बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण बेसक्याम्पमा हराएका ७ अझैं भेटिएनन्, पहिरोले थुनिएका डेढ सयको उद्धार

शनिबार, ०४ माघ २०७६, १९ : ३६
शनिबार, ०४ माघ २०७६

पोखरा । अन्नपूर्ण बेसक्याम्पमा हराएका ७ जनाको अझैं पत्ता लाग्न सकेको छैन । हिम पहिरोको कारण थुनिएका पदयात्री र पथप्रदर्शक भने २ सयको हाराहारीमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । 

शुक्रबार देउराली भन्ने ठाउँमा हिम पहिरो खसेपछि उनीहरु बेपत्ता भएका थिए । सम्पर्कमा आउँन नसकेकामध्ये ४ कोरियन र ३ जना नेपाली रहेको बताइएको छ । तर, उनीहरुको आधिकारीक रुपमा पहिचान भने हुन सकेको छैन । 

‘उहाँहरुको आधिकारीक पहिचान भने हुन सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले भने, ‘पहिरोका कारण बेपत्ता हुनु भएको हो । मोबाइलमा चार्ज सकिएको पनि हुन सक्छ ।’ 

उद्धार गरिएकामध्ये ७० जनालाई पोखरामा झारि सकेको उनले जानकारी दिए । बाँकी १ सयलाई छोम्रोङमा राखिएको उनले खुलाए । कोरियाली दुतावासले पनि हराएका आफ्ना नागरिकहरुलाई खोज्न बिहानैदेखि हेलिकप्टरको परिचालन गरि रहेको छ । 

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख रमेश कुमार केसीले हराएका सातको उद्धारको लागि प्रहरी टोली पनि निरन्तर खटिई रहेको जानकारी दिए । 

हिमपातको कारण मनाङबाट मुस्ताङ उक्लिन लागेको ४ चिनियाँ पनि हराई रहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । ६ वर्ष अघि बेसक्याम्पमा हिमआँधी आएर २ सयको हाराहारीमा मृत्यु भएको टानका अध्यक्ष हरि भुजेलले बताए । पथप्रर्दशक बिना पदयात्रामा निस्किदा हिउँ मै हराउँने सम्भावना बढी रहने उनले सुनाए ।

हिमपातले शिविरबाट निस्कन नसकेका पदयात्री र पदप्रदर्शकलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा ल्याई सकिएको प्रशासनको भनाई छ । उद्धारको लागि टानले पनि हेलिकप्टर तयार पारेर राखेको बताएको छ । 

हेलिकप्टरले पदयात्री र पथप्रदर्शकलाई बोकेर दिनभरजसो पोखराको आकाशमा उडेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप