बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

३० वर्षको पर्खाइ अन्त्य गर्दै लिभरपुल

सोमबार, ०६ माघ २०७६, ०७ : ४१
सोमबार, ०६ माघ २०७६

म्यान्चेस्टर युनाइटेडविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै लिभरपुल लिग उपाधि जित्ने ३० वर्षको पखाइ अन्त्य गर्ने दिशातर्फ अग्रसर बनेको छ । आफ्नो घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको खेलमा लिभरपुलले चिरप्रतिद्वन्द्वी युनाइटेडलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

जीतसँगै लिभरपुलले शीर्ष स्थानमा एक खेल कम खेल्दै १६ अङ्कको फराकिलो अग्रता बनाएको छ । शनिबार भएको खेलमा साबिक विजेता म्यान्चेस्टर सिटी बराबरीमा रोकिएपछि लिभरपुलले त्यसको फाइदा उठाउन सफल भएको हो ।

२२ खेलपछि लिभरपुलको ६४ अङ्क रहेको छ भने दोस्रो स्थानमा रहेको सिटीले २३ खेलबाट मात्र ४८ अङ्क बटुल्न सकेको छ ।

लिभरपुलले खेलको चौधौँ मिनेटमा नै अग्रता लिएको थियो । भर्जिल भान डाइकले लिभरपुललाई अग्रता दिलाएका थिए ।

त्यसपछि भने लिभरपुलले उक्त अग्रतालाई खेलको अन्त्यसम्म बचाऊ गरेको थियो । इन्जुरी समयको अन्त्यतिर मोहमद सलाहले दोस्रो गोल गर्दै लिभरपुलको जीत सुनिश्चित गरे ।

योसँगै सलाहले प्रिमियर लिगमा एकपटकभन्दा बढी सामना गरेका २४ मध्ये २३ टोलीविरुद्ध गोल गर्न सफल भएका छन् । उनले स्वान्सी सिटीविरुद्ध मात्र गोल गर्न सकेका छैनन् ।

यता, लिभरपुल आफ्ना सुरुवाती सबै २२ खेलमा गोल गर्ने आर्सनलपछि दोस्रो टोली बनेको छ । सन् २००१–०२ सिजनमा आर्सनलले सबै लिग खेलमा गोल गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

आइतबार भएकै अन्य खेलमा उपाधि दाबेदार मानिएको लेस्टरसिटी बर्नलीसँग २–१ गोलले स्तब्ध बन्यो । पराजयसँगै २३ खेलपछि लेस्टर ४५ अङ्कसहित लिगको तेस्रो स्थानमा सिमित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप