शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली राजनीतिका शिवमायाहरु

शनिबार, ०४ माघ २०७६, १३ : २७
शनिबार, ०४ माघ २०७६

-डा. अच्युतशाली घिमिरे


नारीहरु कोमल हुन्छन्
डराएर मात्र बस्छन्
घरधन्दामा मात्र अडिन्छन्
समाजको उत्पादन
र इतिहास निर्माणमा
नारीहरु निकम्मा हुन्छन्
भन्नेहरुलाई
गतिलो पाठ दिँदै
सार्वभौम संसदको
सभामुख बन्ने
शक्ति सङ्घर्षमा छिन्
यति बेला शिवमाया !

साच्चै
उक्त पार्टीको सचिवालय लाचार
प्राय बसिरहेछ
पार्टीको ह्विपलाई नै चुनौती
दिएकी छिन् उनले
यो शक्ति आर्जनका पछाडि जो 
सुकै जोडिऊन्
उनको पृष्ठभूमि सङ्घर्षमय छ
दक्षता र अभ्यासयुक्त छ !
र त आज बल्ल प्रश्न उब्जिएको छ–
पितृसत्ताकै शिरोपर गर्दै
हिँड्ने मात्रै छन् कि
‘शिवमायाहरु’
पनि छन् नेपाली राजनीतिमा ?

के नारीको जन्म
अरुले जे हेर भन्छ
त्यही हेर्नलाई मात्र भएको हो ?
के नारीको जन्म
अरूले जे सुन् भन्छ
त्यही सुन्नलाई मात्र भएको हो ?
के नारीको जन्म
अरूले जे बुझ् भन्छ
त्यही बुझ्नलाई मात्र भएको हो ?
सत्य र असत्य छुट्याउन
नसक्ने कृत्रिम पुतली
हुन् र नारीहरु ?
कदापि होइनन्
ढिकी, जाँतो र पँधेरोमा
मात्र नारीको अस्तित्व देख्नेहरुले
घरका थुप्रिएका जुठा
भाडाहरुमा मात्र नारीलाई
खुम्चिएको देख्नेहरुले
बालबच्चा र सासूससुराको
स्याहार सुसारमा मात्र
नारीलाई अडिएको देख्नेहरुले
आँखा उघारेर हेरून्
अन्यायको विरुद्ध आवाज उठाउने
शिवमायाको आँट र हिम्मतलाई !

हो 
स्वदेशलाई हामी जननी मान्छौँ
नारीको एउटा रूप !
तर उही धर्म र सत्यको सभ्यता
सिकाउने नारीमाथि
फेरि पितृसत्ताको लाठीचार्ज
अनि राजनीतिक हमला !
यो सह्य छैन
र आँखाको ज्योतिमा
प्रेमको गुलाफ फुलाउने
र परेको बेला
क्रान्तिको राँको पनि बाल्ने
नारीहरुमाथिको
राजनीतिक शोषण
लाचार मनस्थितिहरु हुन्,
कठै !
ऊ बेला सङ्घर्षमा पनि
यी नारीका नसाहरु त्रासले
काँपेर उठ्थे
अनि क्रूर अदृश्य शक्तिहरुसँग
लडाइँ लडिरहन्थे
तर आज सत्तामा
जाने बेलामा
कसरी उनीहरु कमजोर सावित
हुन सक्छन् ?

सत्ताको असमान रणनीतिको
भण्डाफोर गर्न,
विभेदकारी  कानुनलाई
उदाङ्गो पार्न,
शोषित र सर्वहारा वर्गको 
उच्च सङ्घर्षको नेतृत्व गर्दै
शिवमाया
भालेवाद प्रवृत्तिसँग भिडिरहिछन् !
साच्चै
उनी घस्रिएर बसिनन्
विश्वासको जादूमा
विरताको सुगन्ध भर्दै
बहादुरीको आत्म प्रदर्शन गरिरहिछन्,
जो आफू सम्झिनन्
तर देशलाई सम्झिएर
लोभ र प्रलोभलनलाई थाँती राखेर
र त
‘नारीहरुले केही गर्नै सक्दैनन्’
भन्ने समाजको फुस्रोधुस्रो प्रतिबिम्बलाई
मज्जाले स्वाद चखाइदिएकी छिन्,
साच्चै
न उनीमा
कुनै चिन्ता छ
मन्त्री पद पाउनुको 
न त छ चिन्ता
व्यक्तिगत विकास र
निजी सम्पत्ति जोड्नुको !
आखिर !
न्याय र समान अस्तित्वको
लडाइँका निम्ति
शङ्का र त्रासहरु पन्छाउँदै
मुटु नकाप्ने प्रणहरुमा
सत्ताधारी आफ्नै पार्टी विरुद्ध 
झिल्का दिइरहिछन्,
केन्द्रीय निर्णयहरुलाई
पछाडि फर्काइरहिछन् !
बाह्य
जात र धर्म
अनि पितृसत्ताको 
माखो हुन नचाहने
निडर पङ्ख भएर
उडेकी कर्मठ
शिवमायाको
म प्रशंसा गरूँ कसरी ?

यति नै बेला
खै म देख्दिनँ 
कहाँ छन्
आधा आकासको भाग 
खोज्नेहरु ?
विधि र प्रक्रियाका आधारमा
उत्तराधिकारी मात्र बन्नेहरु ?
आरक्षणका नाममा 
दोस्रो भूमिका मात्र खोज्नेहरु ?
के नेपाली राजनीतिमा
पुरुष सँगसँगै सदिऔँदेखि लागेका
यिनीहरुले 
शिवमायाको छाया
आफूभित्र अझै पाउन सकेका छैनन् ?
वा अन्तर्विरोधको ढाकछोप गर्दै
पितृसत्ताकै चाकडी गरिरहेछन् ?


शिक्षण अस्पताल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप