शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उखु किसानको भुक्तानी नदिने उद्योगीको आर्थिक कारोबार रोक्का

बुधबार, ०८ माघ २०७६, १७ : ३९
बुधबार, ०८ माघ २०७६

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको आर्थिक कारोबार रोक्का गर्ने भएको छ । 

मन्त्रालयले गत पुष १८ गते उखु किसानहरुसँग गरेको सम्झौता अनुसार उद्योगहरुबाट रकम भुक्तानी गराउने पहल भइरहेको र केही उद्योगहरु अझै सम्पर्कमा नआएकोले आर्थिक कारोबार रोक्का गर्न लागिएको जानकारी दिएको हो । 

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिनेश भट्टराईले अन्नपूर्ण सुगर एण्ड जनरल ई प्रालि, इन्दीरा सुगर एण्ड एग्रो ई प्रालि, बाबा बैजुनाथ चिनी उद्योग, लुम्बिनी चिनी उद्योग, श्रीराम सुगर मिल्स लगायतका उद्योगको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागमा पत्राचार गर्ने तयारी गरिएको बताए । 

उनले सम्पर्कमा नरहेका उद्योगहरुको बैंक खाता समेत रोक्का हुने बताए ।  

उनले ती उद्योगहरुलाई सम्पर्कमा ल्याइदिन मन्त्रालयले बुधबार नै गृह मन्त्रालयलाई पत्राचार गरेको समेत बताए । प्रवक्ता भट्टराईका अनुसार बाबा बैजुनाथ चिनी उद्योग, वाग्मती खाँडसारी चिनी मिल्स, महाकाली सुगर, लुम्बिनी चिनी उद्योगका सञ्चालकहरु सम्पर्कमा आएका छैनन् ।

अन्नपूर्ण सुगर र इन्दीरा सुगरका सञ्चालक राकेशकुमार अग्रवाल सम्पर्कमा रहेपनि ४२ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्नुपर्नेमा जम्मा ४ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेकाले आर्थिक कारोबार रोक्का गरी अनुसन्धान गर्न लागिएको जानकारी प्रवक्ता भट्टराईले दिए । 

श्रीराम सुगर मिल्सले २६ करोड ७७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भएपनि किसानसँग जग्गा विक्री गरेर भुक्तानी गर्ने सम्झौता गरेकोले अनुसन्धान गर्न लागिएको उनले बताए । लुम्बिनी चिनी उद्योगका सञ्चालक मनिष अग्रावलको मृत्यु भएकाले उक्त उद्योग कसले सञ्चालन गर्छ भन्ने जानकारी हुन नआएको उनले बताए । मन्त्रालयले गत पुष १८ गते उखु किसानसँग चिनी मिल सञ्चालकहरुबाट माघ ७ गते भित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने सहमति गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप