शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सेल्फी किङ’ले ल्यायो ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’

बुधबार, ०१ माघ २०७६, १२ : ४९
बुधबार, ०१ माघ २०७६

काठमाडौं । भर्सटायल अभिनेता विपिन कार्की अभिनित फिल्म हो ‘सेल्फी किङ’ । केहीदिन अगाडि ट्रेलर सार्वजनिक भएसँगै फिल्म चर्चामा पनि छ । यो चर्चालाई झन् उचाही दिन निर्माण युनिटले फिल्मको ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ प्रतियोगिता ल्याएको छ ।

फिल्म युनिटले पपुलर एप हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ ल्याएको हो । कन्टेस्ट ह्युमर र कमेडी हाउभाउमा आफ्नो सेल्फीमा तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो कम्युनिटी मार्फत सेल्फी पोष्ट गर्न सक्नेछन् । त्यसरी पोष्ट गरिएको सेल्फीमा सहभागीहरुले विभिन्न मेकअपको प्रयोग समेत गर्न सक्नेछन् । तर त्यो अनिवार्य भने छैन । पोष्ट गरिएका सेल्फीहरु मध्य विजेता छनौट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइने फिल्म निर्माण युटिले जनाएको छ ।

खिचिएका तस्वीरहरुमा आएका अत्याधिक लाइक र कमेन्टसँगै ’सेल्फी किङ’ निर्माण टिमले विजेता छनौट गर्नेछ । कन्टेस्टमा माघ ५देखि माघ २० सम्म सहभागिता जनाउन सकिनेछ । प्रतियोगिताको विजेताको घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत गरिनेछ । यस प्रतियोगिताका विजेतालाई कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृति प्रदान गरिनेछ भने अन्य १० जनालाई सान्त्वना पुरस्कार स्वरूप प्रिमियरको पास जनही २ वटाको दरले उपलब्ध गराइनेछ ।

‘सेल्फी किङ’झैँ कलाकार बन्ने सपना बोकेको व्यक्तिलाई यो कन्टेस्टले सहयोग गर्ने फिल्मका निर्माता दिनेश राउतले बताए ।

‘सेल्फी किङ’ टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको बिषयमा निर्माण भएको फिल्म हो ।ओखलढुङ्गामा आफ्नो प्रस्तुति दिन जाने क्रममा ‘सेल्फी किङ’ उर्फ विपिनको जीवनमा आउने उतार चढावमा फिल्म केन्द्रित छ । 

२४ माघबाट प्रदर्शनमा आउने यो फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ । 

विशाल सापकोटाको निर्देशन रहेको फिल्म दिनेश राउत र सुवास थापालेमिलेर बनाएका हुन् । फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप