केन्द्रीय संस्करण

छाउपडी प्रथा : समाज, धर्म र कानुन

person explore access_timeमाघ ७, २०७६ chat_bubble_outline1

महिनावारी संसारभरि निश्चित उमेर समूहका सबै महिलाहरुमा हुने शारीरिक तथा जैविक प्रक्रिया हो । यसो भए पनि यसप्रति बनाइने दृष्टिकोण, मूल्य, मान्यता, बुझाइ र गरिने व्यवहार विभिन्न देश, समाज र संस्कृतिअनुसार फरक फरक भएको पाइन्छ । महिनावारी हुँदा महिलाको यौनाङ्गबाट करिब ४ दिनसम्म रक्तस्राव हुन्छ । महिनावारी किशोरावस्था (करिब ११–१५ वर्ष) बाट सुरु भई करिब ४२ वर्षसम्म रोकिन्छ ।

यसरी रक्तश्राव हुनुलाई रजस्वला हुनु, मासिक धर्ममा हुनु, महिनावारी हुनु भनिन्छ । महिनावारी १ महिनामा करिब १ चोटि गरी १ वर्षमा करिब १३ पटक हुन्छ । एकजना महिला आफ्नो जीवनकालको करिब ३० वर्ष अवधिसम्म महिनावारी हुन्छिन् । यो समय महिलाको सबैभन्दा सक्रिय जीवन अवधि पनि हो । महिलाले मासिक धर्म करिब ७ दिनसम्म बेहार्नुपर्छ । तीस वर्षको अवधिमा एक जना महिला करिब ३९० पटक महिनावारी हुन्छिन् ।

यसरी महिनावारी हुँदा उनले करिब २,७३० दिन वा करिब आठ वर्ष आफ्नो जीवनकालमा मासिक धर्मको पालना गर्नुपर्छ । यसका अलावा प्रसूति अवस्थामा पनि करिब ११ दिनसम्म महिनावारीसरह निश्चित नियम पालना गर्नुपर्छ । नेपाली महिलाको औसत आयु करिब ७१ वर्ष छ । सक्रिय उमेरको करिब ८ वर्ष अवधि महिनावारीले ओगट्नु आफैमा मननीय कुरा हो । अक्सफोर्ड विश्वविद्यालय प्रेसबाट प्रकाशित जर्नलमा वेथान हिन्ड्सन (सन् २००९) उनको आलेखमा भन्छन् यद्यपि इतिहासकार र समाजशास्त्रीहरुले यस विषयलाई स्वाभाविक र सामान्यरूपमा लिई अध्ययन र शोधको विषय बनाएनन्, जबकि बीसौँ शताब्दीको मध्यसम्म पनि महिनावारी हुनुको कारणले महिलाहरु सामाजिक, सांस्कृतिक र धार्मिक कुरीतिको सिकार बनिइरहिन् । 

नेपालको कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा महिनावारी हुनुलाई छाउ हुनु, पर सर्नु, टणिनु, पाखा लाग्नु, बाहिर हुनु, नछुने हुनु भनिन्छ भने महिनावारी भएकी महिलालाई छाउपडी भनिन्छ । 

छाउपडीलाई घरदेखि टाढा अलग्गै बसोवास गराइन्छ । छाउपडी बस्ने ठाउँलाई छाउगोठ वा छाउखुल्लो भनिन्छ । प्रायः छाउगोठ वा छाउखुल्लो गोठभन्दा पनि जीर्ण, साँघुरो, अध्यारो, ओसिलो र असुरक्षित हुन्छ किनकि यो अस्थायी प्रकृतिको र घरबाट टाढा हुन्छ । जङ्गली तथा पाल्तु जनावर, सर्प, किरा सहजै भित्र छिर्न सक्ने हुन्छन् । त्यसैले छाउपडी महिलाहरु सर्पदंशबाट अकालमा ज्यान गुमाइरहेका छन्, दीर्घ रोगी बनिरहेका छन् । छाउगोठभित्र निसास्सिएर गला घोटेर प्राणपखेरु त्यागिरहेका छन् । बलात्कृत भइरहेका छन् । उनीहरुले सम्मानपूर्वक बाँच्न पाउने हकको आफूजस्तै बलात्कृत हुनुपरेको अवस्थालाई टुलु–टुलु हेर्नुपरेको छ । 

यस्तो अवस्थामा यहाँ छाउगोठ भत्काइँदैछन्, वर्षाैंदेखि तर छाउपडी प्रथा जस्तोको त्यस्तै छ, अटल छ । यहाँ छाउगोठको भौतिक आधारहरु माथि आक्रमण गरिँदैछ जसले गर्दा छाउपडी अझै दर्दनाक, अमानवीय, अकल्पनीय पीडा बेहोर्दैछिन् किनकि उनी अब छाउगोठको सहाराबाट खुला आकाशको भरोशामा उत्रिएका छन् ।  यद्यपि वर्षाैंदेखिको छाउगोठ भत्काइने नित्यकर्म अजस्र चलिरहेको छ तर छाउगोठको गुँढगम्यको गमन तथा अन्तर्य खोज्न लागिपरिएको छैन । 

यहाँ छाउपडीको यस्तो हाललाई छाउपडी प्रथा करार गरिन्छ । छाउपडी कुप्रथा भनिदैन तर यसलाई फौजदारी अपराध दर्ज गरिन्छ । देशी तथा विदेशी मूलधारका पत्रपत्रिकाले यसलाई हिन्दु धर्मजनित कुप्रथाका रूपमा चित्रण गरेका छन् । यहाँ छाउपडी प्रथालाई प्रथा मान्नेको ठूलो झुण्ड छ जुन झुण्ड सामाजिक निर्णयमा निर्णायक भूमिका लिन्छ । उनीहरु छाउपडी प्रथाका धेरै सकारात्मक पक्ष भएको देख्छन् । त्यसो हो भने सकारात्मक पक्षहरुको निक्र्याैल गरी नकारात्मक पक्षहरुको उन्मूलन गर्न किन आवश्यक कदम चालिइदैन ? यदि यो हरहालत र हरतरहले कुप्रथा हो भने पनि यसलाई सबैको मानसपटलमा त्यही कुरा सञ्चारित गर्न किन सकिएको छैन ? यससँग सम्बन्धीत सकारात्मक पक्ष तथा नकारात्मक पक्षहरुको चिरफार किन गरिइँदैन ? 

यहाँ महान् सामाजिक चिन्तक गायत्री चक्रवर्ती स्पिभाकलाई उद्घृत गर्नु सान्दर्भिक हुनजाला । उनले भनेकिछिन् तत्कालीन औपनिवेशिक शक्तिले सती प्रथालाई भारतबाट उन्मूलन त गर्याे तर यससँगै सम्पूर्ण भारत वर्षको सभ्यतालाई कमसल तथा अविकसित करार गरिखियो । यस भनाइलाई छाउपडी प्रथा उन्मूलन गर्ने अभियानसँग दृष्टिगत गर्दा छाउपडी प्रथालाई आधार बनाई सामाजिक तथा सांस्कृतिक अतिक्रमण गर्ने तानावाना पनि हुनसक्छ भनी संसय राख्ने ठाउँ पनि छ ।

यस्तै किसिमको सन्दर्भमा स्पिभाक आगे भन्छिन्, निमुखाहरुका सवाल तथा समस्याहरु निमुखा स्वयंले प्रतिनिधित्व गर्नुपर्छ ताकि ती समस्या तथा सवालहरु वास्तविक रूपमा प्रतिनिधित्व होऊन्, प्रतिविम्बित होऊन् । यदि ती सवाल तथा समस्याहरु बाहिरियाहरुले प्रतिनिधित्व गर्दा वास्तविक स्वरूपमा नभई विकृतरूपमा सञ्चारित हुन्छन् किनकि तिनीहरु ती सवाल तथा समस्याहरुलाई आफ्नो दृष्टिकोणले व्याख्या गर्छन् वा बुझ्छन् । वास्तविकताको गहिराइमा पुग्न चाहँदैनन् वा सक्दैनन् । त्यो वास्तविकतालाई प्रतिनिधित्व गर्ने एजेन्सी तिनीहरुमा विकसित भएको हुँदैन । यस मान्यतालाई आधार मानी भन्न सकिन्छ कहीँकतै छाउपडी प्रथाको वास्तविक स्वरूपहरु, त्यस पछाडिको वास्तविक कारक तत्वहरु र सामाजिक मनोविज्ञानलाई अवास्तविक तथा फरक ढङ्गले बुझिएको, प्रतिनिधित्व गरिएको, चित्रण गरिएको पनि हुनसक्छ । 

छाउपडी र समाज
सुदूरपश्चिम तथा मध्यपश्चिमकी एक शिक्षाशास्त्रमा स्नातकोपाधि अविवाहित युवतिले भनिन् “मानवको योनीमा महिला भएर महिनावारीको पीडा सहनुभन्दा त चौपाया जातिमा बहर भएर जन्मनु नै बेस ।” उनले यसरी किन भनिन् होला भनेर मैले त्यस क्षेत्रकै अङ्ग्रेजी साहित्यमा स्नातकोपाधि विवाहित महिलालाई सोधे, के ती यवतिले छाउ हुँदाका बखत बेहोर्नपर्ने कुरीतिजन्य पीडाले हो वा अरू कुनै कारणहरुले पनि ? उनले भनिन् छाउसँग जोडिएका कुरीतिजन्य व्यवहारको पीडाहरु त छँदैछन् । छाउ अवधिमा एक महिलामा मानसिक रूपमा बदलाव आउँछ । मानसिक अवस्थामा आउने परिवर्तनले पनि थप पीडा बेहोर्नुपर्छ । छाउ अवधिमा महिलामा प्रायः अरू दिनभन्दा मानसिक तनावमा हुिन्छन्, जसले गर्दा थप पीडा बेहोर्नुपर्छ । 

प्रिसेटन विश्वविद्यालयकी प्राध्यापक तथा महिलावादी चिन्तक लुवा टाइसन उनको “नारीवादी समालोचना” लेखमा भन्छिन्, पुरुषप्रधान समाजमा व्याप्त पुरुषवादी चिन्तन तथा व्यवस्थाबाट टाढिनु मुस्किल छ । उनी अगाडि भन्छिन्, पुरुषप्रधान समाजमा कोही महिलाहरु पुरुषवादी चिन्तन र व्यवस्थासँग यतिसम्म ‘प्रोग्राम्ड’ भइसकेकिहुन्छिन् कि पुरुषवादी प्रधानता, पुरुषवादी चिन्तन र व्यवस्थालाई उनी आफ्नै चिन्तन र व्यवस्था मान्छिन् जबकि ती पुरुषवादी चिन्तन र व्यवस्था महिलाहरुप्रति चरम विभेदपूर्ण हुन्छन् ।

यस्तो मानसिक अवस्था भएका महिलाहरुलाई टाइसनले ‘प्य्राट्रियार्कल–विमन’ भनेर नाम दिइन् । ती ‘प्य्राट्रियार्कल विमन’ पुरुषवादी चिन्तन लागू गर्न सहायकसिद्ध हुन्छिन्स महिलाहरु माथि भएको विभेदको पत्तो नै पाउँदिनन् किनकि ती त पुरुषवादी चिन्तनमा अन्तरघुलित भइसकेकी हुन्छिन् । तिनीहरुमा महिला विभेदप्रतिको चेत मरिसकेको हुन्छ । टाइसन महोदयको यो अवधारणालाई हाम्रो अवस्थामा सापटी लिई व्याख्या गर्ने हो भने कतै हाम्रो समाजमा पनि ‘प्य्राट्रियार्कल–विमन’ मौजुद त छैनन् जसले छाउपडी प्रथालाई सहर्ष स्वीकार गरी सामाजिक व्यवस्थामा लागू गर्न सघाउपुर्याइरहेकी छिन ।

हाम्रो समाजको आमा तथा बज्यै पुस्तालाई ‘प्य्राट्रियार्कल–विमन’ मान्न सकिन्छ । उहाँहरुमध्ये धेरैजसो महिलाहरुलाई गरिने विभेदपूर्ण व्यवहार र व्यवस्थाहरुप्रति कुनै संसयसमेत व्यक्त गर्न सक्नुहुन्न किनकि उहाँहरु ती व्यवहार तथा व्यवस्थाहरुलाई स्वाभाविक तथा सामान्यरूपमा लिनुहुन्छ, आत्मसाथ गर्नुहुन्छ बरु मासिक धर्म पालना गर्नु आफ्नो कर्तव्य भएको भनी गर्वका रूपमा लिने गर्नुहुन्छ । विकसित यस मनोभावनाप्रति उहाँहरुको रत्तिभर दोष हुँदैन किनकि यो मनोचेतको विकास पुरुषप्रधान समाजको उपज हो । यो विषय सोचनीय हुनसक्छ कि राज्य तथा यस प्रथासँग सम्बन्धीत अभियानकर्मीहरु विभिन्न खालका गतिविधि सञ्चालन त गर्छन् तर उनीहरु यस दृष्टिकोणबाट छाउपडी प्रथालाई दृष्टिगत गर्छन् कि गर्दैनन् । 

व्यक्तिगत उदारवादका विरुद्धमा विकसित कम्युनिटिरेयन सिद्धान्तका एक प्रतिपादक पिटर सच भन्छन्, समाजमा व्यक्तिगत हित तथा स्वतन्त्रता सामाजिक हितभन्दा गौण हुनुपर्छ ताकि समाजमा अमनचयन कायम रहिरहोस् । सच महोदयले भन्नु भएजस्तै छाउपडी प्रथा कैयौँले एक वर्गको समस्या हो सम्पूर्ण सामाजको समस्या होइन भनी मान्दछन् । त्यसैगरी कतिपयले छाउपडी प्रथालाई अनुसरण नगर्दा समाजमा महामारी फैलिने, प्राकृतिक प्रकोप आइलाग्ने भनी विश्वास गर्दछन् । छाउपडी प्रथालाई त्याग्न नसक्नुमा यस प्रथासँग जोडिएको सामाजिक हितको विश्वासले पनि हुनसक्छ । त्यसैले सम्पूर्ण सामाजिक हितका लागि छाउपडी प्रथा प्रचलनमा रहिरहेको हुनसक्छ ।

सामाजिक प्रकार्यवादका मूर्धन्य व्यक्तित्व टाल्कन पार्सन भन्छन्, समाज एक जटिल पद्धति हो । यो जटिल पद्धति समाजमा रहेका कानुनी, आर्थिक, धार्मिक, राजनीतिक जस्ता उपपद्धतिहरुको संयोजन र सहयोगमा बनेको हुन्छ । उपपद्धतिहरुले समाजका आवश्यक उद्देश्यहरुको परिपूर्ति गरिरहेका हुन्छन् । कुनै एक उपपद्धतिमा आएको परिवर्तनले सम्पूर्ण समाजिक पद्धति नै खलवलिनपुग्छ । जुन समाजमा उपपद्धतिहरुका बिचमा परिवर्तन भइरहन्छ त्यस्ता समाजहरु अस्थिर हुन्छन् । छाउपडी प्रथा यहाँ एक सामाजिक पद्धतिको कडी हो । यसमा आएको परिवर्तनले समग्र जटिल सामाजिक पद्धतिमा नै फेरबेदल आउनेहुन्छ । यस अर्थमा छाउपडी प्रथालाई एकल दृष्टिकोणबाट मात्र हेरिनु र व्याख्या गरिनु त्रृटिपूर्ण हुनजान्छ किनकि यो प्रथा एक सामाजिक उपपद्धतिको रूपमा रहेको छ । यसलाई समाजबाट उन्मूलन गर्न खोज्नु भनेको समाजमा व्याप्त उपपद्धतिहरुसँगको यसको सहसम्बन्ध तथा सहकार्यलाई टुटाउनु वा शून्य बनाउनु हो । सामाजिक उपपद्धतिमा रहेको छाउपडी प्रथालाई उन्मूलन गर्न खोज्दा सिर्जित हुने शून्यतालाई सन्तुलनमा ल्याउनु एक जटिल कार्य हो । यसर्थ यस प्रथालाई हटाउन समाजका हरेक उपपद्धतिहरुसँगको समन्वय र सहकार्यको दरकार छ । 

छाउपडी र धर्म 
फोरेन पोलिसी डट कममा सोफी कजनको ‘हिन्दु छाउपडी प्रथा ः जोखिम र जघन्य’ शीर्षकमा जनवरी ६ तारिखमा प्रकाशित फिल्ड रिपोर्ट पढियो । विगत सन् २००० देखि यस्ता शीर्षकका समाचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दैनिकमा छापिँदै आएका छन् । मनमा धेरै कौतुहलता आइरहन्थे । के यो हिन्दजनित प्रथा हो ? के राज्य तथा गैससले लिएका उपाय र स्रोतहरु उपयुक्त र यथेष्ट छन् ? के छाउपडी प्रथालाई मिहिन गहन र विस्तृत ढङ्गले अध्ययन गरिएको छ ? यस्तै यस्तै । जेसुकै भए पनि म यो प्रथा एकल कारण जस्तै धर्म वा अन्धविश्वास वा संस्कृति कुनै एकको उपजको रूपमा मात्र मान्न तयार थिएन । राज्य तथा गैससले छाउपडी प्रथा उन्मूलन गर्न धेरै साधन स्रोतको लगानी गरिसकेको छन् तर यो प्रथा निरन्तर चलिरहेको छ । 

फ्रेन्च मानवशास्त्री लेभी स्ट्रउसले एसिया, अफ्रिका, अमेरिका लगायत महादेशका विभिन्न देशहरुमा प्रचलित पौराणिक कथाहरु (मिथ) को अध्ययन गरिन् र उनको अध्ययनले संसारका विभिन्न देशहरुमा प्रचलित मिथहरुमा न्यूनतम समानता रहेको निक्र्याैल गर्याे । जसलाई उनले मिथिम भनेर नाम दिइन् । यस आधारमा भन्न सकिन्थ्यो कि छाउपडी प्रथा नेपालको अथवा विशेष गरी कर्णाली र सुदूरपश्चिम क्षेत्रमा मात्र व्याप्त प्रथा होइन बरु यो त संसारभरि नै रहेको प्रथा हो भलै यससँग जोडिएका कुरीतिको स्वरूप र मात्रा फरक–फरक हुनसक्छ । 

यसैक्रममा एम गुटरम्यान, पी मेहता, र एम गिब्सले विश्व स्वास्थ्य र सामाजिक राजनीति विद्युतीय जर्नलमा सन् २००७ मा ‘महिनावारीसँग सम्बन्धीत कुरीति र विश्वका प्रमुख धर्महरु’ शीर्षकको लेख पढेँ । उनीहरुले त्यो लेखमा भनेका छन्, ‘अपवादबाहेक संसारका सबै प्रमुख धर्महरुले महिनावारी भएकी महिलालाई विभिन्न किसिमले वर्जित गरिएको छ । यहुदी, क्रिस्चियन, इस्लाम, हिन्दु, बौद्धमार्गीहरु सबैले महिनावारी सम्बन्धी आफ्ना विचार बनाएका छन् । ती विचारहरुले महिलाहरु माथि विभिन्न कुराहरुमा बन्देज लगाइएको छ । ती बन्देजहरुमा महिनावारी भएकी महिलाहरुले पुरुषलाई छुन नदिने, खाना पकाउँन नदिने, पूजापाठ गर्न नदिनेदेखि मानव बस्तीदेखि टाढा बस्नुपर्ने सम्म छन् ।’ 

प्राचीन आदिवासी धर्म र महिनावारी 
इन्डोनेसियाको हुलाला आदिवासी सम्प्रदायमा महिनावारी भएका महिलालाई गाउँदेखि टाढा महिनावारी भए कि महिलालाई राख्न बनाइएका झुप्रामा राख्ने गरिन्छ, जहाँ ती महिलाहरुलाई शिकार खान बर्जित हुन्छ भने उनीहरुले छुट्टै धारामा नुहाउनुपर्छ । जहाँ पुरुषहरुलाई नुहाउन दिइँदैन । यो सबै उनीहरु पुरुषहरुलाई कुनै हानि नहोस् भन्नाका खातिर गर्ने गर्छन् (होस्किन्स २००२) । 

माली नजिकको उच्च समस्थलीमा रहेको डोङ्गोन जातिका महिलाहरु महिनावारी भएका बेला उनीहरुलाई बनाइको झुप्रोमा बस्नुपर्छ र खेतबारीमा कडा परिश्रम गर्नुपर्छ । तिनीहरुलाई आफै खाना पकाएर खानबाट वञ्चित गरिन्छ । यसैगरी पपुवा न्युगिनीको उच्चसमस्थलीका बस्तीहरुमा महिनावारी भए कि महिलाहलाई बस्न प्रत्येक घरधुरीमा छट्टै झुप्रो बनाउनुपर्ने नियम नै थियो तर आजकल महिनावारी भएकी महिलाहरुले बेहोर्नुपर्ने कुरीति र झुप्रोमा बस्नुपर्ने प्रथा उन्मूलन भइसकेको छ । (स्टे«वार्ट र स्ट्याटहर्न, २००२) । 

यहुदी र महिनावारी
यहुदीहरुमा महिनावारी भएकी महिलालाई दुई पुरुषहरुको बीचबाट हिँड्न बर्जित छ । महिनावारी भएकी महिला दुई पुरुषको बीचबाट हिँडेमा ती पुरुषहरुबीच झगडा हुने वा त्यो हिँडाइ महिनावारी भएको सुरुको दिनको रहेछ भने मृत्युको कारण बन्छ भन्ने अन्धविश्वास छ । (स्टेनबर्ज, १९९६) । महिनावारी हुँदाका बखतको रक्तश्राव मात्र नभई महिनावारी भएका महिलाहरु वरिपरिको वायु पनि प्रदूषित हुन्छ भन्ने विश्वास गरिन्छ । 

इसाई र महिनावारी 
धेरैजसो इसाई सम्प्रदायले महिनावारीसम्बन्धी खास रीत तथा नियमहरु पालना त गर्दैनन् तर पाश्चात्य संस्कृतिको सुरुवाती समयमा महिनावारी भएकी महिला खतरनाक हुने विश्वास गरी उनीहरुमाथि सामाजिक प्रतिबन्ध लगाइन्थ्यो । सन् १८७८ मा ब्रिटिस मेडिकल जर्नलले महिनावारी भएकी महिला बङ्गुरको मासु गन्हाउने कारण हुनसक्छन् भनी दावा गरेको थियो (ह्विलान, १९७५) । यसैगरी क्याथोलिक क्यानन कानुनले महिला वा बालिकाहरुलाई चर्चको प्रार्थनासम्बन्धी ‘सेमी–ससडउटल’ भूमिकामा रहन बर्जित गरेको छ । 

रुढीवादी रसियन इसाई समाजमा पनि महिनावारीसम्बन्धी कुरीतिहरु रहेको पाइन्छ । ती समाजमा महिनावारी भएका महिलाहरुले घरदेखि टाढा साँघुरो झुप्रोमा एक्लो बस्नुपर्छ । तिनीहरु चर्चमा हुने कुनै

क्रियाकलापमा सामेल हुदैनन् र पुरुषहरुलाई समेत छुँदैनन् । यसका अलावा काँचो र पाक्य खाद्य सामग्रीहरु समेत छुँदैनन् । महिनावारी भएकी महिलाले रिसले घुरेर हेर्दा मौसममा समेत परिवर्तन आउँछ भन्ने विश्वास गरिन्छ (मोरोउ, २००५) । 

इस्लाम र महिनावारी
इस्लाममा पनि पुरुषहरु महिनावारी भएकी महिलाबाट टाढा हुनुपर्छ भन्ने धारणा व्याप्त छ । महिनावारी भएकी महिलालाई धार्मिक अनुष्ठानमा भाग लिन बर्जित छ । महिनावारी भएकी महिला मस्जिदमा जाने, कुरान पढ्ने, रमादानमा व्रत बस्ने गर्दिनन् (फिस्कर, १९७८, म्यागहेन, १९९९) । 

हिन्दुधर्म र महिनावारी 
हिन्दु धर्म परम्परा महिनावारी भएकी महिलालाई अशुद्ध वा प्रदूषित मान्दछ । महिनावारी भएकी महिलालाई घरभन्दा टाढा झुप्रोमा बसालिन्छ । उनीहरुलाई खाना पकाउँन, पानी छुन, फलफूलहरुलाई छुन, पूजा गर्न, मन्दिर जान बर्जित हुन्छ (फुर्थ र सुरेश, १९९२) । महिनावारीका दिनपछि भने फेरि महिलाहरुलाई सामान्यरूपमा लिइन्छ । 

बौद्ध धर्म र महिनावारी
बौद्ध धर्ममा महिनावारी महिलाहरुमा प्राकृतिक रूपमा महिनाको एक चोटि हुने शारीरिक तथा जैविक प्रक्रियाका रूपमा लिइन्छ (बौद्ध धर्म शिक्षा एसोसियन, २००४) । जेभए पनि हिन्दु परम्परा र अभ्यासले बौद्ध धर्मका सम्प्रदायमा केही प्रभाव पारेको देखिन्छ । ताइवानमा महिनावारी भएकी महिलालाई अशुद्ध मानिन्छ । जपान र चीनमा समेत महिनावारीसम्बन्धी विभिन्न कुरीति रहेका पाइन्छन् (ल्हामो, २००३०) । 

उल्लेखित विश्वका प्रमुख धर्महरुमा महिनावारीसम्बन्धी धारणाहरुमा धेरै हदसम्म समानता देखिन्छ । यद्यपि व्यावहारिक जीवनमा तिनीहरुको प्रयोगको स्वरूप र मात्रामा अधिकतर रूपमा भिन्नता पाइन्छ । धार्मिक अवधारणाको कारणले नै महिनावारीसम्बन्धी कुरीतिहरु समाजमा व्याप्त छन् भन्न सकिने अवस्था भने देखिँदैन । 

छाउपडी र कानुन 
मानव अधिकारसम्बन्धी मुख्य नौ अन्तर्राष्ट्रिय महासन्धिहरुको नेपाल पक्ष राष्ट्र हो । ती महासन्धिहरुको पक्ष राष्ट्र भएकाले नेपाल भेदभावजन्य, अपमानजनक व्यवहारविरुद्ध कानुन निर्माण गरी लागू गर्न बाध्य छ ।

नेपालको संविधानको मौलिक अधिकारअन्तर्गत भेदभाव तथा अपमानजनक व्यवहारविरुद्धको अधिकारको व्यवस्था गरेको छ । नेपालको सर्वाेच्च अदालतले विसं । २०६२ सालमा निर्णय नं ७५३१ मा नेपाल सरकारको नाममा परमादेशसहितको फैसला गरेको छ । महिनावारीसम्बन्धी कुरीतिजन्य व्यवहारलाई मुलुकी फौजदारी संहिता ऐन २०७४ ले कसुरमा दर्ज गरेको छ । उक्त कानुनमा छाउपडी सम्बन्धी कसुर गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । 

कस्ता मानव व्यवहारहरुलाई अपराधीकरण गर्ने भन्नेबारे अपराधशास्त्रका विभिन्न सिद्धान्तहरुका आफ्न–आफ्नै मान्यता रहेकाछन् यद्यपि ती सिद्धान्तहरुमा एक मान्यता भने समान रहेको पाइन्छ ः उदारवादी अपराधशास्त्रीय सिद्धान्तका प्रवर्तक एन्ड्रिज भोन हिल्र्च महोदय भन्नुहुन्छ, अपराधजन्य मानव व्यवहारहरुलाई नियन्त्रण गर्न समाजले नैतिक, धार्मिक, सांस्कृतिक, सामाजिक विकासमूलक उपायहरु अवलम्बन गर्नुपर्छ । ती सबै उपायहरु पूर्ण असफल भएपश्चात मात्र त्यस्ता व्यवहारहरुलाई अपराधीकरण गर्नुपर्छ तर अपराधजन्य मानव व्यवहारहरु नियन्त्रण गर्न कानुनलाई अन्तिम अस्त्र÷उपायका रूपमा भने लिनुहुँदैन । 

कानुनको कार्यान्वयन फितलो र न्यून भएको हाम्रो जस्तो देशमा त झन कानुन अन्तिम शस्त्र÷उपाय बन्ने कुरामा संसय छ । यसै सन्दर्भमा फौजदारी कानुनका व्याखाता प्राडा. रञ्जितभक्त प्रधानाङ्ग भन्छन्, नेपालमा करिब ७०० भन्दा बढी कानुनहरु बनेका छन् जुन कानुनका बारेमा सर्वाेच्च अदालतका न्यायाधीशहरु समेत अनभिज्ञ छन् । ती कानुनहरुको प्रयोग र कार्यान्वयन न्यूनरूपमा भएको छ । 

छाउपडी प्रथालाई न्यूनीकरण गर्न राज्यले सामाजिक, सांस्कृतिक, नैतिक, धार्मिक, चेतनामूलक विकासका यथेष्ट मोडलहरु कुन हदसम्म अबलम्बन गर्याे ? के राज्यले सबै मोडलहरु असफल भइसकेपछि छाउपडी प्रथा उन्मूलनका लागि अन्तिम अस्त्रका रूपमा यस प्रथालाई अपराधीकरण गरी कानुनको सहारा लिएको हो ? के त्यसो भए छाउपडीसम्बन्धी कानुनको पूर्ण कार्यान्वयन भई छाउपडी प्रथा उन्मूलन हुने अवस्थामा छ ? के छाउपडी प्रथाविरुद्ध बनेका कानुन अन्तिम अस्त्र सावित हुनेछन् ? 

छाउपडी प्रथा, सामाजिक मान्यता र अन्धविश्वास 
डिबोरा विनस्लो (१९८०) “श्रीलङ्कामा पहिलो महिनावारीसम्बन्धी अनुष्ठान” शीर्षकको लेखमा कुनै किशोरी श्रीलङ्कामा पहिलो पटक महिनावारी हुँदा गरिने रीतअनुष्ठानको बारेमा व्याख्या गर्छन् । जुन अनुष्ठानमा ती महिनावारी भएकी किशोरीलाई नयाँ वस्त्र तथा मिष्ठान्न भोजन र दक्षिणा दिइने कुरा सविस्तार व्याख्या गर्छ । यस्तै परम्परा कर्णाली र सुदूरपश्चिम क्षेत्रका धेरै ठाउँमा पनि रहेको छ । कुनै छोरी–चेली पहिलो पटक महिनावारी÷छाउ हुँदा छाउ भएको चौथो दिनमा नयाँ वस्त्र उपहार दिने तथा मिष्ठान्न भोजन गराउने प्रचलन रहेको छ ।

अचम्मको कुरा त महिनावारी हुँदा खुसी भई उपहार र मिष्ठान्न दिने समाजमा किन त्यसपछिका महिनावारी हुँदा छिछि र दूरदूर (हरिश आर सन् २०१६०) गर्छन् ? उनको “समाजमा अन्धविश्वास र तिनीहरुलाई हटाउने उपायहरु” लेखमा भन्छन्, अन्धविश्वास निश्चित कालखण्ड र परिस्थितिमा उब्जिन्छन् । समाजमा व्याप्त अन्धविश्वास तिनै कालखण्ड र परिस्थितिसँगै व्याख्या गर्नुपर्छ, जुन तरिकालाई उनले डिबङ्क गर्नु भने । अधिकारकर्मी बबिता बस्नेत पनि हरिश आरकै लयमा भन्छिन् “जङ्गली युगमा समाज पितृसत्तात्मक थियो, यद्यपि महिलाहरुलाई महिनावारी हँुदा शिकार खेल्न बर्जित थियो । उनीहरु निश्चित तोकिएको ठाउँमा बस्नुपथ्र्याे किनकि महिनावारी हुँदा हुने रक्तश्रावको बास्नाले जङ्गली जनावरहरुले महिलाहरुलाई आक्रमण गर्थे । त्यो युगमा कपडा थिएनन् । त्यसैले महिलाहरुलाई जङ्गली जनावरहरुबाट बचाउन झुप्रामा राखेर पुरुषहरु शिकार खेल्न जान थाले । तर दुर्भाग्य त्यो झुप्रो छाउगोठ बन्यो एक्काइसौँ शताब्दीमा । यसरी नै महिनावारीसम्बन्धी कुरीतिहरुलाई डिबङ्क गर्नु आजको आवश्यकता रहेको छ । 

महिनावारी भएको चार दिनसम्म खाना पकाउन पनि नपर्ने र शारीरिक सम्बन्धबाट टाढा रहने भएकाले महिलाहरुले खुसी व्यक्त गरेको पनि यदाकदा सुनिन्छ । आजकल जिल्ला, नगर, गाउँपालिकाका मुख्य मुकाम र यस वरपरका क्षेत्रका महिलाहरु क्रमिक रूपमा घरभित्र छुट्टै बसी छाउपडी बार्ने गरेको पाइन्छ, जो सकारात्मक कुरा पनि हो । बढिरहेको साक्षरता दर र जनचेतनास्तरले पनि विगतभन्दा समाज छाउपडीप्रति उदार हुँदै गएको प्रतित भएको छ । यद्यपि अझै पनि दूरदराजका बस्तीमा छाउपडी कुरीतिका कारण नारकीय दर्दनाक जीवन जिउन बाध्य छन् । 

निष्कर्ष 
छाउपडी प्रथा समाजमा व्याप्त अन्धविश्वाससँग सम्बन्धित छ । संसारमा प्रचलित इसाई, इस्लाम, बौद्ध, यहुदी र हिन्दु धर्म, समाज र संस्कृतिमा महिनावारीसम्बन्धी विभिन्न मान्यता र कुरीतिहरु रहेका छन् । मानवीय तथा सामाजिक विकासको स्तर अग्रस्थानमा भएका समाजमा महिनावारीसम्बन्धी कुरीतिहरु नरहेका वा क्रमिक रूपमा हट्दै गएका र सामाजिक विकासको गति धिमा भएका र विकासमा पछि परेका समाजमा महिनावारीसम्बन्धी अझै पनि कुरीतीहरु रहिरहेकाले महिला वर्ग यसको शिकार भइरहेको छ । नेपालको पूर्वी क्षेत्र र सहरी इलाकामा महिनावारीसम्बन्धी कुरीति कम हुनु र कर्णाली तथा सुदूर पश्चिम क्षेत्रमा महिनावारीसम्बन्धी कुरीति बढी हुनु यसको ज्वालन्त उदाहरण हो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 23, 2020, 4:40 a.m. prayag Raj Joshi
    Scholarly article. Please keep it up. And I would llike to request to this author to write about major Chhau( the restrictionperod after child birth) too. Thank you.
  2.  1 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...