शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आर्मीलाई एमएम कप उपाधि

शनिबार, ०४ माघ २०७६, १९ : ०७
शनिबार, ०४ माघ २०७६

काठमाडौं । त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुनसरीको इनरुवामा सम्पन्न प्रतियोगिताको फाइनलमा शनिबार नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

अघिल्लो वर्ष पनि आर्मीले पुलिसलाईनै पराजित गरेर उपाधि जितेको थियो । आर्मीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले २४.४ ओभरमा ९९ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । 
पुलिसको लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन, अमित श्रेष्ठले २३ रन तथा अनिल साहले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

पुलिसलाई सानो योगफलमा समेट्न आर्मीका देब्रे हाते स्पिनर सुशन भारिले ४ विकेट लिए। ६ ओभरमा भारिले २४ रन खर्चिए । यस्तै अर्का देब्रे हाते स्पिनर शाहब आलमले ३ विकेट लिए जुन क्रममा ६.४ ओभरमा १ मेडन ओभर गर्दै ३३ रन खर्चिए। कुशल मल्लले २ विकेट तथा बिक्रम सोबले १ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङ गरेको आर्मीले ४८.५ ओभरमा १ सय ८४ रनमा सबै विकेट गुमाएको थियो । आर्मीको ब्याटिंगमा कप्तान बिनोद भण्डारीले सर्वाधिक ४० रन योगदान दिए । उनले ६६ बलमा ४ चौका प्रहार गरे। यस्तै राजेश पुलामीले ३१ रन, राजु रिजालले २२ रन, बिक्रम सोबले १५ रन तथा कुशल मल्लले १३ रन तथा रोहित पौडेलले ११ रन बनाए । 

पुलिसको बलिंगमा देब्रे हाते स्पिनरद्वय ललित राजबंशी र सागर ढकाल तथा अफ स्पिनर दिपेन्द्र ऐरीले समान ३ विकेट लिए । ढकालले १० ओभरमा १ मेडन गर्दै २९ रन, राजबंशीले १० ओभरमा १ मेडन गर्दै ३२ रन तथा ऐरीले ९.५ ओभरमा २७ रन खर्चिए । पवन सर्राफले १ विकेट लिए । फाइनल खेलको प्लेयर अफ दी म्याच आर्मीका सुशन भारि चुनिए ।    
उपाधिसँगै आर्मीले ४ लाख ५ हजार रुपैयाँ तथा उप विजेता पुलिसले २ लाख ५ हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताकै उत्कृस्ट खेलाडी आर्मीका देब्रे हाते स्पिनर सुशन भारि चुनिए जसले ५५ हजार रुपैयाँ हात पारे ।

भारिले ४ खेलमा कुल १५ विकेट लिए । यस्तै प्रतियोगिताको उत्कृस्ट बलर ३ खेलमा १४ विकेट लिएका सुदुरपश्चिमका बिनोद लामा तथा उत्कृस्ट ब्याट्सम्यान ४ खेलमा १ शतक सहित १ सय ९६ रन बनाएका त्रिभुवन आर्मी क्लबका कुशल मल्ल चुनिए । उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यानले जनही २१ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथिको रुपमा नेकपाका प्रदेश १ इन्चार्च तथा पुर्व पर्यटन मन्त्रि भिम प्रसाद आचार्य तथा विशिस्ट अतिथि मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरे, इनरुवा नगरपालिकाका मेयर राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्भु आचार्य तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ का अध्यक्ष विप्लव घोषले पुरस्कार वितरण गरेका थिए । 

मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ ले आयोजना गरेको प्रतियोगितामा सात वटा प्रदेश, तिन विभागीय , एक मलेसिया राष्ट्रिय टिम र एक आयोजक टोलि गरि कुल १२ टोलीको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप