बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : राजपालाई सरकारमा सहभागी नहुन दवाव, सभामुखमा सापकोटाको एक्लो उम्मेदवारी

मङ्गलबार, ०७ माघ २०७६, १८ : ३७
मङ्गलबार, ०७ माघ २०७६

सभामुख उम्मेदवारी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट अग्नि प्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

मंगलबार सापकोटाले सभामुखका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।  सुवास नेम्वाङको समर्थन तथा देव गुरुङ, ओनसरी घर्ती र लक्ष्मणलाल कर्णको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

 उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै सापकोटाले जननिर्वाचित सर्वोच्च संस्थाको गरिमा र यसको मूल्य मान्यतालाई अझ उचो पार्न भगिरथ प्रयास गर्ने बताए । 

कृष्णबहादुर महरो गत असोजमा राजीनामा दिएपछि सभामुख पद खाली रहेको छ । माघ १२ हुने सभामुखको निर्वाचनका लागि सापकोटाको एकल उम्मेदवारी परेको छ । 

कांग्रेस संसदीय दल 

यसअघि कांग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखका लागि उम्मेदवार नउठाउने निर्णय गरेको थियो । सत्तारुढ दलले सभामुखको उम्मेदवार घोषणा गरिसकेको र निर्वाचनका लागि येथेष्ट मत रहेकाले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको नेता सुरेन्द्रराज पाण्डेले बताए । 

पाण्डेका अनुसार उपसभामुखमा उम्मेदवारी दिने नदिने विषयमा भने मंगलबार कुनै निर्णय भएको छैन् । सभामुख चयनपछिको राजनीतिक घटनाक्रम कसरी अगाडी बढ्छ त्यही अनुसार उपसभामुखका विषयमा छलफल गरिने उनले बताए । 

उपसभामुख पद 

त्यसैगरी, उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भेटवार्ता गरेका छन् ।  प्रचण्ड निवास खुमलटारमा मंगलबार प्रचण्ड र पौडेलबीच भेटवार्ता भएको हो ।

भेटमा नेता पौडेलले उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्न आग्रह गरेका थिए । पौडेलको यस्तो प्रस्ताव सुनेका प्रचण्डले पार्टीमा छलफल गरेर अघि बढ्न आफू तयार रहेको जवाफ दिएका थिए । 

त्यस्तै, उपसभामुख पदमा राजपाले पनि दावी गर्ने बताउँदै आएको छ ।  

प्रम ओली र मोदी

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा निर्मित एकीकृत जाँच चौकी मङ्गलबार भिडियो कन्फ्रेन्स मार्फत संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

ओली र मोदीले उद्घाटनका अवसरमा संक्षिप्त सम्बोधनसमेत गरे ।  प्रधानमन्त्री ओलीले अङ्ग्रेजी भाषामा सम्बोधन गर्दा मोदीले भने नेपाली र हिन्दी भाषा प्रयोग गरेका थिए । 

प्रधानमन्त्री ओलीले नेपाल र भारत दुवै मुलुकमा स्थिर र बहुमतको सरकार रहेका कारण आपसमा अल्झिएका मुद्दाहरुलाई मिलेर सुल्झाउन सकिने चर्चा गरे । 

उनले भूकम्पपछि मोदी नेतृत्वको सरकारले नेपालमा उद्धार तथा राहतमा निर्वाह गरेको अग्रणी भूमिका र पुनर्निर्माणमा गरेको सहयोगप्रति आभार प्रकट गरे । 

उता भारतका प्रधानमन्त्री मोदीले सम्बोधनको सुरुमै नेपाली जनतालाई कस्तो छ ? भनी सोधेका थिए । त्यसपछि उनले हिन्दी भाषामा सम्बोधन गरे । 

उनले  नयाँ वर्ष र नयाँ दशकको सुरुवातमै नेपाल र भारत शुभकार्यमा सामेल भएको भन्दै एकीकृत जाँच चौकी निर्माण हुनु दुई देशबीचको साझेदारीको एउटा उदाहरण रहेको प्रष्ट पारे । 
आईसीपी उद्घाटन

मोरङको विराटनगर महानगरपालिका बुधनगरमा बनेको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) उद्घाटनसँगै यसको स्वामित्व नेपालसँग आएको छ । आईसिपी सुचारु भएसँगै निर्यात लागत घट्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए ।  पार्किङ स्थल,जाँच पोष्टसहितका सेवाहरु एकै ठाउँबाट उपलब्ध हुने भएपछि आयात र निर्यातकर्तालाई सहज हुने उनको भनाई छ । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आईसीपी निर्माणपछि खर्च व्यवस्थान हुने र सामानको सुरक्षामा सहयोग पुग्ने बताए । 

सन् २००५ मा नेपाल र भारत सरकारबीच दुवै देशका सिमानामा पर्ने विभिन्न क्षेत्रहरुमा आइसीपी निर्माणको सहमति भएको थियो । उक्त सहमति अनुसार वीरगञ्जमा दुई वर्ष अघि नै आईसीपी निर्माण भइसकेको छ । मंगलबारबाट विराटनगरमा निर्माण भएको आइसीपी सञ्चालनमा आएको छ । अब भैरहवा र नेपालगञ्ज नाकामा निर्माण गर्न बाँकी रहेको छ ।

८ भारतीयको मृत्यु
भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका २ परिवारका ८ सदस्यको मृत्यु भएको छ ।

दामनको एभरेस्ट पानोरामा रिसोर्टमा बास बसेका ८ जना भारतीय नागरिकहरु अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । बालेको हिटरमा निसास्सिए उनीहरुको मृत्यु भएको हो । 

सरकारमा नजान राजपालाई दवाव 
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारमा नजान पार्टीका केही नेताहरु दवाव दिएका छन् । 

राजपा नेपालका नेताहरुले अध्यक्षमण्डलका संयोजकलाई सम्बोधन गर्दै सरकारमा जाने विषयमा पार्टीभित्र संस्थागत निर्णय गरेर मात्र अगाडि बढ्न लिखित माग गरेका हुन् । यसरी माग गर्नेहरुमा राजपा नेपालका उपाध्यक्षहरु सर्वेन्द्रनाथ शुक्ला, वृषेशचन्द्र लाल, गोविन्द चौधरी, रमेश प्रसाद यादव र महासचिव विजयकुमार सिंह हुन् ।

उनीहरु महन्थ ठाकुर नेतृत्वको पूर्व तमलोपाका नेताहरु हुन् । राजपा नेपाल सरकारमा सहभागी हुनेबारेमा चर्चा परिचर्चा भइरहेको बेला उनीहरुले चाहिँ पार्टीले उठाएमा माग सम्बोधन भएपछि मात्र सरकार बारे निर्णय गर्नुपर्ने माग गरेका छन् ।  

उनीहरुले हस्ताक्षरसहित दिएको पत्रमा संविधान संशोधन गरेर मधेशी, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम लगायतहरुको मुद्दा सम्बोधन तथा रेशम चौधरी लगायत आन्दोलनकारीमाथि चलाइएका राजनीतिक मुद्दाहरु खारेज गरी तिनको रिहाइ भएपछिमात्रै सरकारमा सामेल हुनुपर्ने उल्लेख गरिएको छ।  यो बिनै सरकारमा सहभागी भएमा शहिदहरुको बलिदान र आन्दोलनकारीहरुको संघर्षको अपमान हुने पत्रमा उल्लेख छ। 

राष्ट्रिय सभा चुनावका लागि नेकपासँग राजपा नेपालले गरेको दुई बुँदे सम्झौतापछि सरकारमा सहभागी हुने कुरा जोडतोडले उठेको छ । राजपा नेपाल संघीय सरकारमा जानुको साथै प्रदेश २ को सरकार पनि परिवर्तन गर्ने पक्षमा रहेको कुरा चर्चामा आएको छ ।  

निर्वाचन आयोग

निर्वाचन आयोगले माघ ९ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचन सम्बन्धी आचारसंहिता पूर्ण पालना गर्न सम्पूर्ण दल तथा तीनै तहका सरकारलाई अपील गरेको छ । 

आयोगले निर्वाचनको मौन अवधि सुरु भईसककाले सो अवधिमा आचार संहिता विपरितका काम कारवाही नगर्न, त्यस्ता क्रियाकलापका लागि उक्साहट नगर्न सबैलाई अपील गरेको हो ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचार संहिता बमोजिम सोमबार राति १२ बजे देखि मौनअवधि शुरु भइसकेकाले यस अवधिमा कुनैपनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार नगर्न नगराउन आग्रह गरे । 

एमसीसी विवाद

नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले ह्विप जारी गरेर भएपनि प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना पारित हुने बताएका छन् । 

काठमाडौंमा भएको एक कार्यक्रममा पौडेलले प्रतिपक्षी दल पनि पारित गर्नुपर्ने पक्षमा रहेको र प्रधानमन्त्रीको चाहाना पनि पारित हुनुपर्छ भन्ने भएकाले एमसीसी पारित हुने बताए । 

कांग्रेसका नेता भीमसेनदास प्रधानले सत्तापक्षले एमसीसी पास गर्नुपर्ने बताए भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताहरुलाई छलकपटको राजनीतिक नगर्न सुझाव दिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले विदेशी सहयोग लिँदा राष्ट्रहितका विषयमा सोच्नुपर्ने बताए ।  अहिले भारत र चीनबाट समेत नेपालले सहयोग लिँदै आएको बताउँदै उनले नेपालले आफ्नो राष्ट्रिय हित र स्वार्थ हेर्नुपर्ने बताए । 

अर्थमन्त्री 

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । 

उनले १५ अर्ब पूँजी भएका बैंकले २÷३ अर्ब रुपैयाँ नाफा कमाउनु धेरै नभएको बताए । कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नाफा अर्बमा देखिएपनि प्रतिशेयर आम्दानी कम हुने बताए । 

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ५० प्रतिशत रकम साना तथा मझौला क्षेत्रमा प्रवाह गर्न समेत आग्रह गरे । 

त्यसैगरी कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह नबढाए राष्ट्र बैंकले कारबाही गर्ने बताएका छन् । 

शिवाकोटीले आउने असार मसान्त सम्ममा कृषि कर्जा बाहेक तोकिएका अन्य कर्जामा प्रत्येक बैंकले कम्तीमा पनि ५ सय जनालाई सहुलियत ब्यजादरको कर्जा उपलब्ध नगराए आर्थिक जरिवाना गर्ने नीति लागू गर्ने विषयमा राष्ट्र बैंकमा छलफल भइरहेको बताए । 

कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले देशको गरिबी निवारणमा महत्वपूर्ण भूमिका बैंकले खेलेको बताए ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कृषि विकास बैंकले व्यवसाय विस्तारमा गरेको उपलब्धी र उत्कृष्ट वाणिज्य बैंकहरुमध्ये तेस्रो हुन सफल भएको भन्दै प्रशंसा गरे । 

कृषि विकास बैंकले अहिले सम्म १ खर्ब २७ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ खर्ब १७ अर्ब पु¥याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप