शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ह्यारी र मेगनले अब हिज /हर हाइनेसको सम्बोधन प्रयोग नगर्ने, ३५ करोड फिर्ता गर्ने

आइतबार, ०५ माघ २०७६, ०८ : ३०
आइतबार, ०५ माघ २०७६

राजकुमार ह्यारी र मेगनले अब हिज हर हाइनेसको सम्बोधन प्रयोग नगर्ने र राजकीय काम कारवाहीका लागि सार्वजनिक कोष प्राप्त नगर्ने बकिङ्घम प्यालेसले घोषणा गरेको छ ।

यो जोडीले महरानीलाई आधिकारिक रुपमा प्रतिनिधित्वसमेत नगर्ने बताइएको छ ।

बकिङ्घम राजदरबारले एक वक्तव्य जारी गर्दै ड्युक र डचेज अफ ससेक्सले बेलायतस्थित उनीहरुको घर फ्रोगमोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउन्ड (करिब ३५ करोड रुपैयाँ) समेत फिर्ता गर्ने इच्छा देखाएको जानकारी दिएको छ ।

राजदरबारका अनुसार यो नयाँ व्यवस्था यसवर्षको स्प्रिङ्गदेखि लागू हुनेछ ।

ह्यारी र मेगनले राजदरबारको वरिष्ठ सदस्यको पदबाट बाहिरिने घोषणा गरेपछि गत सोमबार राजदरबारका वरिष्ठ सदस्यबीच उनीहरुको भविष्यको जिम्मेवारीबारे छलफल भएको थियो । सोमबारको उक्त छलफलपछि राजदरबारले यस्तो वक्तव्य जारी गरेको हो ।

गम्भीर निगरानीः

वक्तव्यमा महारानीले भनेकी छिन्, ‘थुप्रै महिनाको कुराकानी र भर्खरै गरिएको छलफलपछि हामीले संयुक्त रुपमा मेरो नाती र उनको परिवारलाई रचनात्मक र सहयोगात्मक मार्ग फेला पार्न सकेकोमा खुसी छु ।’

‘ह्यारी, मेगन र आर्ची मेरो परिवारको सबैभन्दा प्रिय सदस्यको रुपमा रहनेछन्,’ वक्तव्यमा भनिएको छ ।

‘विगत दुई वर्षदेखि गम्भीर निगरानीका कारण उनीहरुले जति चुनौतीको सामना गर्नुपर्‍यो, त्यो म बुझ्दछु र उनीहरुले जसरी स्वतन्त्र भएर जीवनयापन गर्ने निर्णय लिए, त्यो इच्छाको म समर्थन गर्छु ।’

‘देशमा उनीहरुले जे जति गरे त्यसको लागि उनीहरुलाई धन्यवाद दिन चाहन्छु । मेगनले यो परिवारको सदस्यको रुपमा आफूलाई निकै चाँडै भिजाइन्, यसमा लागि उनीप्रति म निकै गौरवान्वित छु ।’

‘आजको यो निर्णयले उनीहरुलाई आफ्नो खुसी र आरामदायी नयाँ जीवन बनाउन सहयोगी भूमिका खेल्नेछ भन्ने कुरामा हामी पूरा परिवार आशावादी छौं,’ महारानीले भनिन् ।

‘उनीहरुले अबदेखि महारानीलाई प्रतिनिधित्व गर्ने छैनन् तर ससेक्सले आफूले गर्ने सबै क्रियाकलापमा हर मेजेस्टीको मूल्य र मान्यतालाई आत्मसाथ गर्ने स्पष्ट पारेका छन्,’ उक्त वक्तव्यमा भनिएको छ ।

‘सेसेक्सले अब उप्रान्त एचआरएच टाइटल प्रयोग गर्ने छैनन् किनभने उनीहरु अब राजपरिवारका सदस्य होइनन् ।’

एचआरएच हिज, हर रोयल हाइनेसको छोटो रुप हो । यो राजपरिवारका सदस्यका लागि प्रयोग हुन्छ ।

यो जोडीको सुरक्षाका लागि कस्तो बन्दोबस्त अपनाइएको छ भन्ने बारे राजदरबारले केही जानकारी नदिने बताएको छ ।

उनीहरुको नयाँ वेबसाइट ससेक्सरोयल डट कममा महारानीको उक्त वक्तव्य अपडेट गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप