शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

११ बुँदे आचारसंहिताबारे के भन्छन् नेकपाका केन्द्रीय सदस्यहरु ?

बुधबार, ०८ माघ २०७६, २३ : ०४
बुधबार, ०८ माघ २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सम्पूर्ण नेता कार्यकर्ता र पार्टी सदस्यहरुका लागि तीन दिनअघि मात्रै ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहितामा परिवारका सदस्यलाई ‘तँ’ भन्न नहुनेदेखि भ्रष्टाचार नगर्ने र कसैले गरेमा त्यसको सूचना सरकारलाई दिनेसमेत उल्लेख छ । जसलाई लिएर सामाजिक सञ्जालमा फरक फरक धारणा र दृष्टिकोण आइरहेका छन् । 

कतिपयले आचारसंहिता नेतृत्वबाटै लागू गर्न सुरु गर्नुपर्ने बताएका छन् भने कतिपयले केही नेता कार्यकर्ताका लागि मात्रै आचारसंहिता जारी गरिएको त होइन भनेर पनि प्रश्न गरेका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका यस्ता टिप्पणीपछि हामीले आचारसंहितालाई पार्टीभित्रका नेता तथा कार्यकर्ताले चाहिँ कसरी हेरेका छन् त ? भनेर उनीहरुको धारणा बुझ्ने प्रयास गरेका छौँ । त्यसका लागि नेकपाका ५ जना केही केन्द्रीय सदस्यलाई सोधेका छौँ, ‘जारी आचारसंहिता व्यवहारमा लागू गर्न कति सम्भव छ र त्यसको सुरुवात कोबाट हुनुपर्छ ?’ उनीहरुको जवाफ जस्ताको त्यस्तैः  

सकारात्मक पहल कदमी : झक्कुप्रसाद सुवेदी 


दुई पार्टी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भइसकेपछि ल्याइएको पार्टी आचारसंहिताले पार्टीलाई शुद्धीकरणको दिशामा लैजान्छ भन्ने बुझ्नुपर्छ । साथै यसलाई सकारात्मक कदमका रूपमा पनि लिनुपर्छ । जसले पार्टीलाई थप मजबुत र सुदृढ बनाउन सहयोग गर्छ भन्ने मेरो बुझाइ हो । यस्तो सकारात्मक पहल कदमीका बारेमा आलोचना वा टिप्पणी गर्नु उचित होइन । फेरि यो पहल कदमी मात्रै भएकाले पार्टीमा क्रान्तिकारी रूपान्तरण नै भइहाल्छ भन्ने पनि होइन । अनुशासनमा बस्नु बसाउनु सबैका लागि राम्रो हो । 

ओली प्रचण्डबाट लागू गर्नुपर्छः केशवप्रसाद नेपाल 


पार्टीले आचारसंहिता जारी गर्नु सकारात्मक हो । यसलाई कार्यान्वयन गर्नु हामी सबैको दायित्व हो । कम्युनिस्ट सिद्धान्त, राजनीति, आदर्श नैतिकता र वर्गीयतालगायत मूल्य मान्यताहरु छन्, ती हाल स्वखलित भइरहेको अवस्था छ । यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट केही यस्ता आचारसंहिता जारी हुनु सच्चा मार्क्सवादी लेनिनवादीहरुका लागि खुसी र गौरवको कुरा हो । तर पार्टीभित्रका केही व्यक्तिहरु जसमा कम्युनिस्ट सोँच, दृष्टिकोण र विचार स्खलित भएका छन् उनीहरुका लागि यो आचारसंहिता मुटुको किलो पनि हुनसक्छ । त्यसकारण यो आचारसंहिता नेतृत्व अर्थात हाम्रा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट आचारसंहिताको पालना गर्न सुरु गर्नुपर्छ । त्यसपछि केन्द्रीय सदस्यहरु, विभागहरु सल्लाहकार, ज्येष्ठ नागरिक मञ्च र प्रदेश हुँदै सेल कमिटीहरु समेतमा लागू गर्दै जानुपर्छ । यसरी कार्यान्वयनमा गए मात्रै जारी आचारसंहिताको औचित्य पुष्टि हुन्छ । कम्युनिस्ट आदर्शहरुलाई ढाडस दिन ल्याइएका आचारसंहिताले स्खलन भएकाहरुले लागू गर्न हिचकिचाउने र अलमल गर्ने गर्छन्, यस्तो अवस्थामा यो लागू नहुन सक्छ तर मार्क्सवाद लेनिनवादप्रति विश्वास गर्नेहरुले यो आचारसंहितालाई अनौठो रूपमा लिँदैनन् ।  
अहिले हाम्रो समाजमा पुराना सोच त्यसमा पनि पुँजीवादी सोच कायमै छ । त्यही पुरानो सोचको मात्रै कुरा गर्ने हो भने यो लागू हुन असम्भव छ ।

नेतृत्वको पारदर्शितामा प्रश्न छः ठाकुरप्रसाद गैरे, केन्द्रीय सदस्य 


देश, पार्टी, समाज र परिवारको राम्रोका लागि आचारसंहिता जारी गरिएको हो । आचारसंहिता जारी गर्ने अनि लागू नगर्ने भन्ने हँुदैन । लागू हुनुपर्छ, जसका कारण समाज वा पार्टी राम्रो दिशामा हिँड्न सहयोग पुगोस् । कुनै पनि पार्टीका आफ्नै विधि, विधान र पद्धति हुन्छन् र चल्छन् । नेकपाको पनि आफ्नै सैद्धान्तिक र वैचारिक नीति सिद्धान्तहरु छन् । पार्टीका नेताहरुको विचार, जीवनशैली र आचरण अरूले पनि अनुसरण गर्ने हुँदा उनीहरुको जीवनशैली सरल हुनुपर्छ भनिएको छ । नेताहरुको जीवन शैली र पारदर्शिताका बारेमा धेरै प्रश्नहरु उठिरहेका छन् । आचारसंहिता जारी भएपछि सामाजिक सञ्जालमा धेरैले अब ‘नेकपाका नेताहरुले यो आचारसंहिता लागू गर्लान् त ?’ भनेर प्रश्न गरेका छन् । त्यसकारण पनि अब नेताहरुबाटै आचारसंहिता पालना गर्ने र लागू गर्न सके मात्रै यसको सान्दर्भिकता अझ बढ्न पुग्छ । 

सम्झाएको मात्रै होः विष्णु रिजाल, केन्द्रीय सदस्य 


पछिल्लो चरणमा पार्टीमा रहेर पनि एकअर्काविरुद्ध अभिव्यक्ति दिने, आक्षेप लगाउने क्रम बढ्यो । जसले गर्दा अराजकता बढ्ने हो कि भन्ने चिन्ता र चासो सुरु भयो । यो चासो र चिन्तासँगै पार्टी अनुशासनमा नेता कार्यकर्तालाई बाँध्न आचारसंहिता जारी गरिएको हो । आचार संहितामा हामीले जीवनमा भोगिरहेका र गरिरहेका विषय वस्तुहरु नै धेरै छन् । त्यसैले यो गर्नु हुने र यो नहुने भनेर पार्टीले सम्झाएको भन्ने अर्थमा बुझ्दा पनि हुन्छ । खासगरी नेता कार्यकर्तामा कम्युनिस्ट आदर्श र चरित्रमा विचलन नआओस् भन्ने आशयले पार्टीले आचारसंहिता जारी गरेको हो । सम्झाएको वा स्मरण गराएको मात्रै हो । आचारसंहिता सबै नेता कार्यकर्तालाई लागू हुने भएपछि नेताहरुको विलासी जीवन शैलीमा पनि परिवर्तन हुन्छ भनेर बुझ्नुपर्छ । 

अगुवाले झन् बढी कार्यान्वयन गर्नुपर्छः धर्मशिला चपागाईं


समाज, पार्टी या परिवार राम्रो, सम्पन्न, खुसी र सुखी बनाउने कुराले कसैलाई अहित गर्दैन । हामीले हिजोदेखि गर्दै र भोग्दै आएका कुरालाई पार्टीले बुँदागत र आचारसंहिताका रूपमा ल्याएको छ । यसले समाजलाई सभ्य र पार्टीलाई मजबुत बनाउन अवस्य सहयोग गर्छ नै । पार्टीमा केही न केही बिग्रेको देखेर सुधारका लागि नै आचारसंहिता ल्याइएको हुनपर्छ भन्ने मेरो बुझाइ छ । त्यसैले यसलाई कडा ढङ्गले कार्यान्वयनमा जोड दिनुपर्छ । कार्यान्वयन गर्दा नेतृत्व र अगुवाहरुबाटै सुरु भयो भने त्यसको अनुसरण तल्ला तहका नेता कार्यकर्ताले पनि सहजै गर्छन् । किनभने नेतृत्वमा अरूमा भन्दा बढी जिम्मेवारी हुनुपर्छ र छ भन्ने मलाई लागेको छ । त्यसकारण समाजलाई सही दिशामा डोहोर्याउन र पार्टीलाई मजबुत र एकढिक्का राख्न पनि यो आचारसंहिताले मद्दत गर्छ भन्ने मेरो बुझाइ हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप