भारतीय जनता पार्टीले छान्यो नयाँ नेतृत्व
सोमबार, ०६ माघ २०७६, १९ : १०
एजेन्सी । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय अध्यक्षको जिम्मेवारी नयाँ व्यक्तिलाई दिइएको छ । पार्टीले सोमबार नेता जगत प्रकाश नाडालाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको नेताहरुले जानकारी दिएका छन् ।
उनी विगत ६ महिनादेखि कार्यबाहक अध्यक्षको रूपमा रहेका थिए । तत्कालीन पार्टी अध्यक्ष अमित शाह गृहमन्त्री भएपछि उनले राजीनामा दिएर नाडालाई कार्यबाहक अध्यक्ष बनाइएको थियो ।
नाडा सोमबारदेखि औपचारिक रूपमा भाजपाको ११ औँ अध्यक्ष बनेका छन् । उनी यसअघि हिमाञ्चल प्रदेशको मन्त्रीसमेत भएका थिए । भारतको सत्ताधारी दल भाजपाले आफ्नो दलमा सन् २०१९ सम्ममा १८ करोडभन्दा बढी सदस्यहरू रहेको दावी गरेको छ ।