शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वाग्मती सफाइको जिम्मेवारी अब वडालाई नै दिने गरी तयारी

शनिबार, ०४ माघ २०७६, १६ : ५९
शनिबार, ०४ माघ २०७६

 वाग्मती सफाइ महाअभियानको ३५०औँ हप्तादेखि नदी सफाइको विशेष जिम्मेवारी वडालाई नै दिने गरी तयारी शुरु गरिएको छ । यही माघ ११ गते शनिबार वाग्मती सफाइ महाअभियान ३५०औँ हप्तामा प्रवेश गर्दैछ । काठमाडौँ महानगरपालिका–११ लाई त्यस क्षेत्रको नदी सफाइको जिम्मेवारी दिन लागिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् । 
 
बबरमहलस्थित रुद्रमती दोभानबाट त्रिपुरेश्वरस्थित गुसिङ्गाल पुल क्षेत्रसम्मको करीब एक हजार ५०० मिटर नदी क्षेत्र वडा नं– ११ मा पर्छ । सो क्षेत्रमा थापाथलीको सुकुम्वासी बस्ती पनि पर्छ । त्यस क्षेत्रको सफाइ चुनौतीपूर्ण रहेको वडाध्यक्ष हीरालाल तण्डुकारले बताए । 
 
वडा नं– ११ मै आएर झर्ने रुद्रमती र इच्छुमती (टुकुचा) खोलाका कारण पनि वाग्मती सफाइ चुनौतीपूर्ण छ । टुकुचाभन्दा केही सफा देखिए पनि रुद्रमती (धोबीखोला) को किनारमासमेत नाक नथुनी हिँड्न सकिने अवस्था बनिसकेको छैन । टुकुचा भने ढलमै परिणत भइसकेको छ । केही क्षेत्रमा जमीनमुनि दबाएर टुकुचाको अस्तित्व समाप्त पारिएको छ ।
 
टुकुचा किनारको जग्गा छानबिन गर्न भनी समिति बनेको दशकौँ बित्दा पनि त्यसले काम सम्पन्न गर्न नसकेको स्थानीयवासीको गुनासो छ । टुकुचाको जमीन धेरैले हडपेको वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले बताए । सफाइ महाअभियानको ३४९औँ हप्तामा त्रिपुरेश्वर क्षेत्रमा सफाइ गरियो । सफाइमा १८ संस्थाका ३५० जनाभन्दा बढी अभियानकर्मी सहभागी भए । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी खरेलले बताइन् । 

    सफाइमा तीन वटै सुरक्षा निकायको पनि सहभागिता थियो । अभियानकर्मी किशोरसिंह शाहीको जन्मदिन नदी किनारमा दुई रुद्राक्षका बिरुवा रोपी मनाइएको थियो । अर्को हप्ताको तयारीका लागि महानगरपालिकाको ११ नं वडा कार्यालयमा छलफलसमेत भएको छ । वडालाई सफाइ महाअभियानले नमूना वडा घोषणा गरेको छ ।
 
गुह्येश्वरीमाथिको वाग्मती सफाइको ३११औँ हप्तामा गोठाटार पुलमुनिको नदी क्षेत्रमा सफाइ गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको सक्रियतामा भएका सफाइमा करिब ५० अभियानकर्मीको सक्रियता थियो । 
 
यता रुद्रमती सफाइ अभियानको ३०१औँ हप्तामा रातोपुल–सिफल–कालोपुल क्षेत्रमा सफाइ गरी एक क्विन्टल फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, पहिलो पाइला नामक सामाजिक संस्थाका महासचिव सुरज गिरीसहित २५ युवाको समूहलगायत सहभागी रहेका अभियानकर्मी रोहित गिरीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप