डाक्टरले गएराती ११ बजे नै मृत  घोषणा गरेका हुन् । बुहारीको हत्या अभियोगमा कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । 

बुहारी हत्या अभियोगमा पक्राउ परेका योगीमाथि कर्तव्य ज्यान मुद्दा अदालतमा दायर गरिएको दाङ्गका प्रहरी प्रमुख एसपी जनक भट्टराईले रातोपाटीलाई जानकारी दिए ।

घटनाको कारण

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक भरत राठौरका अनुसार  गएराती करिव साढे ८ बजेको समयमा घरमा खाना खाने बेला भएको थियो । कान्छी बुहारी बसन्ताका श्रीमान सञ्जय योगी कुँवर कुखराको दाना किन्न भन्दै बजार गएका थिए ।  बसन्ता आफ्नी एक मात्र  सन्तान  ७ बर्षीया छोरी र जेठाजुका ९ बर्षका छोरा समेतलाई खान खुवाउँदै थिइन् ।

बसन्ताकी जेठानीको नाम पनि बसन्ता नै हो । बेग्लै घरमा जेठानी बसन्ता र उनका छोराछोरी बस्ने गरेका  थिए । जेठानीका एक छोरी र एक छोरा छन् । तीमध्ये ९ बर्षीय नातीसँग हत्या अभियोगी वृद्धले सधैँ सँगै सुताउँदै आएका थिए । तर, गत ४÷५ दिनयता हजुरबुबासँग सुत्न जान उनी पटक्कै मान्न छाडेका थिए  । 

६ महिनाअघि ती वृद्धकी श्रीमती अर्थात ति बालककी हजुरआमाको मृत्यु भएपछि हजुरबुबाले उनकै आमाले पकाएको खाना खाँदै आएका थिए । त्यसदिन पनि खाना खाएर नातीलाई सुत्नका लागि बोलाउन पठाए । हिजो राती पनि सँगै सुत्न नमानेपछि कान्छी आमाको घरमा लुक्न गएका नातीलाई मलाई नातीसँग सुत्न जान रोक्ने यहि हो (कान्छी बुहारी बसन्ता) भन्दै चक्कु लिएर घरभित्र पसे ।

खाना खाँदै गरेको अवस्थामा पहिला बसन्ताको पेटमा निर्मम ढङ्गले चक्कु दागेर रगतको पोखरी पार्दै ढलाए । बसन्ताले ‘बचाओ.. बचाओ..’ भन्दै गुहार मागेपछि जेठानी दिदी जोगाउन अल्लो घरमा आएर हेर्दा देउरानी बसन्ता चिच्चाउँदै थिइन् । बचाउन खोज्ने क्रममा जेठी बुहारीमाथि पनि जाइलाग्न थाले । 

बसन्तालाई फेरी ढाड शरीरका अन्य अङ्गमा पनि चक्कु प्रहार गर्न नछाडेपछि आफू र दुवैतर्फका तीन सन्तानको समेत ज्यान जाने डरले जेठी बुहारीले बच्चाहरु जेगाउँदै त्यहाँबाट भागेर बचिन्  ।  

नाती सुत्न आउन नमानेको दोस्रो दिन अर्थात तिन दिनअघि पनि जेठी बुहारीलाई समेत चक्कु हान्ने प्रयास गरेको प्रहरी निरीक्षक राठौरले बताए । त्यसअघि आफ्ना छोराहरुलाई समेत चक्कु हानेको  र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक राठौरको भनाइ छ ।

हजुरबुबासँग सधैँ सँगै सुत्ने नाती केहिदिन यता हजुरबुबाले सिरानीमा चक्कु राख्दै आएको देखेर हो वा अन्य कारणले केहि दिन यता नाती  हजुरबुबासँग सुत्न जान किन मान्न छाडे ? भन्ने बिषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप