शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साउदीमा मृत्युदण्ड पाएका उमेश यादव १३ वर्षपछि नेपाल फर्किए, यसरी पाए आममाफी

बुधबार, ०८ माघ २०७६, १४ : ४३
बुधबार, ०८ माघ २०७६

काठमाडौँ । पाकिस्तानी नागरिकको हत्या आरोपमा १३ वर्ष साउदी अरबको जेलमा बसेका धनुषाका उमेश यादव अन्ततः नेपाल फर्किएका छन् । सामाजिक अभियन्ता सरोज रायको पहलमा यादवले नयाँ जीवन पाएका हुन् ।  उनी बुधबार नेपाल फर्किएका हुन् । 

नेपाल फर्केका उमेश यादवले रातोपाटीसँग कुरा गर्दै भने, ‘सरोजजीले मलाई नयाँ जीवन दिनुभएको छ, उहाँलाई जति धन्यवाद दिए पनि कम हुन्छ । मैले नेपाल फर्केर नेपाली दाजुभाइ, परिवार, छोरा छोरी, श्रीमतीसँग भेट्न पाउँछु भनि आशा नै मारिसकेका थिएँ, तर सरोजजीको प्रयासले मैले नयाँ जीवन पाएँ ।’ 

मृत्युदण्ड सुनाइएपनि ब्लडमनी तिरेपछि पीडित पाकिस्तानीका परिवार उमेशलाई आममाफी दिन तयार भएका हुन् । पीडित परिवार आममाफी दिन तयार भएकाले पनि आफूले नयाँ जीवन पाएको भन्दै उमेशले उनीहरुलाई पनि धन्यावाद दिए । यो सबै मिलाउन अथक पहल परोज रायले गरेका थिए । ‘पाकिस्तानी परिवारलाई भेटेर उनीहरुलाई कन्भीन्स गर्ने काम सरोजजीले गर्नुभएको थियो, उहाँ मेरो लागि भगवान नै हुनुहुन्छ’, उनले भने, ‘जेलमा हुँदा म र मेरो परिवारले धेरै ठूलो पीडाको सामना गर्नुभएको थियो ।’

आफूलाई छुटाउन नेपाल सरकारबाट पहल नभएको उनले गुनासो गरे । तर, उमेश यादवलाई बचाउनकै लागि सरोज राय तीन पटक पाकिस्तान र एकपटक साउदी अरब गएका थिए । यस्तै नेपालस्थित पाकिस्तानी दुतावास, परराष्ट्र मन्त्रालयमा कयौपटक उनी धाएका थिए । 

धनुषाका उमेश यादव सन् २००७ वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । साउदीको गएको ६ महिना नपुग्दै त्यहाँ एउटा घटना भयो, जुन घटनाका कारण उमेश जेल परेका थिए ।

आपसी विवादपछि झडप भएको र त्यसमा पाकिस्तानी कामदार मोहम्मद लतिफको मृत्यु भएको थियो । त्यहाँको अदालतले आर्थिक लेनदेन विवादमा सुतिरहेको अवस्थामा लतिफलाई उमेश यादवले रड हानेर हत्या गरेको फैसला सुनाएको थियो । उनीसँगै सो घटनामा उनका भाइ दिनेश यादव पनि पक्राउ परेका थिए  । तर छ महिनापछि रिहा भएर उनी घर फर्केका थिए ।

उमेशलाई भने त्यहाँको पुनरावेदन अदालतले २०७५ वैशाख २ गते मृत्युदण्ड दिने फैसला गरेको थियो । यसअघि  जनरल कोर्टले सन् २०७३ चैत २ मा उमेश यादवलाई ११ वर्ष कैद, ११ सय कोर्रा हान्ने र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो ।

तर, जनरल कोर्टको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले त्यहाँको पुनरावेदन अदालतमा रिट दायर गरेको थियो । सोही पुनरावेदन अदालतले उमेशलाई  मृत्युदण्डको फैसला सुनाएको हो । उमेशलाई मृत्युदण्ड सुनाइएको सो खबर नेपाली सञ्चारमाध्यमा समेत महत्वका साथ छापिएको थियो । 

सोही मृत्युदण्डको समाचार थाहा पाएर अभियन्ता सरोजले उनको ज्यान जोगाउन पहल थालेका थिए । 

त्यसैक्रममा उनले यदि लतिफका परिवारले माफी दिए उमेशलाई उमेशलाई बचाउन सकिन्छ भने कुरा थाहा पाए, त्यसपछि उनी लतिफको परिवारलाई भेट्न उनी पाकिस्तान पुगेका थिए । 

हुन त मृत्युदण्डको फैसला हुनुअघि नै ०७४ फागुन पहिलो हप्तादेखि नै सरोज ‘उमेश बचाउ अभियान’ मा लागेका थिए ।  सरोजले नेपालमा परराष्ट्र र श्रम रोजगार मन्त्रालय गएर कुरा राखेका थिए । काठमाडौंस्थित पाकिस्तानी दूतावास पनि पटक पटक पुगेका थिए ।  साउदीका नेपाली राजदूत, पूर्वराजदूत, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका नेतालगायत सम्बन्धित धेरै पक्षलाई पनि उनले त्यतिबेला भेटेका थिए । सोही बीचमा अदालतबाट मृत्युदण्डको फैसला भएपछि उमेशलाई बचाउन उनले अभियान थत तीव्र पारेका थिए । 

सोही क्रममा उनी पहिलो पटक २०७५ वैशाख ९ गते नेपालबाट पाकिस्तानका लागि उडेका थिए । अनि पाकिस्तानको कराँची पुगेका थिए । त्यहाँ गएर उनले लतिफका परिवारलाई भेट्नुको साथै कानुन प्रकृया पनि शुरु गरेका थिए । पिडित परिवार पनि उमेशलाई माफी दिन राजी भएका थिए ।

त्यसका लागी ३० लाख ब्लडमनी दिनुपर्ने थियो । जसअनुसार  सहयोग संकलन गरी पीडित परिवारलाई साउदीस्थित नेपाली दूतावासमार्फत ब्लडमनी बुझाइयो ।  अन्ततः सरोजले थालेको पहलमा उमेश यादव रिहा भएर नेपाल फर्कन सफल भए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप