मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वव्यापी प्रतियोगितामा आठ बालचित्रकला छनोट

सोमबार, ०६ माघ २०७६, १८ : २८
सोमबार, ०६ माघ २०७६

जापानमा हुने ‘मित्सुबिसी एशियाली बालचित्र डायरी महोत्सव २०२०’ का लागि नेपालका आठ बालबालिकाका चित्रकला छानिएका छन् । 

महोत्सवअन्तर्गत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालको सचिवालयको आयोजना र जापानको युनेस्को सचिवालयको सहयोगमा नेपालका सातै प्रदेश र ७७ जिल्लामा ‘यही हो मेरो जीवन’ विषयमा तयार गरिएका चित्रकलामध्येबाट आठ बालबालिकाका चित्रकला छानिएको हो । 

ती चित्र डायरीको घोषणा र दुई दिने प्रदर्शनी उद्घाटनका लागि आज बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले उत्कृष्ट बालबालिकालाई अन्तरराष्ट्रियस्तरको पुरस्कारसमेत प्राप्त गर्न शुभकामना दिए । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर संयोजक रहेको छनोट समितिको निर्णयअनुसार इलामको महमाई आधारभूत विद्यालयका कक्षा ६ का ब्रिसिका तामाङ, पर्साको सिद्धार्थ माविका कक्षा ६ का प्रेममाला यादव, धादिङको गुडस्टार्ट बोर्डिङ स्कुलका कक्षा ४ का अविनाश रेग्मी, काठमाडौँको तरुण माविका कक्षा ४ का भावना भुजेल, नीलबाराही माविका कक्षा ४ का अनुष्का कुमारी, बाँकेको जयबागेश्वरी माविका कक्षा ७ का पूर्णिमा बुढाथोकी, सुर्खेतको जनसेवा माविका सन्ध्या शाही, कञ्चनपुरको बैजनाथ माविका कक्षा ७ का मनिषा गुरुधामी छन् ।

 नेपालको प्रतियोगितामा ६ देखि १२ वर्ष उमेर समूहका २३३ छात्र र २३५ छात्रा गरी ४६८ जना बालबालिकाले भाग लिएको युनेस्को नेपालको सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारीले जानकारी दिए । छानिएका आठै बालबालिकाको बालचित्र डायरी यही माघ १७ गतेसम्म जापानमा पठाइनेछ र त्यहाँबाट हरेक देशका एक प्रतियोगीलाई महोत्वसमा पुरस्कारसहित भाग लिन आमन्त्रण हुनेछ । विजयी बालबालिका र अभिभावकलाई १५ दिनको जापानको अध्ययन भ्रमण हुनेछ । सन् २०२० को मे महिनामा अन्तिम विजयी घोषणा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप