शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको ध्यान ठूला विद्युत आयोजनामा

बुधबार, ०८ माघ २०७६, १५ : ३०
बुधबार, ०८ माघ २०७६

सरकारले ठूला क्षमताका जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ । १० वर्षमा १५ हजार विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न ठूला आयोजनालाई जोड दिइएको हो ।

 रामेछाप र काभ्रेको सीमानामा पर्ने जलासययुक्त सुनकोसी–२ र सुनकोसी–३ आयोजनास्थल भ्रमणका लागि पुगेका उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले मुलुकको औद्योगीकरण र व्यवसायीकरणका लागि आवश्यक विद्यु्त देशभित्रै उत्पादन गर्ने र बढी भएको छिमेकी मुलुकमा बिक्री गर्ने लक्ष्यसहित सरकारले ठूला आयोजनामा ध्यान केन्द्रित गरेको बताए ।  उर्जा क्षेत्रलाई वर्तमान सरकारले मुलुक समृद्धिको महत्वपूर्ण आधार मानेको चर्चा गर्दै मन्त्री पुनले त्यसैअनुसार लगानी गरिने स्पष्ट गरे । 

अपर तामाकोसीदेखि सुनकोसी–१, सुनकोसी–२, सुनकोसी–३ र कोसी उच्चबाँधमा निर्माण हुने विशाल ड्याम भारतको कलकात्तासँग जोडेर पानीजहाज समेत चलाउन सकिने स्पष्ट गरे । ‘कोसीमा निर्माण भइरहेका र भविष्यमा निर्माण गर्न सकिने आयोजनाका कारण ठूलो ड्याम बन्छ । त्यसलाई भारतको कलत्तासँग जोडेर पानीजहाज ल्याउन सकिन्छ’, मन्त्री पुनले भने, ‘त्यसो भयो भने हामी समुन्दख्रमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्छौं ।’
 सुनकोसी–२ र ३ को बहुआयामिक महत्व रहेको र ती आयोजना निर्माण हुँदा मुलुकलाई मात्र फाइदा पुग्ने नभई स्थानीयको जीवनस्तर माथि उठ्ने भएकाले सहयोग गर्न आग्रह गरे । 

  सुनकोसी–३ को सम्भाव्यता अध्ययन आगामी मंसिरसम्म सकिने र उक्त आयोजना बन्ने निश्चित भइसकेको जानकारी उनले दिए । तर, सुनकोसी–२ को भने अध्ययनको काम जारी रहेकाले अझै भन्न नसकिने उनको भनाइ थियो । सुनकोसी–२ मा घनाबस्ती पर्ने र क्षति धेरै हुने भएकाले आयोजना तुलनात्मक रुपले केही महंगो पर्न सक्ने मन्त्री पुनले स्पष्ट गरे । ‘सुनकोसी–२ मा धेरै बस्ती र त्यसमा पनि बजार क्षेत्र पर्छ । त्यसकारण सुनकोसी–३ भन्दा केही महंगो पर्न जान्छ’, ‘मन्त्री पुनले भने, ‘लगानीभन्दा कम प्रतिफल आउने र घाटा हुने अवस्थामा सरकारले लगानी गर्दैन, तर, मुलुकलाई र स्थानीयलाई पनि फाइदा हुने देखियो भने प्रधानमन्त्री र शीर्ष नेतृत्वसमेत बसेर त्यसबारे निर्णय हुन्छ ।’ 

सुनकोसी–३ बारे बाँधस्थल लुभुघाट र सुनकोसी–२ का विषयमा सिन्धुली र रामेछापको सीमानामा पर्ने सिन्धुलीको फिकल गाउँपालिका च्याखुटारमा स्थानीयसँग मन्त्री पुनले छुट्टाछुट्टै अन्तरक्रिया गरे । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य गणेश पहाडी र पूर्वउर्जाराज्यमन्त्री एवं नेकपा नेता सूर्यमान दोङले स्थानीयका तर्फबाट आयोजना निर्माणमा अवरोध नभई सहयोग हुने प्रतिबद्धता जनाए । विद्युत विकास विभागका महानिर्देशक नवीन सिंहले बंगलादेशले सुनकोसी–३ मा लगानीका लागि इच्छा देखाएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप