शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी पास हुन्छ, तर सर्त जरुरी छैन : पौडेल

मङ्गलबार, ०७ माघ २०७६, १७ : १०
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौं  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले एमसीसी संसदबाट पारित हुने दाबी गरेका छन् । 

उनले भने,‘एक शब्दमा भन्नुपर्दा एमसिसी सदनबाट पास हुन्छ । प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ । प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ । त्यसैले पार्लियामेन्टरी सिष्टममा ह्विप लागुहुन्छ ।’ यद्यपि उनले एमसिसीको कतिपय प्रावधानमा भने आफ्ना रिर्जवेशन रहेको बताए । 

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालमा थुप्रै राष्ट्रका सहयोग र अनुदानका कार्यक्रमहरु चलिरहेकोले ती कार्यक्रमहरु संसदबाट पारित नभएको पनि सुनाए ।

उनले उक्त सम्झौतामा निकै शर्तहरु राखिएको भन्दै असन्तुष्टि पोखे । उनले भने,‘ती शर्तहरु जरुरी छैनन् । अनुदान भनेको त निशर्त दिने कुरा हो । नेपालमा ठूलो भूकम्प आयो, किन ग्रान्ट दिएन् ?’

पौडेलले एमसिसी लागु भएको देशमा गरिबी निवारण नभएको पनि जिकिर गरे । उनले भने,‘नेपालमा पनि भयानक प्रगति हुँदैन । हामी अमेरिकाको ५५ अर्ब नगुमोस् भन्ने पक्षमा छौं । नेपालको विकास र समृद्धिमा यसले सहयोग नै पुर्याउँछ । तर, यसमा उल्लेख गरिएका शर्तहरु जायज छैनन् । यसको बारेमा निकै बहस गर्न जरुरी छ ।’ उनले निशर्त अनुदान भैदिएको भए यति धेरै डिबेट नै हुँदैनथियो भन्ने उनको तर्क छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री भीमसेनदास प्रधानले सभामुखमा उम्मेद्धवारी दिएका अग्नि प्रसाद सापकोटाले कसैको पनि आग्रह र पूर्वाग्रहमा काम गर्न नहुने सुझाव दिएका छन् । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले लामो समयपछि सभामुखको निकास निस्किएको सुनाउँदै नेकपाले योग्य उम्मेद्धवार बनाएको स्पष्ट पारे । उनले भने,‘अब हामीले यसको बारेमा टिकाटिप्पणी गर्न आवश्यक र औचित्य छैन ।’ सभामुख अत्यन्तै महत्त्वपूर्ण पद भएकोले सबैलाई मिलाएर लैजानुपर्ने पनि उनको सुझाव छ । 

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले अग्नि सापकोटा आफ्नो जिल्लाको मान्छे भएकोले सभामुखको कार्यकाल सफल रहोस भन्ने शुभकामना दिएका छन् । उनले भने,‘उहाँ सभामुख भएकोमा म खुशी छु, उहाँ हाम्रै जिल्लाको नेता हो । उहाँलाई बधाई दिन चाहन्छु ।’

एमसिसीको बारेमा अहिले राष्ट्रिय रुपमै चर्चा तथा परिचर्चा भएको सुनाउँदै उनले नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप