बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा पत्रकार कुटपिट प्रकरण: मेयरविरुद्ध किटानी जाहेरी दिने निर्णय(अपडेट)

बुधबार, ०८ माघ २०७६, १५ : ५१
बुधबार, ०८ माघ २०७६

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको दुव्र्यवहारका विरुद्ध नेपाल पत्रकार महासंघ धनुषाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिने निर्णय गरेको छ । घटनाको दुई साता बित्दा पनि सम्बन्धित निकायले दोषीहरुलाई पक्राउ गरी कानूनी कारवाही प्रक्रिया अघि नबढाएको भन्दै पत्रकारहरुले जिप्रका धनुषामा किटानी जाहेरी दिने निर्णय गरेका हुन् । 

मेयर लालकिशोर साहको निर्देशनमा पत्रकारहरुमाथि भएको दुव्र्यवहारको घटनाप्रति प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सर्वदलीय वैठक बोलाई समस्या समाधानका लागि पहल समेत गरेका थिए । उनको रोहबरमा तत्काल सो समस्याको निराकरण गर्न राजनीतिक दल, पत्रकार महासंघ र जनकपुरधाम उपमहानगरबीच ९ बुँदे सहमति भएको थियो । सो सहमति कार्यान्वयन हुन नसकेको भन्दै पत्रकारहरुको संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।

आज बसेको संघर्ष समितिको बैठकले आन्दोलनलाई निरन्तरता दिँदै माघ १० गते उपमहानगरपालिकाविरुद्ध किटानी जाहेरी दर्ता गराउने निर्णय गरेको छ ।  पत्रकारहरुले मंगलबार देखिनै रिपोर्टिङगको क्रममा हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । 

बैठकले उपमहानगरपालिकाले सिसिटिभीको भिडियो फुटेज लगायतका प्रमाण मेटाउने काम गरेको आरोपसमेत लगाएको छ । त्यस्तै महिलाहरुलाई प्रयोग गरी समाजिक सञ्जाल लगायतका विभिन्न माध्यमबाट पत्रकारहरुलाई बदनाम गराउन खोजिएको भन्दै साईबर क्राइमको मुद्दा लगाउने निर्णय गरेको संघर्ष समितिका संयोजक किरण कर्णले जानकारी दिए ।

पुस २२ गते जानकी मन्दिरको फुलबारीको जग्गा अतिक्रमण सम्बन्धी समाचार संकलनका लागि गएका पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, कान्तिपुर टिभीका अमरकान्त ठाकुर, एपिवन टिभीका विकास साह र शत्रुधन यादव, एबीसी टिभीका संवाददाता सुमित मिश्र र देशसञ्चारका राजा झा लगायतका पत्रकारहरुमाथि मेयर लालकिशोर साहले दुव्र्यवहार गरेका थिए । साहमाथि जानकी मन्दिर फुलबारीको जग्गा अतिक्रमण गर्नका लागि ८५ लाख रुपैयाँ लिएको आरोप लागेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप