बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नदीजन्य पदार्थको दोहनले यसरी बनायो दिलीपलाई अभियन्ता

बुधबार, ०१ माघ २०७६, १० : ३१
बुधबार, ०१ माघ २०७६

जनकपुर । दुई वर्षअघि धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित श्रीपुर गाउँ डुबानमा परेको थियो । कैयौँ वर्षा झेलिसकेको गाउँ यसरी कहिल्यै डुबानमा परेको थिएन । एक्कासि गाउँ डुबानमा पर्नुको कारणबारे स्थानीयवासी छलफलमा जुटे । अन्ततः उनीहरूले गाउँमा बाढी पस्नुको कारण पत्ता लगाए । गाउँको विकास हुने, स्थानीय युवाले रोजगारी पाउने आशामा आफूहरूकै सहयोगमा खोलामा स्थापना गरिएको क्रसर उद्योगका कारण डुबान भएको निष्कर्ष उनीहरूको थियो ।

निर्माण व्यवसायी राजाराम महतोले गाउँलेलाई गाउँको विकास हुने, बाटो ग्राभेल हुने, स्थानीय युवाले रोजगारी पाउने आश्वासन बाँडेर खोलामा क्रसर उद्योग स्थापना गरेका थिए । क्रसर उद्योग स्थापनासँगै उनले बसही खोलामा नदीजन्य पदार्थ उत्खनन गर्न थाले ।

जथाभावी उत्खनन् गरिएको, खोलाको धार परिवर्तन गरिएको र पानी बग्ने ठाउँ साँघुरो पारिएका कारण वर्षा याममा गाउँमै बाढी पसेको थियो । बाढीले ठूलो क्षति भएपछि गाउँलेहरूले क्रसर उद्योगविरुद्ध आवाज उठाउन थाले । गाउँको विकास हुने र युवाले रोजगारी पाउने नाममा सिङ्गो गाउँ डुबानमा परेको भन्दै उनीहरूले भण्डाफोर गर्न थाले । नदीजन्य पदार्थ उत्खनन् कार्यको विरोधमा स्थानीयवासी एकजुट भए ।

त्यस यता गाउँले र क्रसर व्यवसायीबीच निरन्तर रूपमा सङ्घर्ष चलिरह्यो । जथाभावी उत्खनन् गरिएका कारण खोलामा धेरै खाल्डाहरू बनेका थिए । यहाँसम्म कि क्रसर उद्योगकै कारण बसही खोला नै अतिक्रमणको चपेटामा पर्न थाल्यो ।

खोलाको धार साँघुरो बनाउने, बगर पुरेर जग्गा प्लटिङ गर्ने जस्ता काम हुन थालेपछि स्थानीयवासीले क्रसर उद्योग आफूहरूको हितमा नरहेको सहजै बुझे । सोही क्रममा दिलीप भनेर चिनिने ओमप्रकाश महतोले श्रीपुर गाउँ वरिपरि रहेका खोला–नदी अतिक्रमणको विरोधमा आफूलाई अग्रमोर्चामा राखे ।

गाउँलेका अनुसार ढल्केवरका जग्गा व्यवसायी राजाराम महतोले खोलाको पुलसँगै जोडिएको दक्षिण–पूर्वको जग्गामा हास्पिटल निर्माण गर्छु भन्दै श्रीपुरका केही बासिन्दासँग जग्गासमेत किनेका थिए । महतोले किनेको सोही जग्गामा जोडिएको बगरलाई समेत पुरेर उनले क्षेत्रफल बढाएका छन् ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएका कारण ऐलानी नै भए पनि भविष्यमा बहुमूल्य हुने उक्त जग्गामा प्लटिङसमेत भइसकेको छ । करिब डेढ बिघा जग्गामा २० देखि २५ फिट गहिराइसम्म खनेर उनले दुईवटा ठूला पोखरी नै बनाए । जसका कारण खोला साँघुरिएर पूर्वपट्टि किनारमा रहेको ८० घरधुरीको श्रीपुर गाउँ नै जोखिममा परेपछि स्थानीयबासी न्यायका लागि गुहार माग्न थाले । लगातार उनीहरूले क्रसर उद्योगविरुद्ध अभियान नै चलाए । अन्ततः अवैध उत्खनन्को विरोध गर्नेमध्येकै एक युवा दिलीपकुमार महतो को योजनाबद्ध तरिकाले हत्या भयो ।


मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोसमेत एस्काभेटर र टिपरका मालिक हुन् । उनका एस्काभेटर र टिपर केही अघि गिट्टी–बालुवा लिन जाँदा श्रीपुरबासीले अवरोध गरे । भीडबाट कसैले आवेशमा ढुङ्गा फालेपछि टिपरको अगाडिको सिसा फुट्यो । इलाका प्रहरी कार्यालय ढल्केवरबाट प्रहरीको एक टोली पुगेर त्यहाँबाट एस्काभेटर र टिपर नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालयमा छलफलका लागि भन्दै स्थानीयवासीलाई लगेर उल्टै फसाइयो र नगर प्रमुख हरिनारायण महतोले टिपरको सिसा फोडेको भन्दै गाउँलेसँग १५ हजार नगद जरिवाना असुलेका थिए ।

खोला कटानले गाउँ नै डुबानमा परेपछि श्रीपुर गाउँका मध्यम वर्गीय परिवारले गिट्टी बालुवा ढुवानीभन्दा अर्कै पेसामा लाग्ने निधोसहित खोला उत्खनन् कार्यको विरोधलाई निरन्तरता दिए । सोझा गाउँलेका लागि दिलीपजस्ता शिक्षित युवा महत्त्वपूर्ण खम्बा नै थिए । अभियन्ता दिलीप मारिँदा अहिलेसम्म गाउँ शोकाकुल छ । दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने श्रीपुरवासीहरू अहिले त्रासदीमा बाँच्दैछन् । कतै दिलीपजस्तै अवस्था आफ्नो पनि हुने हो कि भनेर स्थानीयवासीहरू बोल्न डराउने गरेका छन् ।

समाजमा हुने गरेका हरेक गलत गतिविधिको विरोधमा रहने युवामध्येका दिलीपको हत्याले उनको परिवारले भरोसाको खम्बा गुमायो । आमाबुवाले आफ्नो सहारा बन्ने सपना देखेका जेठो छोरा गुमाए । आमा चन्द्रकला र बुवा राजीवनको ६ छोरी र २ छोरामध्ये दिलीप नै सबैको भरोसाका पात्र थिए ।

भारतको भोपालमा बिटेक इन्जिनियरिङको अन्तिम सेमेस्टर परीक्षा दिएर बिदामा घर आएका २४ वर्षीय दिलीपको हत्याले आमा चन्द्रकलामा ठूलो चोट परेको छ । उनी छिनछिनमा मुर्छित हुन्छिन् । इन्जिनियरिङ पढाइ सकेलगत्तै जापान पठाउँला, त्यहाँबाट पैसा कमाएर आएपछि ४ छोरीको विवाह गर्ने सपना बुनेको परिवारजनले दुई छोरीको विवाहमा खर्चेको रकम र पढाइका लागि लिएका २० लाख रुपैयाँ ऋण तिर्न पनि दिलीपकै भरोसा गरेको थियो ।

नाति इन्जिनियर बनेपछि धेरै पैसा कमाउला, भविष्य सुखद् होला भन्ने धोको बोकेका ७५ वर्षीय हजुरबुबा श्रीराम महतो र ७० वर्षीया हजुरआमा उर्मिला देवी पनि बुढेसकालामा झेल्नुपरेको यो शोकले थलिएका छन् ।

दिलीपका बहिनीहरू सङ्गम महतो, लक्ष्मी महतो, सिर्जना महतो र रिङ्कु महतोसमेत टोलाइरहन्छन् । दिलीपका कान्छो भाइ ७ वर्षीय ख्वाइस महतो परिवारमा परेको चोट त्यति महसुस गर्न नसके पनि घरमा सबैजना रोइरहेको देखेर आफू पनि रुन्छन् ।

जेठी कविता र दिलीपभन्दा सानी सविताको विवाह भइसकेको छ भने ४ जना बहिनीको विवाह गर्न बाँकी छ । दिलीपका बुबा रामजीवनले १६ वर्षदेखि ट्याक्टर राखेका छन् । उनी आफै ट्याक्टर चलाउँछन् र आफ्नो मात्र होइन, सामान्य भाडामा गाउँघरका अरूका खेतबारीसमेत जोत्छन् । सामान्य आर्थिक अवस्था भए पनि रामजीवनले ८ वटै छोराछोरीको शिक्षामा कुनै कसर बाँकी राखेनन् । ऋणपान गरेर भए पनि उनले आफ्ना सन्तानलाई उच्च शिक्षा दिने आँट गरेका छन् ।

दिलीपले दिदी, बहिनी र भाइहरूलाई पढाउनुपर्छ भनेर बुवालाई भनिरहन्थे । घरका जेठा छोरा भएकाले दिलीपले दिदी बहिनी र भाइलाई सम्झाउने गर्थे भने पढ्नका लागि प्रोत्साहन गर्ने गरेको सम्झन्छिन् बहिनी लक्ष्मी ।

दिलीपकै प्रोत्साहनले अहिले पनि बीबीएस चौथो वर्षमा अध्ययनरत बहिनी सङ्गम महतो र स्नातक दोस्रो वर्षमा अध्ययनरत बहिनी लक्ष्मी महतो ट्युसन पढाएर आफ्नो पढाइखर्च जुटाउँछिन् र केही रकम घरका लागि पनि सहयोग गर्छिन् ।

दिलीपको बुबा रामजीवन ६ वर्षदेखि दमले ग्रस्त छन् । चिकित्सकले उनलाई आराम गर्न भनेपछि दिलीपले घरपरिवार चलाउँदै आएका थिए ।

समाजिक अभियन्ता दिलीप

दुई वर्षअघि श्रीपुर गाउँमा बाढी आएपछि गाउँलेहरूले खोला उत्खनन् कार्यको विरोध गर्न थाले । गाउँ, खेतबारी र वातावरणलाई खोला दोहनले निकै असर पर्छ, बाढीको जोखिम बढ्छ भन्दै दिलीपले उत्खनन् कार्यको विरोधमा गाउँलेलाई एकजुट गरे । त्यसैले उनी खोला उत्खनन विरुद्धको अभियन्ताका रूपमा अघि बढे ।

उत्खनन कार्यको विरोध गर्दा धम्की

‘दिलीपले नदीजन्य पदार्थ उत्खनन विरोधी अभियानका लागेपछि क्रसर उद्योगीले उनलाई पटक पटक मारिदिने धम्की दिन्थे । दिलीपको घरमै पुगेर क्रसर सञ्चालकहरूले ‘छोरालाई सम्झाऊ, नत्र कुनै दिन तेरो छोरालाई टिपरले किचेर मारदिन्छु’ भनेर बुवा रामजीवनलाई समेत धम्की दिन्थे । रामजीवनले भने, ‘तर यो कुरा सुनाउँदा पनि दिलीपले धम्कीलाई कुनै वास्ता गरेन र छोराको ज्यान नै गयो ।’

दिलीपलाई जापान पठाउने योजना रहेको पनि उनले सुनाए । जापान गएर छोराले कमाइ गर्न थालेपछि छोरीहरूको विवाह गर्ने र घर बनाएर दिलीपको पनि विवाह गर्ने सोचेका उनी सबै सपना भताभुङ्ग भएको भन्दै भक्कानिन्छन् ।

दिलीपलाई पढाउनका लागि रामजीवनले ४ वर्षदेखि खेतीपातीको आम्दानी, घरमा रहेको गाईभैँसी बेचेर आएको रकम र ऋणसमेत काढेर करिब १६ लाख रुपैयाँ खर्चे ।

दिलीपको पढाइ र घरखर्चका क्रममा विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट लिएको २० लाख रुपैयाँभन्दा बढी ऋण छ । उनले भने, ‘मलाई त यकिन रूपमा ऋणबारे थाहा नै छैन, जम्मा ऋण कति छ भनेर यकिनसाथ भन्न सक्दिनँ तर २० लाख रुपैयाँभन्दा बढी नै होला ।’

दिलीपलाई हत्यादेखि रकमको प्रलोभनसमेत आउने गथ्र्यो । तर अन्ततः भू–माफियाले उनको हत्या नै गरे । गत शुक्रबार बिहान ४ बजे औरही खोलामा अवैध उत्खननबारे जानकारी पाएपछि साथी रोशन यादवसँग रोक्न जाँदा दिलीपको बीभत्स हत्या भयो ।

पहिला रडले कोखामा प्रहार गरी टिपरले किचेर उनलाई मारेको प्रहरीको भनाइ छ । हत्या आरोपमा चुरियामाई प्रशोधन उद्योगका क्रसर सञ्चालक विपिन महतो, टिपर चालक मुनिन्द्र महतो, साथी रोशन यादव र लोडर चालक जितेन्द्रकुमार महतोलाई प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ गरेर सार्वजनिक गरेको छ । अहिले दिलीपलाई सहिद घोषणा गर्न विभिन्न खाले प्रदर्शन भइरहेका छन् भने प्रदेश नम्बर २ को सरकारले पीडित परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप