शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया शुरु गर्न सपथग्रहण

शनिबार, ०४ माघ २०७६, १८ : ०८
शनिबार, ०४ माघ २०७६

वासिङटन । डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया शुरु गर्न अमेरिकी प्रधानन्यायाधीशले सिनेटका सदस्यहरुलाई आफूहरुले निष्पक्ष रुपमा न्याय प्रदान गर्ने विषयमा बिहीबार अपरान्ह सपथग्रहण गराउनुभएको छ । 

यसरी सपथ लिएपछि उहाँले सिनेटको एक सदस्यका रुपमा महाअभियोग प्रस्तावमा हुने समग्र प्रक्रियाको अध्यक्षता ग्रहण गर्नुहुनेछ । 
उक्त महाअभियोग प्रस्तावमा छलफलका लागि अमेरिकाको प्रधानन्यायाधीशले सबै सिनेट सदस्यलाई सपथ गराउने र उनको अध्यक्षतामा उक्त प्रक्रिायाको किनारा लगाउने कानुनी प्रावधान रही आएको बताइन्छ । 

यसलगत्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा बिहीबारबाट औपचारिक रुपमा शुरुआत भएको जनाइएको छ । 
प्रधानन्यायाधीश जोन रोबर्टस्ले बिहीबार अपरान्ह सिनेट बैठकमा उक्त सिनेटका १०० जना मध्ये ९९ औँ सिनेटरलाई सपथ गराउनुभएको थियो ।

बिहीबारको सो सपथ कार्यक्रममा रिपब्लिकन पार्टीका एकजना सिनेटर भने अनुपस्थित हुनुहुन्थ्यो । उहाँको घरायसी कारणले गर्दा सो बैठकमा उपस्थित हुन नसक्नुभएको जानकारी त्यस अवसरमा गराइएको थियो ।
  
राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले माथिल्लो सदन सिनेटमा पठाएको थियो । 
हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मङ्गलबार पारित गरेको प्राप्त समाचारमा जनाइएको छ ।    
      
यसअघि हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा उहाँमाथि महाअभियोग लगाउनेसम्बन्धी प्रस्तावमा मतदान हुदा २२८ जनाले माथिल्लो सदनमा पठाउने पक्षमा मतदान गरेका थिए भने १९३ जनाले विपक्षमा मतदान गरेका थिए ।  

अब प्रधानन्यायाधीशले सपथ लिएसँगै बाँकी प्रक्रिया आगामी मंगलबारबाट शुरु हुन लागेको हो । सिनेटमा पठाइएको प्रस्तावको बाँकी प्रक्रिया अर्को हप्ताबाट अघि बढ्ने यसअघि बताइएको थियो । 
यसअघि गत मङ्गलबार उक्त प्रस्ताव पारित भएपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा “हामी फेरी अगाडि बढ्ने छौँ, डेमोक्र्याटहरुले हामीलाई केही पनि गर्न सक्नेछैनन् ” लेख्नुभएको थियो ।        
मङ्गलबार सो प्रस्ताव पारित भएपछि बुधबार नै हाउस अफ रिप्रेजेन्टेटिभ्स्का सभामुख नान्सी पेलोसीले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा पठाउनु भएको थियो । 
अमेरिकाको इतिहासमा यसरी संसदको तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिहरुमध्ये ट्रम्प तेस्रो राष्ट्रपति हुनुभएको छ ।   
  
तर पनि हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा राष्ट्रपति ट्रम्पको रिपब्लिकनको नभएर विपक्षी दल डेमोक्र्याटको बहुमत भएकोले यो प्रस्ताव पारित भएको तर सिनेटमा भने महाभियोग प्रस्ताव पास नहुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
  
सिनेटमा भने रिपब्लिकनका सांसदहरुको बाहुल्यता रहेको छ । एक सय जना सदस्य रहने सिनेटमा उहाँका विरुद्धमा महाभियोग लगाउन नै दुई तिहाइ मत चाहिन्छ । जुन असम्भव नै रहेको विश्लेषकहरुको भनाई छ ।
           
विपक्षीहरुले ट्रम्पलाई शक्तिको दुरुपयोग गरेको, संसदको काम कारबाहीमा अवरोध पु¥याएकोलगायतका आरोपहरुसहित महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।         
तर राष्ट्रपति ट्रम्प र उहाँका समर्थकहरुले भने ती आरोपहरू अस्विकार गरी ती प्रस्तावहरुका विरुद्धमा खण्डन गर्दै आएका छन् । उनीहरुले ट्रम्प विरुद्धको महाअभियोगको प्रस्तावलाई पक्षपातपूर्ण र आक्रोशबाट चालिएको कदमको संज्ञा दिदै आएका छन् ।     
     
हाउस अफ रिप्रिजेन्टेटिभ्स्ले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो । सिनेटले पनि यस प्रस्तावलाई दुई तिहाइ मतले पारित गरेमा राष्ट्रपति ट्रम्प पदच्युत हुनुहुने छ ।          
यतिखेर अमेरिकी राजनीति राष्ट्रपति ट्रम्पलाई समर्थन गर्ने र उहाँको विरोध गर्नेहरूमा विभाजित भएको बताइन्छ । यस प्रस्तावको प्रक्रिया शुरु भएसँगै अमेरिकी राजनीतिक वातावरण फेरि एकपटक तात्न पुगेको छ ।
  
उहाँको दल रिपब्लिकनले महाअभियोगको प्रस्तावलाई असफल गराएने बताएको छ भने विपक्षी दल डेमोक्र्याटिकले भने ट्रम्पलाई सिनेटले महाअभियोग लगाउने र पदच्युद गर्ने बताउँदै आएको छ । रासस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप