केन्द्रीय संस्करण

नेपालमा उमेर नपुगी ‘लभ म्यारिज’ गर्ने संख्या बढ्दै, कालान्तरमा युवतीहरुका लागि अभिसाप

person explore access_timeमाघ ५, २०७६ chat_bubble_outline0
File: Prakash Mathema/AFP

–एएफपी न्युज एजेन्सीबाट

एजेन्सी । भर्खरै किशोरावस्था हिँडिरहेकी आशा क्षेत्री कार्की एक दिन घरबाट पढ्न जान्छु भनेर निस्किइन् । तर घरबाट निस्केपछि उनी सिधै प्रेमीकहाँ पुगिन् र दुई जनाले भागेर विवाह गरे ।

आशा कार्की नेपालमा बढ्दो स्वेच्छिक बालविवाह गर्ने बढ्दो प्रवृतिकी एक प्रतिनिधि पात्र हुन् । पछिल्लो समय कम उमेरमै भागेर विवाह गर्ने क्रम बढेपछि नियामक निकाय चिन्तामा परेका छन् ।

‘गाँउमा हामीबारे हल्ला चलेको थियो र यो विषयमा घरमा झगडा पनि भयो । मलाई भाग्नेबाहेक अरु कुनै विकल्प छैनजस्तो लाग्यो,’ कार्कीले सुर्खेतस्थित आफ्नो घरमा पत्रकारसँगको कुराकानीमा भनिन् ।

नेपालले ५० वर्षअघि नै बालविवाहमाथि प्रतिबन्ध लगाएको भए पनि अहिलेसम्म पनि नेपाल विश्वमा सबैभन्दा उच्च बालविवाह हुने देशमध्येमा पर्छ ।

सन् २०१६ को जनसाङ्ख्यिक स्वास्थ सर्वेक्षणअनुसार हाल २५ वर्षदेखि ४९ वर्ष पुगेका महिलामध्ये ५० प्रतिशतको १८ वर्ष पुग्नुअघि विवाह भएको थियो ।

विगतमा नेपालमा हुने अधिकांश विवाह परिवारका सदस्यले मिलाउने विवाह हुन्थ्यो । यस्तो विवाहमा सांस्कृतिक र धार्मिक पक्षलाई सबैभन्दा बढी ख्याल गरिन्छ ।

बालअधिकार अभियानकर्मीका अनुसार कम उमेरमा भागेर ‘लभ म्यारिज’ गर्नेको सङ्ख्या बढेपछि चिन्ता थपिएको छ । वालविवाह अन्त्य गर्न स्थापना गरिएको विश्वव्यापी सञ्जाल ‘गर्ल्स नट ब्राइड्स नेपाल’ले सन् २०१४मा सञ्चालन गरेको एक सर्वेक्षण अनुसार नेपालमा भइरहेको बालविवाहमध्ये एक तिहाई जोडीबीच सहमतीमा हुने भएका छन् । र अझ यस प्रवृतिमा वृद्धि भइरहेको छ ।

‘यो अभ्यासले हामी र सरकारमाथि चुनौती निम्त्याइरहेको छ । बरु आमा–बुवालाई सम्झाउन सकिन्छ तर आफ्नै छनोटले विवाह गर्ने कम उमेरका केटा–केटीलाई सम्झाउन गाह्रो छ,’ ‘गल्स नट ब्राइड नेपाल’की आनन्द तामाङले भनिन् ।

‘आफ्नै भविष्यलाई छलेछु ’

आनन्दका अनुसार जोडीबीच एकआपसमा सहमति भएर हुने बालविवाहमा पनि परिवारले जबरजस्ती गर्ने बालविवाहमा जस्तै जोखिम देखिन्छ । समस्यामा मुख्यतः विद्यालय छाड्ने, घरेलु हिंसा र स्वास्थ्य समस्या देखिन्छन् ।

आनन्दका अनुसार भागेर विवाह गर्दा पहिलो समस्या युवतीले परिवारसँग तिक्त सम्बन्ध बेहोर्नुपर्छ ।

विवाहपछि कार्कीले पनि विद्यालय छाडिन् । पछि उनी श्रीमानको घरको काम र अन्य जिम्मेवारी मा व्यस्त रहनुपर्ने अवस्था आयो । त्यसको केही पछि उनले आफू गर्भवती भएको थाहा पाइन् ।

‘गर्भवती हुदाँ म १६ वर्ष मात्रै भएकी थिएँ । त्यो उमेरमा म त्यसको लागि तयार थिइनँ,’ आफ्नो दुई वर्षको बच्चालाई काखमा लिएकी कार्कीले भनिन् ।

‘मैले अभिभावलाई छलेर विवाह गरेको थिएँ । तर खासमा मैले आफू र आफ्नो भविष्यमाथि छल गरिरहेको थिएँ,’ उनले भनिन् ।

कम उमेरमा बच्चा जन्माउदा शरीर परिपक्व नहुने भएकाले उनलाई आङ खस्ने समस्य भयो । यौनाङ्गबाट पाठेघर बाहिर आउन खोज्ने यो समस्या निक्कै पीडादायी हुनेगर्छ ।

‘निक्कै दुःख पाएँ । म अहिले पनि अक्सर मेरा साथीहरुलाई हेर्छु र विवाह नगरेको भए म कहाँ हुन्थे होला भन्ने कल्पना गर्छु,’ उनले थपिन् ।

नेपाल सरकारले सन् २०३० सम्म बाल विवाह अन्त्य गर्ने राष्ट्रिय योजना अबलम्बन गरेको छ ।

यस योजनामा त्यस्ता विवाहमा संलग्नमाथि कारबाही तथा जरिवानाको प्रावधान छ । तर सरकारी अधिकारी यो योजना समस्याको जरोमाथि प्रहार भए मात्र समाधान हुने विश्वास गर्छन् ।

‘गल्ती भयो ’

केही युवती आफूले मन पराएको भन्दा अरु केटासँग घरले विवाह गरिदिन लाग्दा चाँडै भाग्ने गर्छन् । त्यस्तै केही घरधन्दाबाट उन्मुक्त हुने आशामा र केही भने चाँही आफूभन्दा सम्पन्न युवकको प्रस्ताव अस्वीकार गर्न नसकेका चाँडै भाग्छन् ।

नेपालका गाउँघरमा विवाह अघिको सम्बन्धलाई त्यति नस्वीकारिने भएकाले जोडीहरु कम उमेरमै भाग्नुपर्ने मान्छन् । यसले तिनको सम्बन्धले वैधता पाउँछ । अन्यले भने लुकिछिपी सम्बन्धबाट गर्भ रहेपछि विवाह गर्न बाध्य हुन्छन् ।

उता सरकारी कार्यालयमा भने कम उमेरको विवाहलाई विरलै दर्ता गरिन्छ । अन्तरजातीय विवाहबाट क्रुद परिवारले विवाह टुटाउन आवश्यक ठानेमा बल्ल प्रहरीमा रिपोर्ट गराउँछन् ।

‘मुख्य कुरा शिक्षा हो यौनकार्यमा सहभागी हुन विवाह गरिरहनु पर्दैन भन्ने बुझ्नु महत्त्वपूर्ण हुन्छ ,’ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका कृष्ण प्रसाद भुसालले भने ।

कार्की अहिले आफ्नो अनुभव बाँड्दै कम उमेरकी युवतीलाई सचेत गराउन लागेकी छन् । यसमा लागि उनी ब्रिटिस च्यारिटी भीएसओ नेपालद्वारा सञ्चालित ‘सिस्टर्स फर सिस्टर्स एजुकेसन’मा सहभागी छन् ।

‘चाँडै विवाह गर्ने मेरो निर्णय गलत थियो र त्यस बापत मैले ठूलो समस्या भोग्नु परेको छ तर मलाई आशा छ मानिस मेरो कथा सुनेर चाँडै विवाह गर्नबाट आफूलाई रोक्नेछन्,’ आशाले भनिन् ।

स्रोत : https://www.aljazeera.com/news/2020/01/child-love-marriages-nepal-curse-girls-200117071530907.html

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...