शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेस रिभ्यू : लिम्पियाधुरासहितका नक्सा छाप्न सरकारलाई कस्को डर ? ‘जनसत्ता’का लिखतलाई वैधानिकता

शनिबार, ०४ माघ २०७६, ०७ : ०६
शनिबार, ०४ माघ २०७६

आज माघ ४ गते शनिबार प्रकाशित मुख्य दैनिक पत्रिकाले बढी कमाउने प्रलोभनमा ऋण लिएर गरेकोे लगानी डुब्न थालेपछि पत्नी र दुई अबोध छोरासहित बिहीबार साँझ विनय लामिछाने परिवारसहित आत्महत्याको प्रयास गरेको विषयलाई मुख्य समाचार बनाएका छन् । त्यस्तै पछिल्लो समय भएको हिमपात र वर्षाले जनजीवन कष्टकर बनाएको तथा अन्नपूर्ण हिँडेका ७ जना सम्पर्कविहीन भएको समाचार पनि आज प्राथमिकताका साथ प्रकाशित भएका छन् । 

नयाँ सभामुख चयनको विषयमा परेको असहमतिको गाँठो फुक्दै गए पनि अझै सहमति भने भइनसकेको आज कान्तिपुर दैनिकले समाचार लेखेको छ । अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)मा सैन्य गठबन्धनको विषय नभएको स्पष्ट पारेको उल्लेख गर्दै समाचारले प्राथमिकता पाएको छ । 

‘जनसत्ता’का लिखतलाई धमाधम मान्यता

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार तत्कालिन द्वन्द्वकालमा माओवादी ‘जनसत्ता’ले पास गरेका जग्गाका लिखतहरुले मान्यता पाउन थालेका छन् । माओवादीले तत्कालिन अवस्थामा खडा गरेका जनसत्ताले पास गरेका लिखतलाई मान्यता दिलाउन स्थानीय सरकार नै सक्रिय भएका छन् । 

रुकुममा जनसत्ताका लिखतको आधिकारिकताका विषयमा लामो समयसम्म विवाद चलेपछि स्थानीय सरकारले नै ती लिखतलाई मान्यता दिलाउन लागिपरेका थिए । रुकुम, मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमका अनुसार जनसत्ताको लिखतकै आधारमा पास गरिएका जग्गाले कानुनी मान्यता पाइसकेका छन् । ‘अहिलेसम्म रुकुममा कुल जनसत्ता लिखतमध्ये ८० प्रतिशतले मान्यता पाइसकेको अवस्था छ,’ उनले भने,‘यहाँका हरेक स्थानीय तहले यो विषयलाई गम्भीरताका साथ महत्व दिएर काम अगाडि बढाइरहेका छन् ।’

तत्कालिन जनसत्ताले पास गरेका लिखतलाई मान्यता दिलाउन लागिपरेका केही स्थानीय तहले उक्त लिखत मान्न दबाबसमेत दिएका थिए । ...रुकुमको त्रिवेणी गाउँपालिकाले तत्कालिन जनसत्ताका लिखतलाई मान्यता दिलाउने शिविर नै सञ्चालन गरेको थियो । गत पुस २७ र २८ गते गाउँगाउँमा शिविर सञ्चालन गरेको यो गाउँपालिकाको पहलमा ४४ वटा जनसत्ता लिखतले मान्यता पाए । 

गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीका अनुसार यो गाउँपालिकामा ६८ वटा जनसत्ता लिखतले मान्यता पाउने या नपाउने भन्ने विषयमा विवाद थियो । ‘६८ मध्ये ४४ वटा लिखतका विषयमा सहमति गराएर किनबेच भएको जमिनलाई कानुनीरुपमा वैध बनाएका छौं,’ घर्तीले भने,‘ बाँकी २४ लिखतका विषयमा पनि सहमतिको प्रयास गरिरहेका छौं ।’

अब भेटिने छैनन् संसारका होचा खगेन्द्र बाबुका झोलामा

कान्तिपुरमा प्रकाशित समाचारअनुसार डेढ दशकअघि बागलुङ बजारमा एक अधबैंसे झोलामा मान्छो बोकेर हिँडिरहन्थे । दुधे बालकजस्तै देखिने ती उमेरले खासमा किशोर थिए । घरी बुबाको कोटको खल्तीमा पस्थे । घरी टाउकोमा चढ्थे । दक्षिण बागलुङको धुल्लुबाँस्कोटबाट रुपबहादुरले सदरमुकाम ल्याएपछि छोरा खगेन्द्र थापामगरले विश्वकै ध्यान खिचे । गिनिज वल्र्ड रेकडर््मा विश्वकै होचो पुरुषको रेकर्ड आफ्ना नाममा दर्ता गराए । उनी खगेन्द्र रुपबहादुरको झोलामा भेटिने छैनन् । २८ वर्षको उमेरमा उनले शुक्रबार पोखरामा देह त्याग गरे । 

मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार अस्पतालको आइसीयुमा राखेर उपचार गरिएको थियो । निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । उनलाई दिउँसो ३ बजे मृत घोषणा गरिएको खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले बताए । 

कमोडिटी व्यापारमा डुबेपछि आत्महत्या

नागरिकमा प्रकाशित समाचारअनुसार थानकोटका विनय लामिछाने बिहीबार साँझ सपरिवारै धादिङको बेनिघाटस्थित त्रिशुली नदिमा हेलिए । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं ४, थानकोट बस्दै आइरहेकाका लामिछाने, उनकी पत्नी २७ वर्षीया जमुना रेग्मी लामिछाने र दुई नाबालक छोरासहित नदीमा डुबे । विनयलाई स्थानीयले उद्धार गरे भने जमुना मृत भेटिइन् । उनीहरुका दुई वर्षे र छ महिने छोराहरु बेपत्ता छन् ।

आफन्तका अनुसार जमुनाको सानो छोराको शुक्रबार भात खुवाइ (पास्नी) थियो । चन्द्रागिरिस्थित घरमा सुत्केरो परेको हुनाले जमुनाको माइतीमा पास्नी गर्ने योजना अनुरुप उनीहरु बिहीबार नै धादिङ तर्फ आएका थिए । तर, माइती रहेको आदमघाट बजारमा नझरीकन उनीहरु झण्डै ५० किलोमिटर पर बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ बाँदरेमोड भन्ने ठाउँमा ओर्लिएका थिए । घटनास्थलमा प्रहरीले भेटेको झोलाभित्र बच्चाको पास्नीका लागि ल्याइएको कपडाहरु, हातमा लगाउने बालाहरु थिए ।

त्रिशुली नदीमा पस्नुअघि लामिछाने दम्पतीसँग प्रत्यक्ष भेटेकी बाँदरेमोडमा होटल सञ्चालक बदनकुमारी श्रेष्ठका अनुुसार सिमसिम पानीमा बच्चा बोकेर यताउती गरिरहेका थिए । पारी जाने बाटो पनि खोजी रहेको उनले बताइन् । ‘मेरो बहिनीको घरमा उनीहरुले नै ल्याएको दुध तताएर सानो छोरालाई खुवाए, त्यसपछि नजिकैको झोलुङगे पुल तरेर उनीहरु पारि गएका थिए’, उनले भनिन्, ‘एकै छिनमा मान्छे बगायो–बगायो भन्ने हल्ला आयो, हत्तपत्त यहाँकै स्थानीय कायक लिएर दगुरे, तीनै दम्पती पो रहेछन् ।’

घटनापछि प्रहरीले लामिछाने परिवारको घरबाट सुसाइड नोट समेत भेटेका छन् । ऋणका कारण आफूहरुले आत्महत्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको सुसाइड नोट भेटिएको प्रहरीले बताएको छ । मिटरब्याजमा लिएको पैसा तिर्न नसक्ने अवस्थामा पुगेपछि दम्पती सल्लाहमा नै त्रिशूलीमा हेलिएको प्रहरीको भनाइ छ । मकवानपुरको चित्लाङमा जन्मेमा लामिछाने हाल चन्द्रागिरी नगरपालिका अन्तर्गत थानकोटमा बस्दै आएका थिए । उनीहरुले तिनकुनेस्थित कमोडिटी अनलाइन व्यापारमा सेयर लगानी गरेका थिए ।

सेयर लगानी गर्न विभिन्न व्यक्तिहरुबाट मिटर ब्याजमा करिब दुई करोड ऋण लिएको थानकोटस्थित घरबाट प्रहरीले फेला पारेको ‘सुसाइड नोट’बाट पत्ता लागेको प्रहरीले जनाएको छ । उनीहरुले ऋण लिएको रकम र ऋण दिने व्यक्तिको नाम र तिर्नुपर्ने रकम उल्लेख गरिएको घरमा छोडेको लिखतमा फेला परेको प्रहरीले बताएको छ । माघ २ गते लेखेर घरमा छोडिएको सुसाइड नोटमा विभिन्न व्यक्तिको नामसमेत उल्लेख गरिएको छ ।

नयाँ नक्सा बनाउन कसको डर 

अन्नपूर्ण पोस्ट्का अनुसार लिम्पियाधुरालगाइत नेपाली भूभागमा समेटिएको नक्सा जारी गर्न सरकारलाई चौतर्फी दबाब छ । तर, त्यसप्रति सुरसारै नदेखिएपछि विज्ञले चिन्ता व्यक्त गरेका छन् । संसदीय समितिले पनि  लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी गर्न निर्देशन दिएपनि सरकारले छाप्न आँट गरेको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित सीमा अभियन्ता सम्मिलित सर्वपक्षीय भेलाले नेपालको नक्सा सच्याउने प्रतिबद्धता जनाएको थियो । भारतले भने १४ दिनमै दुईवटा नक्सा बनाएको छ । उसले गत कात्तिक १६ मा कालीनदीसहितको नक्सा जारी गरेको थियो भने नेपालमा हल्लीखल्ली मच्चिएपछि भारतले काली नदी हटाएर नक्सा सच्याएको थियो । 

त्रिभुवन विश्वविद्यालयका भूगोल विभागका पूर्वप्रमुख प्रा.डा. नरेन्द्रराज खनालले तत्काल लिम्पियाधुरासहित नक्सा प्रकाशन गरी कूटनीतिक र राजनीतिक पहल गर्न सुझाव दिएका छन् । नेपालले अढाई महिना बित्दापनि नक्सा छपाईको सुरसार नगर्नु दुर्भाग्यपूर्ण रहेको उनी बताउँछन् । ‘भारतले जतिखेर पनि नेपाली भूभाग मिचेको नक्सा जारी गर्न सक्छ तर नेपालले किन सक्दैन ?’, उनी भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप