मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभामा विधेयक प्रस्तुत

मङ्गलबार, ०७ माघ २०७६, १६ : ०४
मङ्गलबार, ०७ माघ २०७६

कास्की ।  गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा ‘गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक’ पेश भएको छ । सभामा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त विधेयक प्रस्तुत गरेका हुन्  । 

आजको विशेष समयमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले १३औंँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतका भौतिक संरचना निर्माण कार्य सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । पोखरामा सागअन्तर्गत आठ वटा खेल सम्पन्न भएको उल्लेख गर्दै उनले निर्माण गर्नुपर्ने बाँकी कामलाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले निर्मित संरचनाको संरक्षण र उपयोग हुनुपर्ने आवश्यकता औंल्याए ।
 
अर्का सदस्य मीना गुरुङले स्वास्थ्य जनताको मौलिक हक भएको बताउँदै भौगोलिक विकटतालगायतका कारणबाट स्वास्थ्यमा सहज पहुँच पुग्न नसकेको गाउँ बस्तीमा शिविर सञ्चालन गरेर भए पनि स्वास्थ्य सेवा पु¥याउनुपर्ने बताए । अर्का सदस्य धनमाया लामाले विधतायुक्त हाम्रो समाजमा विभिन्न जातजातिका संस्कृतिलाई जगेर्ना गर्दै राज्यले सार्वजनिक बिदा दिनुपर्ने बताए । 

बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य कृष्ण थापा र मेखलाल श्रेष्ठले समसामयिक विषमा सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभाको अर्को बैठक माघ १२ गते १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप