बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा १२ वर्षअघि हराएका बालक जब नेपालमा भेटिए....

मङ्गलबार, ०७ माघ २०७६, १९ : ४४
मङ्गलबार, ०७ माघ २०७६

बुटवल । बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरका अमरबहादुर सुनारको आर्थिक अवस्था कमजोर थियो । आर्थिक अवस्था कमजोर भएकै कारण सुनार आफ्नो श्रीमती लक्ष्मी सुनार र उनको ७ वर्षीय छोरालाई लिएर रोजगारीका लागि भारत पुगे । २०६४ सालमा भारतको लुधियाना गएका सुनारसँग रहेका उनका छोरा सन्तोषकुमार सुनार त्यहींबाट हराए ।

छोरा हराएपछि सुनार परिवारमा चिन्ता थपियो, एकातर्फ उनीहरुको आर्थिक अवस्था कमजोर थियो भने अर्कोतर्फ सन्तान हराएको पीडा । सन्तान भेटिने आशामा सुनार दम्पत्ति भारतमै बसिरहे । ७ वर्षीय बालकको खोजतलास गर्दा कतै पत्तो लागेन । सन्तान हराएको पीडामा रहेका अभिभावकको अनुहारमा अहिले भने मुस्कान देखिएको छ ।

भारतस्थित नेपाली दूतावासको समन्वय तथा प्रवासी नेपाली मित्र मञ्च र मानवकल्याण मित्र मञ्च नेपालको सक्रियतामा फेला पारिएका उनी अहिले १९ वर्ष पुगिसकेका छन् । सन्तोष अहिले अभिभावकलाई भेट्न सफल भएका छन् । उनलाई २०७५ साउन ५ गते उद्दार गरिएको हो । सन्तोषलाई अभिभावकसम्म आउन भने त्यति सहज भएन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार सन् २०१४ जनवरी २२ मा लखनउमा ११ वर्ष ४ महिना उमेर भएको सन्तोष नाम गरेका बालक भेटिए ।  वेवारिसे रुपमा फेला परेका उनलाई भारतस्थित विभिन्न बालगृह हुँदै राजकीय बालगृह देवरियामा पुर्याइयो । सोही बालगृहमा बसेका सन्तोषसहित विजय तामाङ, राजेशकुमार, सुमितकुमार गरी ४ जनालाई पारिवारिक पुनर्मिलनको लागि भारतस्थित नेपाली दूतावासको सिफारिससहित मित्र मञ्चले उद्धार गरेको थियो । उनीहरुलाई मञ्चसहित जिल्ला प्रहरी कार्यालय रुपन्देही, बालबालिका तथा जेष्ठ नागरिक सहायता केन्द्रमार्फत नेपाल ल्याएको थियो ।

अभिभावकहरुको पत्ता नलागेसम्म अस्थायी संरक्षणको लागि ४ जना बालकलाई प्रहरीले तिलोत्तमा नगरपालिका कोटिहवास्थित नेपाल अविनास अनाथ आश्रममा पठाएको थियो । ४ जनामध्ये ३ जनाको अभिभावक पत्ता लागेपनि सन्तोषको ठेगाना र अभिभावक पत्ता लाग्न सकेको थिएन । त्यसपछि उनलाई बालगृहको संरक्षणमा पशुपति मावि कोटिहवामा भर्ना गराइयो र उनको स्थायी ठेगाना खोज्ने क्रम जारी रह्यो । 

त्यसपछि सन्तोषले दिएको जानकारीअनुसार दुर्गानगर, कुसुम, झोलुङ्गेपुलसम्मको ठेगाना खुलेको थियो । त्यसलगत्तै बैजापुर हेल्थपोष्टका कर्मचारी कुविजा कोइरालाले सन्तोष त्यही क्षेत्रको हुनसक्ने अनुमान गरिन् । बालकको ठेगाना खोज्ने प्रयास जारीनै रह्यो ।

त्यसपछि भैरहवा–बुटवल सडकखण्डमा काम गर्ने एक मजदूरले आफ्नो गाउँको बालक भारतमा हराएको सूचना दिए । त्यसपछि बैजपुर गाउँका अगुवा सन्तोष खड्काले हराएका बालकका अभिभावक भारतमै रहेको जानकारी दिए । बालक नेपाल पुगेको सूचना पाएपछि २०७६ पुस ६ गते अमरबहादुर सुनार र लक्ष्मी सुनार बालगृहमा आएर आफ्नो छोराको पहिचान गरेको प्रहरीको भनाइ छ । 

सन्तोषका बुवा अमर विगत सम्झिँदै भन्छन, ‘सडकको सुविधा थिएन, डुंगा तरेर जानुपथ्र्यो, आर्थिक अवस्था कमजोर थियो, त्यसकारण भारतमा गएर पैसा कमाउँला भन्ने सोच थियो, तर आफुसँगै लगेको छोरा नै हराएपछि झन समस्या थपियो । छोरा १२ वर्षपछि भेटे पनि अब भने परिवारमा खुशी आएको छ, मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्याल र सम्पूर्ण परिवारको सक्रियतालाई बिर्सन सक्दिन् ।’

त्यस्तै सन्तोषकी आमा लक्ष्मी सुनार भन्छिन्, ‘हराएको छोरा भेटाउने आशा नै मारिसकेका थियौं, तर भगवानले १२ वर्षपछि पनि हाम्रा पीडा सुनेर छोरालाई हामीसँगै फर्काए, योभन्दा अझ बढी खुशीको कुरा के हुनसक्छ ।’ सन्तोष पनि अभिभावक पाएकोमा निकै नै खुशी छन् । उनी भन्छन्, ‘विगतमा के भयो, कसरी हराए त्यो सबै त स्मरण गर्न सक्दिन, तर मलाई अभिभावकसम्म ल्याउने संस्थालाई सदैव सम्झिनेछु ।’

मंगलबार जिल्ला प्रहरी कार्यालयमा सन्तोषलाई उनका अभिभावकको जिम्मा लगाइएको छ । सो क्रममा रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले हराएका बालकको उद्धारमा सहयोग गर्न सफल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप