बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अन्ततः बाह्रविसेमा सडकका जग्गा खाली गराइने, यसरी जुट्यो सहमति

सोमबार, ०६ माघ २०७६, १० : ५०
सोमबार, ०६ माघ २०७६

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सहमति जुटेको छ ।

नगरपालिकाले पटक–पटक त्यस्ता संरचना हटाउनका लागि सूचना जारी गर्दै आएका स्थानीय बासिन्दाले माघ १ गते अन्तिम चेतावनीका साथ जारी सूचनालाई समेत अटेर गरेपछि अतिक्रमित सडक खाली गराउनका लागि स्थानीय प्रशासनको सहयोग लिइएको थियो ।

यस क्रममा स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेपछि बजार क्षेत्रमा निषेधाज्ञा नै जारी गर्नु परेको थियो ।

आइतबार साँझ नगरपालिका र स्थानीय बासिन्दाबीच जिल्ला प्रशासन कार्यालयको मध्यस्थतामा भएको छलफलमा अतिक्रमित सडक खाली गर्ने सहमति भएको हो ।

बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार सम्बन्धित वडा कार्यालयमार्फत एक साताभित्र के कति संरचना हटाउने भन्नेबारे प्रतिवेदन तयार पारेर नगरपालिकालाई बुझाइने र सो प्रतिवेदनका आधारमा सडक क्षेत्रमा पर्ने सार्वजनिक जग्गा खाली गर्ने सहमति भएको हो ।


‘नगरपालिकाले धेरै पहिलादेखि नै सूचना जारी गर्दै आएको थियो, अटेर गरेका कारण प्रशासनको सहयोगमा सडकको जग्गा खाली गर्न लागिएको थियो,’ मेयर शेर्पाले भने, ‘हामीले नेतृत्व गर्न पाउनु पर्छ भन्ने चाहना वडाका साथीहरु (वडा अध्यक्षहरु)को रहेछ, सोही अनुसार उहाँहरुलाई जिम्मा दिइएको छ ।’

स्थानीय प्रशासनले बजार क्षेत्रमा लगाएको निषेधाज्ञा पनि सहमति जुटेसँगै हटाइएको छ ।

नगरपालिकाले अरनिको राजमार्गको दायाँ–बायाँ २५ मिटर सडक खाली गराउन लागेको हो । बजार क्षेत्रमा राजमार्गको दायाँ–बायाँ २५ मिटर भित्रै पसलका सामान राख्ने, अस्थायी टहरा निर्माण गर्ने क्रम बढेको भन्दै नगरपालिकाले सडकको अतिक्रमित जग्गा खाली गराउन लागेको हो ।

यस्तै, जिल्लास्तरीय सडक १४ मिटर फराकिलो, नगरस्तरीय सडक १० मिटर फराकिलो, नगरस्तरीय कृषि सडक ८ मिटर फराकिलो हुनुपर्ने मापदण्ड तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप