शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : शुल्क फिर्ता गर्न मानेनन् मेडिकल कलेजले, चेक धरौटी राखेर ऋण

आइतबार, ०५ माघ २०७६, ०७ : २०
आइतबार, ०५ माघ २०७६

काठमाडौँ । आज माघ ५ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा मेडिकल कलेजको ठगीदेखि मानव तस्करीमा नयाँ रुट प्रयोग गर्न थालिएका समाचारहरु प्रकाशित छन् ।

कान्तिपुर दैनिकमा मिजोरम र म्यानमार हुँदै खाडी लैजाने मानव तस्करीको नयाँ रुट तयार भएको समाचार छ । पछिल्लो समय मानव तस्करले नयाँ–नयाँ रुट प्रयोग गर्दै नेपाली महिलालाई कतार, साउदी अरब, कुवेत, बहराइनलगायत मुलुक पठाउने गरेका छन् । ‘सीमा वारपार गर्न सजिलो भएकाले तस्कारले काठमाडौँ–मिजोरम–म्यानमार रुट प्रयोग गरिएको देखिन्छ,’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसाल भन्छन्, ‘मणिपुर र मिजोरममा नेपालीभाषीको बाक्लो बसोबासका साथै म्यानमारमा समेत नेपाली भाषी रहेकाले विभिन्न बहानामा सीमा वारपार गर्न सजिलो भएको देखिन्छ । दिल्ली विमानस्थलमा अध्यागमनलाई कडाइ गरिँदै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अनिर्वाय गरिएको छ । पछिल्लो समय दलालले पैदल मार्गबाट म्यानमार पु¥याउने, श्रीलङ्का ट्रान्जिट बनाएर खाडी तथा मध्यपूर्वका देश पु-याउने काम हुँदै आएको उनको भनाइ छ । म्यान्मारको टमु क्षेत्रमा सन् २०१५ अक्टोबरमा अध्यागमन कार्यालय स्थापना गरिएको थियो । म्यान्मारले अनलाइनमार्फत् अनअराइभल भिसासमेत दिन थालेपछि यो रुटको प्रयोग गर्न थालिएको हो ।

सोही पत्रिकामा राष्ट्रियसभा चुनावले प्रदेश २ मा सरगमी बढाएको समाचार छ । प्रदेशमा सरकार चलाइरहेका समाजवादी पार्टी र राजपा प्रदेशसभाका विपक्षी दलसँग अलग–अलग गठबन्ध बनाएर चुनावी प्रचारमा होमिएका छन् । नेकपा–राजपा गठबन्धनमा बहुमत रहे पनि काँग्रेस–समाजवादी गठबन्धनसँग फराकिलो मतान्तर छैन ।

त्यसैले नेकपा–राजपा आफ्नो मत सुरक्षित राख्ने प्रयत्नमा देखिन्छन् भने अर्को गठबन्धन मतदाता खोस्ने दाउमा छन् । प्रदेशगत रुपमा हुने राष्ट्रियसभा चुनावमा प्रदेशसभाका सदस्य नगरपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता छन् । यसअघि प्रदेश २ बाट निर्वाचित राष्ट्रियसुभाका ८ जनामध्ये चारजनाको दुई वर्षे कार्यकाल सकिन लागेकाले माघ ९ गते निर्वाचन हुँदै छ । बाँकी ६ वटा प्रदेशमा पनि रिक्त हुन लागेका १४ पदका लागि त्यही दिन निर्वाचन हुने हो । अन्य प्रदेशमा नेकपाको सहज बहुमत छ । प्रदेश दुईमा नेकपा र राजपाको गठबन्धनको मतभार ५ हजार २०२ र काँग्रेस र समाजवादी गठबन्धनको मतभार ४ हजार ७४६ रहेको छ । अन्यको मतभार ८४ रहेको छ ।

नागरिक दैनिकमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–४ थानकोटका विनय लामिछानेले ऋणले अत्तालिएपछि पत्नीसँग सल्लाह गरी सामूहिक आत्महत्याका लागि परिवारै त्रिशूली नदीमा हेलिएको बताएको समाचार छ । खोलबाट सकुशल उद्धार गरिएका लामिछानेलाई उद्धृत गर्दै उनले प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आठ–दिनअघि पत्नीसँग सल्लाह गरी छोराहरुसित मर्ने योजना बनाएको जानकारी दिए । पत्नी जमुना लामिछानेले पनि सँगै मर्ने बताएपछि बिहीबार साँझ दुई छोरासहित लामिछाने दम्पती त्रिशूलीमा हामफालेका थिए । संयोगले बाँचेका विनय अलिहे इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा छन् । प्रहरीलाई दिएको बयानमा उनले पछिल्लो सात–आठ वर्षदेखि सेयर र कमोडिटी मार्केटमा लगानी गर्दै आएको बताएका छन् । विनयलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रेग्मीले भने, ‘एक वर्षदेखि विजनेसमा डेढ करोड रुपैयाँको घाटा बेहोर्नुपरेपछि तनावैतनावमा दिन बिताउँदै आइरहेको थिएँ ।’ सापटी दिएकाहरुले फोन गरेर चर्को मानसिक तनाव दिएको र आफ्नो अंश लाग्ने सम्पत्ति बेच्दा पनि ऋण तिर्न नसक्ने अवस्था आएकाले आत्महत्याको निर्णय लिएको विनयले प्रहरीसँग बताएका छन् ।

सोही पत्रिकामा सरकारले व्यवसाय दर्तादेखि अनुमतिसम्मको जानकारी एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले ६ वर्षअघि विकास गरेको लाइसेन्स पोर्टल (विद्युतीय पोर्टल) अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पाँच करोड रुपैयाँभन्दा खर्च गरेर सरकारले व्यावसायिक अनुमतिसम्बन्धी अद्यावधिक सूचना तथा विवरणसहितको विद्युतीय पोर्टल प्रयोगमै नआई बन्द भएको छ । तत्कालीन वातावरण, विज्ञान तथा प्रविधिमन्त्री केशवमान शाक्यले उद्घाटन गरेको व्यावसायिक सहजताका लागि विद्युतीय पोर्टल ‘लाइसेन्स पोर्टल डट जिओभी डट एनपी’ अहिले अस्थितत्वमा देखिँदैन । विभिन्न ३८ वटा सरकारी निकायले प्रदान गर्ने दर्तादेखि अनुमतिसम्मका प्रक्रियागत कार्य एकै स्थानबाट उपलब्ध गराउने गरी ‘वान स्टप सप’ को व्यवस्था भएको विद्युतीय पोर्टल अस्तित्वमा नरहनुलाई कानुनविद्हरुले भ्रष्टाचारको संज्ञा दिएका छन् । यता, राष्ट्रिय सूचना प्रविधि केन्द्रले २५ करोड खर्चिएर खरिद गरेको अनलाइन विद्युतीय भुक्तानी सेवा प्रणाली नेसनल पेमेन्ट गेटवेको अवस्था पनि विद्युतीय पोर्टलकै जस्तो देखिन्छ ।

अन्नपूर्ण पोष्ट दैनिकमा विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने सहमति मेडिकल कलेज सञ्चालकले पालना नगरेको समाचार छ । बर्सेनि ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने उनीहरूले अभिभावकलाई जिल्याउँदै आएका छन्। सरकारको निर्देशनसमेत अटेर गरेका छन्। उनीहरूले अतिरिक्त शुल्क समायोजन वा फिर्ता जुन अनुकूल हुन्छ त्यही गर्ने सहमति शिक्षा मन्त्रालयसँग मंसिर १० गते गरेका थिए। त्यो काम भोलिपल्टदेखि नै गर्ने प्रतिबद्धता उनीहरूले जनाएका थिए। तर, विद्यार्थीलाई भर्पाई नदिई शुल्क असुलेका कलेजले फिर्ता दिनुको साटो मानसिक तनाव दिँदै थप शुल्क लिएको पाइएको छ। कलेजले प्रयोगात्मक परीक्षामा फेल गराइदिने धम्की दिएका छन्। केहीले समायोजन गर्ने आश्वासन दिँदै विद्यार्थी झुलाइरहेका छन्।

केहीमा फिर्ता वा समायोजनमध्ये के गर्ने भन्ने टुंगोसमेत लागेको छैन। ‘मध्यरातमा गरेको सहमति हामीलाई भुलाउने मेसो मात्र देखियो’, चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले भने, ‘अहिलेसम्म केही प्रगति भएको छैन। समायोजन अन्योलमै छ। कसरी कहिलेदेखि दिने भन्ने निश्चित छैन।’ विगतमा आन्दोलन चर्को रूपमा उठेकाले चर्चा बढेको थियो। ‘हामी चुप लागेर बसेकाले कुनै पनि प्रक्रिया अघि बढेको छैन’, उनले भने। चिकित्सा शिक्षा अभियन्ता डा। जीवन क्षेत्रीले कलेज सञ्चालक अपराधउन्मुख भएको बताए। ‘गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने मेडिकल कलेज सञ्चालक कोही मुद्दा खेपिरहेका छन्, कोही फरार छन्’, उनले भने, ‘यो व्यवसायमा अपराधीकरण मिसिन पुग्यो।’

सोही पत्रिकामा अदालतले दोषी ठहर गरेका तर पक्राउ नपरेका धेरै अपराधी विदेशतिरै हुन सक्ने अनुमान प्रहरीको रहेको समाचार छ। अपराधीको आवतजावत रोक्न तथा उनीहरूको पासपोर्ट, भिसालगायत कागजात हेर्न अध्यागमन विभागको एउटा डेस्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रियाशील छ। हवाई मार्ग भएर अपराधी भाग्ने वा नेपाल छिर्न सक्ने सम्भावनालाई ख्याल गरेर रोक्नु उसको जिम्मेवारी हो। भिसा भए–नभएको हेरेर देशबाहिर जान वा देशभित्र प्रवेश गर्न अनुमतिका साथै भिसाको म्याद सकिएका विदेशीलाई नियन्त्रणमा लिई पठाउनेसम्मको कार्य अध्यागमको जिम्मेवारीमा पर्छ। पूर्वडीएसपी रामजी कटुवाल अभिलेख व्यवस्थापनमा प्रहरी र अध्यागमनको कमजोरीको फाइदा उठाएर अपराधमा संलग्नहरू वैदेशिक रोजगारीमा जाने गरेको पाइएको बताउँछन्। कमजोर सुरक्षा संयन्त्रका कारण अपराधी अन्तर्राष्ट्रिय विमानस्थलबाटै विभिन्न मुलुक छिर्ने गरेको उनी सुनाउँछन्। उनका अनुसार ‘क्रिमिनल रेकर्ड सिस्टम’ लथालिंग हुँदा दोषी ठहर व्यक्ति प्रहरी र अदालतको फैसला छल्दै पटक(पटक विदेश पुग्छन्। उनी भन्छन्, ‘हवाई रुट प्रयोग गरेर ठूला अपराधी सजिलै बाहिरिएका घटना थाहा पाएपछि प्रहरीले इन्टरपोलमार्फत सम्बन्धित देशबाट पक्राउ गरी ल्याएका धेरै घटना छन्।’ अध्यागमनको जिम्मा प्रहरीलाई दिँदा अपराधी विदेश भाग्न सक्ने सम्भावना कम हुने उनको तर्क छ।

नयाँ पत्रिका दैनिकमा काठमाडौंका कतिपय सहकारी संस्थाले चेक धरौटी राखेर कर्जा दिने गरेको पाइएको छ । काठमाडौंका केही सहकारीले नियमविपरीत ब्याजसहितको चेक अग्रिम रूपमा लिएर कर्जा दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । ऋण लिनेबाट कर्जा नउठेपछि सहकारी संस्थाले प्रहरीमा दिएको उजुरीले यससम्बन्धी तथ्य खुलेको हो ।

प्रहरीले भने सहकारीका त्यस्ता जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । ‘सहकारीहरूले नै चेक बाउन्सका उजुरी गर्न थालेका छन्,’ महानगरीय प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत एक प्रहरी अधिकारी भन्छन्, ‘बुझ्दै जाँदा त्यही चेक राखेर कर्जा देखिएको खुल्यो, यस्तो घटनाको हामीले अनुसन्धान गर्दैनौँ ।’ पछिल्लो समय सहकारीको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई छ । तर, स्थानीय तहले कारबाही गर्नुको साटो अनुसन्धानका लागि यस्ता विवाद उल्टै प्रहरीमा सिफारिस गर्दै आएका छन् । चेक बाउन्समा उजुरीमा कतिपय सहकारीबाट समेत आउने गरेको परिसरका डिएसपी कृष्ण चन्दको भनाइ छ । हेर्न नमिल्ने किमिसका उजुरीहरू आफूहरूले नलिने उनले बताए । सहकारी विभागका रजिस्ट्रार डा। टोकराज पाण्डे सहकारीले चेक धितो राखेर कर्जा दिनु गलत भएको बताउँछन् । ‘चेक धितो राखेर कर्जा दिने प्रावधान सहकारी ऐनले गरेको छैन । यसरी कर्जा दिन पनि मिल्दैन,’ उनी भन्छन्, ‘कसैले दिएको रहेछ भने कारबाही हुन्छ ।’

सोही पत्रिकामा सरकारले महिला हिंसा र कुसंस्कार अन्त्य गर्न कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँमा छाउगोठ भत्काउँदै हिँडेको समाचार छ । तर, सुदूरपश्चिमकै कञ्चनपुरमा महिनावारी हुँदा आफ्नो घरको बाटो हिँडेको भन्दै एक पुरुषले दुई महिलालाई निर्घात कुटेका छन् । बेलडाँडी गाउँपालिका–१ टाइगर बस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खड्कामाथि हातपात गरेका हुन् । महिनावारीका वेला घरको बाटो हिँड्दा आँखा लागेर भैँसीले दूध नदिएको आरोप लगाउँदै शाहले कुटेको पीडितहरूले बताएका छन् । गीता र ईश्वरी देउरानी–जेठानी हुन् । ‘मिन्स भएको वेला मेरो घरको बाटो किन हिँडेको भन्दै देउरानीलाई दलबहादुरले गाली ग-यो,’ धनगढीको नोभा अस्पतालमा उपचाररत ईश्वरीले भनिन्, ‘मैले तथानाम नबोल्नुस् भनेपछि हामी दिदी–बहिनीलाई नै कुटपिट ग-यो ।’ गीताको पनि नोभा अस्पतालमै उपचार भइरहेको छ । खड्का परिवार आरक्षपीडित भएकाले शाह परिवारकै जमिनमा बस्दै आएको छ । दुवै परिवारको सधैँ हिँड्ने बाटो नै एउटै छ । तर, त्यही बाटो प्रयोग गर्दा आफ्नो घरको बाटो हिँडेको आरोप लगाएर दलबहादुरले कुटपिट गरेका हुन् । दलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप