शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

७० दिनमा सकियो ‘प्रेमगीत ३’

बिहीबार, ०९ माघ २०७६, १६ : २५
बिहीबार, ०९ माघ २०७६

काठमाडौँ । फिल्म ‘प्रेमगीत ३’को छायाङ्कन सकिएको छ । ७० दिनको नियमित छायाङ्कनपछि फिल्म मङ्गलबार सकिएको हो । एक महिनादेखि मनाङको माइनस डिग्री तापक्रममा छायाङ्कनरत फिल्म युनिट बुधबार काठमाडौँ फर्किएछ । फिल्मको छायाङ्कन आफूले सोचेभन्दा पनि राम्रो भएको निर्माता सन्तोष सेनले बताए ।

आगामी २८ चैत प्रदर्शन मिति तोकिएको फिल्मको एक प्रोमोशनल गीत भने छायाङ्कन बाँकी राखेर सुटिङ प्याकअप गरिएको हो । उक्त गीत मौसमअनुकूल पारेर छायाङ्कन गर्ने योजना आफ्नो रहेको निर्माता सन्तोषले बताए ।

फिल्मको छायाङ्कन सँगसँगै सम्पादन पनि एकसाथ भएको छ । अब छिट्टै फिल्मको कलर करेक्सन, ब्याकग्राउन्ड स्कोर र डबिङको काम सुरु हुने निर्माता सेनले जानकारी दिए । तीन करोड लागतमा बनेको फिल्म छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेका हुन् । 

छायाङ्कनका लागि मनाङ प्रस्थान गर्र्नुअगाडि ‘प्रेमगीत ३’ को ४५ प्रतिशत दृश्य काठमाडौँको बल्खुमा भव्य सेट निर्माण गरेर गरिएको थियो । ‘प्रेमगीत ३’ मा अभिनेता प्रदीप खड्का, नवअभिनेत्री क्रिस्टिना गुरुङको अलवा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरीलगायतले अभिनय रहेको छ ।

फिल्ममा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत, प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर छ । चक्रबहादुर चन्द र डम्बरबिक्रम सेन कार्यकारी निर्माता रहेको फिल्मको कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप