बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको नाफा ३३ प्रतिशत बढ्यो, बेसरेट घट्दा कर्जा सस्तो

मङ्गलबार, ०७ माघ २०७६, ११ : ४८
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौं । पुस महिनासम्ममा एनआईसी एशिया बैंकको नाफा २ अर्ब नाघेको छ । बैंकले चालु आर्थिक वर्षको छ महिनामा २ अर्ब १ करोड रुपैंया नाफा कमाएको हो । एनआईसी एशियाको यो अघिल्लो वर्षको सोही समयमा कमाएको नाफाभन्दा करिब ३३ प्रतिशत बढी हो । अघिल्लो वर्ष सो बैंकको नाफा करिब डेढ अर्ब थियो । 

बैंकले पुस मसान्तसम्ममा १८६ अर्ब निक्षेप संकलन गरी १६५ अर्ब रुपैंया कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः ६ अर्ब र १५ अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा बैंकको निक्षेप करिब १८० अर्ब र कर्जा १५० करोड रुपैंया थियो ।

पुस मसान्तसम्म बैंकको जगेडा कोष ४ अर्ब ५० करोड रुपैंया छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब ५२ करोड रुपैंयाले मात्रै बढी हो । यो वर्ष १० प्रतिशत बोनस शेयर जारी गरेको बैंकले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ८८ करोडले बढाएर ९ अर्ब ७१ करोड ७६ लाख रुपैंया पुर्याउँदा अघिल्लो वर्षको नबाँडिएको नाफा २ अर्ब ११ करोड रहेको देखिएको छ । 

एनआईसी एशियाले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा उल्लेख्य वृद्धि गरेको छ । ब्याज आम्दानी ४ अर्ब ८१ करोडबाट बढेर ५ अर्ब १४ करोड पुग्दा ब्याज खर्च २ अर्ब ९५ करोडबाट ३ अर्ब ३० करोड रुपैंया पुगेको बैंकले जनाएको छ । बैंकको कर्मचारी खर्च भने स्थिर छ । सो खर्च अघिल्लो वर्ष ६९ करोड ६३ लाख रहेकोमा यो वर्ष ६९ करोड ६५ लाख पुगेको हो । अन्य सञ्चालन खर्च करिब ३ करोड बढेर २८ करोड नजिक रहेको देखिएको छ । 

पुस मसान्तसम्म सो बैंकको पुँजी पर्याप्तता अनुपात १२.०३ प्रतिशत छ । यो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र हो । निष्क्रिय कर्जा अनुपातलाई ०.४५ प्रतिशतबाट ०.२५ प्रतिशतमा झार्न सफल हुनु बैंकको सकारात्मक पक्ष हो । बैंकको यो वर्ष कस्ट अफ फण्ड केही घट्दा त्यसको सकारात्मक असर बेसरेटमा देखिएको छ । पुस मसान्तसम्म सो बैंकको कस्ट अफ फण्ड ६.९९ प्रतिशत र बेसरेट ९.५१ प्रतिशत छ । अघिल्लो वर्ष कस्ट अफ फण्ड ७.१५ प्रतिशत बेसरेट १०.७७ प्रतिशत थियो । भएको बैंक बेसरेटमा कस्ट अफ फण्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैंकको प्रावधान छ । 

बेसरेटमा आएको उल्लेख्य सुधारले बैंकबाट दिइने कर्जाको ब्याजदर यो वर्ष करिब १ प्रतिशत सस्तो हुन पुगेको छ । बैंकको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ५.१० प्रतिशत छ । बैंकले बचत खातामा ४.५ प्रतिशतदेखि ६.५ प्रतिशत र मुद्दति खातामा ८.५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ७ प्रतिशतसम्म थप गरेर लिँदै आएको छ । 

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको जनाएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५% कर्जा लगानी पुर्ण रुपले पालना गरेको समेत बैंकले जनाएको छ । विविधिकरणकै रणनीति अनुरुप बैंकको उच्चतम दस ग्राहकहरुको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ ।

नेपालको सबैभन्दा ठूलो सञ्जाल भएको बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको छ । बैंकको निक्षेप र कर्जाको समेत गरी २१ लाखभन्दा बढी ग्राहक रहेको बैंकको भनाइ छ ।

गत आर्थिक वर्षमा करिब रु ३ अर्ब १५ करोड राजश्व नेपाल सरकारलाई बुभmाएको छ । वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप