शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेश मोह त्यागेर स्वदेशमै कफी हाउस

शनिबार, ०४ माघ २०७६, १७ : ५८
शनिबार, ०४ माघ २०७६

भर्खरै स्नातक तहको अध्ययन पूरा गरेका झापामा चार युवाले रु ६० लाखको लगानीमा कफी हाउस सञ्चालनमा ल्याएका छन् । मेचीनगर–६ काँकडभिट्टाका रोशन विष्ट, विर्तामोडका रोशन चौहान, युगेश अधिकारी र सुधन न्यौपानेले छ महिना अघिदेखि ‘एफबिए टु पोइन्ट जिरो कफी हाउस’ सञ्चालनमा ल्याएका हुन् ।
    विर्तामोड र काँकडभिट्टामा एउटै नामको अलगअलग कफी हाउस खोलेका उनीहरुले हालै बुटबलमा समेत शाखा सञ्चालन गरेका छन् । यो कफी हाउसलाई विश्वव्यापी ब्रान्ड बनाउने लक्ष्य रहेको सञ्चालक रोशन विष्टले बताए । उनीहरुले ‘बारिस्टा एन्ड बारटेन्डिङ एकाडेमी’ नामक एकाडेमी पनि खोलेका छन् । एकेडमीमा युरोप, अमेरिका, गल्फ र अस्ट्र«ेलियामा पढ्न जाने विद्यार्थीलाई कफी शपसम्बन्धी तालीम दिइने गरेको छ ।
    कफी स्वास्थ्यका लागि उपयोगी पेय पदार्थ हो र यो स्वदेशमा उत्पादन हुन्छ । नेपालीमा कफी पिउने बानी भर्खर बस्न थालेको बिष्ट बताउँछन् । झापामा नै बसेर कफीको व्यावसायिक काम गर्ने र विद्यार्थीलाई आफूले सिकेको सीप सिकाउने उद्देश्यले कफी हाउस र बारिस्टा एन्ड बारटेन्डिङ एकेडमी शुरु गरेको उनको भनाइ छ ।
    बारिस्टा एन्ड बारटेन्डिङ एकेडमीले राजधानीको प्रसिद्ध ‘काठमाडौँ कफी’सँग सहकार्य गरेको छ । यहाँको कफी हाउसको गुणस्तर विश्वस्तरीय ब्रान्डका कफी हाउससँग तुलना गर्न सकिने एशियन ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले बताए । एक वर्षअघि भारतको लभ्ली प्रोफेसनल युनिभर्सिटी (एलपियु)बाट एमबिए सकेर नेपाल फर्किएका रोशन विष्टले अमेरिका वा अस्टे«लियामा एमफिल पढ्न जाने सोच बनाएर काठमाडौँमा कफी शपसम्बन्धी तालीम लिएका थिए । 
     अमेरिका र अस्ट्रेलियाको प्रवेषाज्ञा नआएपछि बिष्टले विदेश जाने योजना त्यागेर तीन जना साथीसँग मिलेर स्वदेशमै कफी शप खोल्ने पहल गर्नुभएको बताए । चारै जना अब विदेश नजाने र स्वदेशमै स्वरोजगारको सिर्जना गर्ने भएका छन् । सुनसरी, मोरङ, इलाम, झापा लगायतका विद्यार्थी विर्तामोडको एकाडेमीमा तालीम लिन आउने गरेका छन् । एकेडमीले स्थानीय सरकारसँगको सहकार्यमा कफीसम्बन्धी निःशुल्क तालीम समेत मासिक रुपमा दिइरहेको छ । यहाँ प्रयोग हुने अग्र्यानिक कफीको दाना लमजुङ, नुवाकोट, इलामलगायत नेपालका पहाडी जिल्लाबाट ल्याउने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप