शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेस रिभ्यू : कसरी गयो ८ भारतीयको ज्यान ?

एक वर्षमा नेपालबाट २३ जना अमेरिकी नागरिक निष्काषित
बुधबार, ०८ माघ २०७६, ०७ : ५७
बुधबार, ०८ माघ २०७६

काठमाडौँ । आज माघ ८ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा दामनमा ज्यान गुमाएका आठ भारतीय नागरिकको बारेमा समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, अग्नि सापकोटाको सभामुख पदका लागि उम्मेदवारी, नेकपाको सर्कुलर लगायतको विषयमा पनि समाचारहरु रहेका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्ध पर्याप्त आधार हुँदाहुँदै सरकारले कारबाहीबाट उन्मुक्ति दिएको भेटिएको कान्तिपुर दैनिकमा समाचार छ । छानबिन समितिले कारबाहीका लागि कारण र आधार औंल्याए पनि मन्त्रिपरिषद्ले केही नभेटेको भन्दै सफाइ दिने निर्णय हालै गरेको हो । अख्तियार स्रोतबाट कान्तिपुरलाई प्राप्त समितिको प्रतिवेदनमा डेपुटी गभर्नर श्रेष्ठमाथि ‘सम्पत्ति शुद्धीकरणको अभियोगमा कारबाही गर्न’ सिफारिस गरिएको छ । समितिले श्रेष्ठविरुद्धका चारवटा आरोपमाथि छानबिन गरेको थियो । बैंक र मुलुकको वित्तीय प्रणालीलाई नै प्रभाव पार्ने काम गरेको प्रमुख आरोप थियो । वैदेशिक भ्रमणमा जाँदा फर्जी कागजात तयार पारेको अर्को उजुरी थियो भने सम्पत्ति शुद्धीकरणका क्रियाकलाप ट्र्याक गर्ने गो–एएमएल सफ्टवेयर लागू गराउन ढिलाइ गरेको तेस्रो आरोप थियो । गैरकानुनी रूपमा एनसेलको पुँजीगत लाभकर विदेश पठाउन भूमिका खेलेको आरोपसमेत थियो ।

श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, अर्थ मन्त्रालयलगायतका निकायमा दर्जनौं उजुरी थिए । श्रेष्ठलाई बर्खास्त गर्ने पर्याप्त आधार र कारण हुँदासमेत पुस २८ गतेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई सफाइ दियो । गत बिहीबारको पत्रकार सम्मेलनमा सफाइबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भनेका थिए, ‘उहाँमाथि छानबिन भएको हो । राष्ट्र बैंकबाट छानबिन प्रतिवेदन पनि प्राप्त भएको हो । छानबिनमा कुनै त्यस्तो कसुर देखिएन ।’

पार्टी नेता, कार्यकर्ता र सदस्यहरूका लागि आचारसंहिता जारी भएपछि ‘नेताहरूले टेकेको धरातल भने कस्तो छ रु’ भन्ने बहसले नेकपाभित्र पुनः प्रवेश पाएको कान्तिपुर दैनिकमा समाचार छ । यो बहसको सुइरो आचारसंहिता जारी गर्ने नेताहरूमाथि नै सोझिएको छ । नेकपा संगठन विभागले तयार पारेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको हस्ताक्षरमा माघ ५ गते जारी भएको आचारसंहितामा आदर्शवादी ११ वटा बुँदा छन् । बुँदा नं। ७ ले ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्याएर काम गर्नुपर्छ मात्रै भनेको छैन भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने र त्यस्ता केही सूचना भए सरकारलाई जानकारी गराउन पनि निर्देशन दिएको छ । त्यसो हो भने सबभन्दा पहिले प्रश्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालमाथि तेर्सिने नेताहरू बताउँछन् । दाहाल अहिले बसेको खुमलटारस्थित घर विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको हो । अधिकारी ठेक्का लिने र समयमा काम पुरा नगर्ने ठेकेदारको सूचीमा अग्रपंक्तिमा छन् । के दाहालले अधिकारीले गरेको यो अनियमितताको सूचना सरकारलाई देलान् ?

मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टका कोठामा सुतेका आठै जना अर्धचेत अवस्थामा फेला परेका थिए। उनीहरूका शवमा चोटपटक देखिएको छैन, अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । उनका अनुसार कमै हुने घटना हो यो। जाडो समयमा परिवारको एउटै कोठामा ज्यान जाने घटना हरेक वर्ष दोहोरिने गरेको छ। पोस्टमार्टम गर्ने फरेन्सिक विज्ञ कोठाभित्र हुने सामूहिक निधनमा मुख्यतः दुई कारण रहने बताउँछन्– १। फुड प्वाइजनिङ हुनु २। निसास्सिनु। ‘झ्याल, ढोका बन्द गरी कोठाभित्र हिटर वा मकल बालेर बस्छन्। तातो वातावरणमा निदाउँछन्। सधैंका लागि निदाउन पुग्छन्’, वरिष्ठ कानुनी चिकित्सक हरिहर वस्तीले भने। उनका अनुसार हिटरले अक्सिजन सोस्छ। अक्सिजन अभावमा कार्बन मोनोअक्साइडलगायत विषालु ग्यासले कोठा भरिँदा निसास्सिएर ज्यान जान्छ। ‘दुर्घटनाका अन्य कारण छैनन् भने फुड प्वाइजनिङ वा अक्सिजन अभावले कोठाभित्र मास क्याजल्टीको घटना हुने गरेको छ’, उनले भने। त्रिवि शिक्षण अस्पतालको सामुदायिक स्वास्थ्य विभागका डा। खेम कार्कीका अनुसार कोठाभित्र हिटर वा मकलमा दाउरा बालेर सुत्दा विषालु ग्यासले कोठा भरिन पुग्छ। ‘झ्याल, ढोका बन्द गरेको अवस्थामा कोठाभित्र आगो र हिटरका कारण विषाक्त ग्यास निस्किन्छ। त्यसले शरीरलाई शिथिल बनाउँछ। सुतेको व्यक्ति बेहोस हुन्छ। हलचल गर्न नपाउँदै ज्यान जान सक्छ’, उनले भने, ‘सतर्कतासमेत अपनाउन पाउँदैन। सुतेको सुत्यै ज्यान जान सक्छ।’

आगामी ०७७ चैत मसान्तभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पार्टीमा गरेको सत्तारुढ दल नेकपाले संगठित सदस्यता नवीकरण र अभिलेखीकरणका लागि तीनमहिने कार्यविधि तय गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । केन्द्रीय संगठन विभागले बनाएको कार्यविधिलाई सचिवालयले अनुमोदन गरेर कार्यान्वयन गर्न पठाएको नेकपाले जनाएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको हस्ताक्षरपछि पार्टीले ‘विशेष परिपत्र ७’ मार्फत् कार्यविधि पार्टी पंक्तिमा पठाएको छ। केन्द्रीय कार्यालयसँग संगठित सदस्यको आधिकारिक अभिलेख छैन। साबिक एमाले र माओवादी केन्द्रको एकतायता नेकपाले संगठित सदस्यता नवीकरण गर्न सकेको छैन। अब उसले तत्कालीन एमाले र माओवादीमध्ये साबिक कुन पार्टीको संगठित सदस्य रहेको पहिचानसमेत खुल्ने अभिलेख राख्ने भएको छ। एकताको अघिल्लो दिन ९०७५ जेठ २ गते० सम्मको साबिक दुवै पार्टीका सदस्यलाई सदस्यता नवीकरण गर्न उसले तीन महिना समय तोकेको छ। अभिलेख सम्बन्धित भूगोलका प्रदेश र विशेष प्रदेश कमिटीले जिल्ला, गाउँ, नगर कमिटीलाई माघ मसान्तसम्म उपलब्ध गराउनुपर्ने परिपत्रमा उल्लेख छ। ओली–दाहालले गरेको सर्कुलरमा भनिएको छ, ‘०७५ जेठ २ सम्म कायम पार्टी सदस्यलाई संगठित सदस्य मानी ०७६ चैत मसान्तभित्र संगठित सदस्यता नवीकरण गरिसक्नुपर्ने छ।’

सरकारले ल्याएको विवादित नौ विधेयकमा सरकारको नियत खराब रहेको नागरिक दैनिकमा समाचार छ ।  केपी ओली नेतृत्वको सरकारले संसद्मा पेस गरेका विधेयक एकपछि अर्को गर्दै विवादमा परेका छन्। सरकारले संवैधानिक व्यवस्थाविपरीतका प्रावधान राखी विधेयक ल्याएका कारण विवाद उत्पन्न भएको हो। गत वर्ष नै संसद्मा दर्ता भएको सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायतका आधा दर्जनभन्दा बढी विधेयकमा विवाद छ। छलफलका क्रममा रहेको सूचना प्रविधि विधेयकको सरोकारवालाले विरोध गरिरहेका छन्। सरोकारवालाले मानवअधिकार आयोगसम्बन्धी विधेयक, गुठी विधेयक र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकको पनि विरोध गरेका छन्। यस्ता विधेयक ल्याएर सरकार नियन्त्रणमुखी बन्न खोजेको विश्लेषण कानुनविद् र राजनीतिशास्त्रीले गरेका छन्। संवैधानिक कानुनका जानकार भीमार्जुन आचार्यका अनुसार विवादित कानुन ल्याउँदा सरकारको नियतमा खोट देखिएको छ। ‘अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कसरी नियन्त्रित र निर्देशित बनाउने भन्ने सोच देखिन्छ। सरकारको नियत सफा भएन’, उनले भने। धेरैजसो विधेयक विवादित बनेपछि सरकारको नियत सफा छैन कि भन्ने आशंका उत्पन्न भएको उनले बताए।

अरु कसैको पनि उम्मेदवारी नपरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन्। प्रतिनिधिसभाको माघ १२ गते बस्ने बैठकले सभामुख निर्वाचित गर्ने कार्यक्रम छ। सभामुखको निर्वाचनका लागि माघ १२ गते ३ बजे बैठक बोलाइएको छ। सापकोटाले नेपालको आठौं सभामुखका रुपमा जिम्मेवारी सम्हाल्नेछन्। तर उनका लागि संसद्को बैठक सन्तुलित ढंगले सञ्चालन गर्नु निकै चुनौतीपूर्ण रहेको नागरिक दैनिकमा समाचार छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया टुंगो लाग्न बाँकी रहँदा आन्तरिक सन्तुलन मिलाएर संसद् बैठक सञ्चालन गर्नु उनका लागि चुनौतीपूर्ण छ। त्यसका साथै प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्नु उनका लागि अझ कठिन छ। संसद्मा पेस भएका कतिपय विधेयक विवादमा परेका बेला तिनलाई सुझबुझका साथ अघि बढाउने जिम्मेवारी पनि उनले पूरा गर्नुपर्ने छ। साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोलाई पनि उनले छिचोल्दै अघि बढ्नुपर्ने अवस्था छ। पटकपटक मन्त्रीको जिम्मेवारी सम्हाले पनि सभामुखजस्तो तटस्थ भूमिकामा रहनुपर्ने पदमा उनी पहिलो पटक आउँदैछन्।

नेपालीहरू अवैध माध्यमबाट अमेरिका प्रवेशपछि पासपोर्ट फालेर शरणार्थीका रूपमा बस्न खोज्ने प्रवृत्ति नयाँ होइन । मेक्सिकोको सीमाबाट त्यसरी अवैध रूपमा छिरेर अमेरिका गएर लुक्ने नेपालीको संख्या ठूलो छ । नेपाली अमेरिका गएर लुक्ने मात्र होइन, कतिपय अमेरिकीसमेत लुकिछिपी नेपालमा बस्ने गरेको पाइएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।   पासपोर्ट फालेर यसरी नेपालमा बस्दै आएका एक अमेरिकी नागरिक सोमबार काठमाडौंमा पक्राउ परेका छन् । गाँजा खाएर होहल्ला गरेको अवस्थामा अमेरिकी नागरिक हेनी योङलाई पर्यटक प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको छ । उनी अवैध रूपमा नेपालमा बस्दै आएको र पासपोर्टसमेत नभेटिएको अध्यागमन विभागका अधिकृत वैकुण्ठ रेग्मीले बताए । यसरी नेपालमा अवैध रूपमा लामो समय बस्ने उनी एक्ला अमेरिकी होइनन् । सन् २०१९ मा नेपालमा भिसाको अवधि सकिएर अवैध रूपमा बस्दै आएका २३ जना अमेरिकी नागरिकलाई सरकारले निष्कासन गरेको छ ।

सुरक्षा चेकजाँचका क्रममा प्रहरी र सर्वसाधारणबीच प्रायः विवाद भइरहन्छन् । अझ विमानस्थलमा त यस्ता घटना पटक–पटक हुने गरेको छ । गत १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच पनि सामान्य विवाद भयो । विवाद तत्कालका लागि भनाभनमा गएर टुंगियो । त्यही विषयलाई लिएर पछि गायिका राउतले प्रहरीप्रति आक्रोश पोख्दै आफूलाई अभद्र व्यवहार गरेको भन्दै गाली गरेर भिडियो फेसबुकमा राखेपछि विवाद फेरि सुरु भयो । आस्थाको भिडियोले प्रहरी संगठनमा आँच पुगेको भन्दै प्रहरीले पनि विमानस्थलमा उनले महिला प्रहरीसँग झगडा गरेको सिसिटिभी फुटेज सार्वजनिक गरिदियो । त्यसअघि नै आस्थाले गल्ती महसुस गर्दै फेसबुकमा बोलेका कुराप्रति माफी मागिसकेकी थिइन् । तर, प्रहरी यतिवेला उनलाई जसरी नै पक्राउ गर्न अग्रसर देखिएको छ । प्रहरी जवान श्रेष्ठलाई उजुरी दिन लगाएर अभद्र व्यवहारसम्बन्धी मुद्दामा आस्थाविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरिएको छ । सामान्य विवादमा प्रहरी गायिका राउतविरुद्ध प्रतिशोधमा उत्रिएको भन्दै प्रहरी कदमको आलोचना हुन थालेको नयाँ पत्रिका दैनिकमा समाचार छ । चेकिङका क्रममा भएको दुव्र्यवहारभन्दा पनि फेसबुकमा प्रहरीलाई गाली गरेको विषयलाई लिएर प्रहरी उनीमाथि मुद्दा चलाउन लागिपरेको छ । सोही कारण प्रहरीको कदमको आलोचना भएको हो । धेरैले प्रहरीको यस्तो कदम गलत भएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् । खासगरी, कलाकारहरू प्रहरीको कदमको विरोध गरिरहेका छन् । पूर्वप्रहरी अधिकारीहरूसमेत यस्तो विवादलाई मुद्दा चलाउनुपर्ने अवस्था नभएको बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप