शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा कोरोना भाइरसको प्रकोप : मानिसबाट मानिसमा सर्न थालेपछि नेपालमा पनि सतर्कता

विमानस्थलको हेल्थ डेस्कमा कर्मचारी थपियो
मङ्गलबार, ०७ माघ २०७६, १४ : ४७
मङ्गलबार, ०७ माघ २०७६

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण बेइजिङ र सेन्जेन हुँदै जापान, थाइल्याण्ड र दक्षिण कोरियासम्म विस्तार भएको छ । चिनियाँ पर्यटकहरुको मनग्गे आवागमन हुने नेपालमा पनि कतै त्यो कोरोना भाइरसको संक्रमण आइपुग्ने त होइन भन्ने आशङ्का पैदा भएको छ । अझ चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा चीनमा समेत यसको संक्रमण अझ फैलन सक्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सो भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरेको छ ।


यस प्रकोपबाट ३ जनाको मृत्यु भएको छ भने चीन, जापान र थाइल्याण्डमा गरी २ सय १० जनाको हाराहरीमा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । मानिसबाट मानिसमा सहजै सर्ने भएको कारण नेपालमा पनि कोरोना भाइरस विभिन्न माध्यमबाट आउन सक्ने आशंका गरिन थालिएको छ ।

यो आशंका यस अर्थमा पनि गरिन थालिएको छ कि नेपाल भ्रमण वर्ष २०२० मनाइरहदा चीन लगाएत अन्य राष्ट्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्दो छ । चीनबाट हवाई मार्ग १ र स्थल मार्ग ८ स्थान गरी  ९ ठाउँबाट चिनीयाँ नागरिक नेपाल प्रवेश गर्न सक्छन् ।

नेपालमा पनि कोरोना भाइरस विभिन्न माध्यमबाट आउने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्समा जनशक्ति थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । विमान स्थलको हेल्थ डेक्समा एमडी डाक्टरसहित ६ जना स्वास्थ्यकर्मी थप गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेककुमार लालले बताए । विमानस्थालको हेल्थ डेक्समा कर्मचारी संयोजनको कारण कम स्वास्थ्यकर्मी भएका कारण ६ जना स्वास्थ्यकर्मी थप गरिएको उनले बताए ।

चीन लगायत अन्य देशबाट आउने पर्यटकको विवरण राख्नुका साथै पर्यटकलाई कुनै प्रकृतिको रोग लागेको छ  वा छैन भनेर प्रश्नावली उपलब्ध गराउने उनले बताए । त्यहीँ प्रश्नावलीका आधारमा रोगको पहिचान गरिने उनले बताए ।

चीन लगायत अन्यदेशबाट आएका पर्यटकलाई श्वासप्रश्वाश, रुघाखोकी सम्बन्धी समस्या देखिए तत्कालै विरामीको स्थिती हेरेर उपचारको लागि अस्पताल लगिने उनले बताए ।  चीनबाट  नेपाल भित्रने स्थलगत ८ वटा नाकामा समेत कोरोना भाइरसको बारेमा जानकारी गराइएको उनले बताए ।

‘विमानस्थलको साथसाथै स्थल नाकामा पनि हामीले कोरोना भाइरस संक्रमणको बारेमा सजकता अपनाउन निर्देशन दिएका र्छौँ,’ निर्देशक लालकाअनुसार कोरोना भाइरसको बारेमा विश्व स्वास्थ्य सङ्गठनको सुझावअनुसार अगाडि बढ्ने समेत उनले बताए । यो भाइरसको बारेमा अहिले नै आतिहाल्नुपर्ने अवस्था नरहेको समेत उनले बताए ।

कोरोना भाइरसको संक्रमण हुँदा के हुन्छ ?

डाक्टर विष्णु गौतमका अनुसार कोरोना भाइरसको संक्रमण रोगसँग लड्ने रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसलाई सर्ने गर्छ । चीनमा देखिएको कोरोना भाइरसका बारेमा सबै जना चनाखो हुनुपर्ने  समेत उनले बताए । कोरोना भाइरसले निमोनिया गराउने हुँदा श्वास फेर्न गाह्रो हुने बताए । भाइरसबाट विरामी भएकामा खोकी, ज्वारो र साथै श्वास फेर्न कठिन हुने समस्या देखिने उनको भनाइ छ । श्वासप्रश्वासमा समस्या, रुघा, खोकी र ज्वारो आएर निमोनिया भएको देखिए विरामीले थप उपचार गर्न जरुरी हुने उनले बताए । 

केही दिन अघि नेपालमा पीएचडी गर्न आएका एकजना विदेशी व्यक्तिलाई कोरोना भाइरसको आशंका गरिएपनि त्यो पुष्टी नभएको उनले बताए । नेपालमा कोरोना भइरस संक्रमित भएको अवस्थामा तत्तकाल थाहा पाउन गाह्रो पर्ने उनले बताए । कोरोना भाइरस हो वा होइन भनेर थाहा पाउनका लागि डाइग्नोसिस गर्ने क्षमता नभएको उनले बताए । त्यसका लागि नेपालले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेर ल्याब टेस्ट गराउने उनले बताए । त्रिभुवन विमानस्थलको हेल्थ डेक्सलाई प्रभावकारी  तथा प्रविधिमय बनाउन आवश्यक रहेको समेत उनले बताए ।

कहाँबाट फैलियो कोरोना भाइरस ?

चीनको वुहानमा कोरोना भाइरसको संक्रमण गत वर्षको डिसेम्बर महिनामा पहिलोपटक देखापरेको हो । यो भाइरसको संक्रमण बेइजिङ र सेन्जेन लगायतका विभिन्न चिनियाँ सहरमा फैलिएको छ । हालसम्म चीनमा मात्रै कोरोना भाइरस संक्रमित २ सय जनाभन्दा धेरै विरामीमा देखापरेको छ । अहिले भेटिएको भाइरस सन् २००२–२००३ मा चीन र हङकङमा फैलिएको सार्स प्रकोपको भाइरस कै एक प्रजाति भएको बताइएको छ । सार्सजत्तिनै खतरनाक नभए पनि भाइरसले कुनै समय आफ्नो जिनमा परिवर्तन गर्न सक्ने विज्ञहरुले बताएका छन । सार्सको प्रकोप  ३७ देशमा फैलिएको थियो भने भाइरसको संक्रमणबाट ७५० मारिएका थिए ।

विज्ञहरुले कोरोना भाइरसको संक्रमित सार्वजनिक गरिएको विवरणभन्दा ठूलो संख्यामा हुनसक्ने अनुमान जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप