शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाले बोलाए शीर्ष नेतालाई बूढानीलकण्ठ :

दिल्ली–खुमलटार र सानेपा वार्ताको ब्रिफिङ

बुधबार, ०८ माघ २०७६, १३ : २५
बुधबार, ०८ माघ २०७६

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेतालाई छलफलका लागि बेलाएका छन् । 

बुधबार (आज) अपराह्न ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा पार्टी विवाद र समसामयिक राजनीतिका विषयमा छलफल गर्न नेताहरुलाई बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए ।
भानुका अनुसार देउवाले वरिष्ठ नेता पौडेलसँगै उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई छलफलका लागि बोलाएका हुन् ।

निधि, सिंह र सिटौलाबीच सोमबार पार्टी कार्यालय सानेपामा भएका छलफलले वरिष्ठ नेतासहितको बैठक बेलाउन देउवालाई आग्रह गरेको थियो । छलफलमा सिंहले दिल्लाबाट फर्किएपछि पौडेलले देउवासँग कुराकानी गर्न चाहेको कुरा सुनाएका थिए ।

उक्त छलफलकै बीचमा निधिले सभापति देउवासँग टेलिफोनमार्फत सिंहको कुरा सुनाएका थिए । पुस २७ गते साँझ सभापति देउवासँग उनको निवासमा छलफल गरी रक्तचाप स्थिर नभएको भन्दै पुस २९ गते वरिष्ठ नेता पौडेल दिल्ली उडेका थिए ।

अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचारका लागि गएका उनले उपचारसँगै भाजपा नेता एवं रक्षामन्त्री राजनाथ सिंहलगायतसँग भेटवार्ता समेत गरेका थिए ।

गत शनिबार स्वदेश फर्किएपछि उनी मङ्गलबार नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।

आज देउवा निवासमा हुने काँग्रेस नेताहरुबीचको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रचण्डकै आग्रहमा नेकपाबाट सभामुखका उम्मेदवार बनेका अग्नि सापकोटाको विरुद्धमा उम्मेदवा खडा गरेको छैन ।

नेताहरुबीचको छलफलमा उपसभामुखमा पार्टीको उम्मेदवार र संसदीय रणनीतिबारे छलफल हुने भानुले बताए ।

प्रचण्डले काँग्रेसलाई उपसभामुख दिन आफू तयार रहेको र प्रधानमन्त्री केपी ओलीसँग पनि कुरा गर्न देउवालाई सुझाएको बुझिएको छ ।

यद्यपि अहिलेसम्म उपसभामुखबारे काँग्रेस नेताहरु र ओलीबीच कुनै छलफल भएको पाइँदैन । तर काँग्रेसले उपसभामुखमा नेकपाको आफूलाई सहयोग रहने विश्वास दिएको देखिन्छ । प्रचण्डसँगको भेटपछि वरिष्ठ नेता पौडेलले त्यसको सङ्केत दिएका थिए ।  बैठकमा पाैडेलले दिल्ली भ्रमण र प्रचण्डसँग भेटमा भएका कुराकानीबारे पार्टीलाई जानकारी गराउने बुझिएकाे छ ।

यता पार्टीभित्र  छलफल नगरी संसदीय दल कार्यसमितिले सभामुखमा उम्मेदवारी नदिएको विषयमा कुरा उठाउने सिटौलाको तयारी छ । 

सभामुखको उम्मेदवारीबारे पार्टी प्रवक्ता र संसदीय दलको ‘लय’ समेत नमिलेको विषयमा पनि छलफल हुने छ । यस्तै निधिले राष्ट्रिय सभा उनिर्वाचनमा आफ्नो उम्मेदवारको जितका लागि समाजवादी र आफूहरुले अहिलेसम्म प्रदेश २ मा गरिरहेको रणनीतिबारे ब्रिफिङ गर्ने बुझिएको छ ।

पार्टी राजनीति
पुस २९ गतेयता पार्टी कार्यालय सानेपामा उपसभापति निधिको कार्यकक्षमा नेतात्रयबीच भएको छलफलको ब्रिफिङ गरिने छ । 

पुस ११ गतेको केन्द्रीय समिति बैठकबाट महाधिवेशनको कार्यतालिका, कार्यविधि, केन्द्रीय कार्यसमिति र तरुण दलको म्याद थप, विभागको सङ्ख्या थप र क्रियाशील सदस्यतासम्बन्धी विधानका केही दफा निलम्बनले उत्पन्न विवादमा भएको छलफलको देउवा– पौडलसामु सुनाइने छ ।

नेवि सङ्घको गठन, तरुण दलको कार्यकाल बढाएर समितिलाई पूर्णता दिनेदेखि पार्टीका विभागहरुको सङ्ख्या तथा गठन लगायतका विषयमा पनि त्रिपक्षीय कार्यदल विवादित सबै विषयलाई देउवा र पौडेलबीचमा

छलफल गरेर टुङ्ग्याउने तयारीमा छ । देउवा पक्ष केन्द्रीय महाधिवेशनको तालिका यथावत् राखेर तल्ला तहका अधिवेशनको तिथि मिति मात्र हेरफेर गर्ने पक्षमा छन् ।

यस्तै; क्रियाशील सदस्यताको छानबिन समिति निर्माण गर्न र विधानका दफा निलम्बनको निर्णय सच्याउने कुरामा देउवा पक्षले लचकता देखाएको छ ।

विभाग, नेविसङ्घ र तरुण दलमा गएको महाधिवेशनको म्यान्डेट अनुसार सहमितिबाट अगाडि बढ्ने कुरामा देउवा, पौडेल र सिटौला पक्ष  एक ठाउँमा देखिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप