शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वाधिक पुरस्कार राशीको कविता प्रतियोगिता हुँदै

बुधबार, ०१ माघ २०७६, ०९ : २३
बुधबार, ०१ माघ २०७६

युएई । सर्वाधिक पुरस्कार राशीसहित विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुनेभएको छ ।प्रतियोगिता सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको हो । सर्वोत्कृष्ट हुने कविले पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँसहित प्रमाणपत्र पाउने छन् । यो राशी कविता प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी रहेको कुरा संस्थाको अध्यक्ष कृष्ण बिश्वकर्मले बताए।

प्रतिष्ठानले बिश्वब्यापी नेपाली कविता प्रतियोगिताको तयारी पूरा गरि देश बिदेशमा रहने कविहरुबाट प्रतियोगिताको लागि कविता आव्हान गरेको छ। कविता फाल्गुन १ गतेसम्ममा संस्थाको इमेल [email protected] मा पठाउनु पर्नेछ। प्रतियोगीताको लागि बढीमा एक सय पचास शब्दको गद्य कविता र बढीमा पाँच श्लोकसम्मका छन्द कविता पठाउन पनि संस्थाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । कविता नेपाली युनिकोडमा मात्र लेखी पठाउन भनिएको छ ।

कविता प्रतियोगिताको नतिजा २०७७ वैशाख १ गते घोषणा गरिने र उपयुक्त समय मिलाएर नेपालमा विशेष समारोह गरीने र सोही कार्यक्रममा सवोकृष्ट एकलाई नगद पुरस्कारकोसाथ सम्मान र अन्य उत्कृष्ट दस कविहरुलाई प्रमाणपत्र सहित सम्मान गरिने संस्थाका कार्यक्रम संयोजकले वताएका छन्।

प्रतियोगिताका उत्कृष्ट दससहित देश बिदेशका एकाउन्न कविका कविताहरु समेटेर संस्थाबाट एक वर्ष भित्रै कवितासंग्रह प्रकाशित गरिने पनि जनाइएको छ।

प्रतियोगी कविता कुनै पनि राजनैतिक पूर्वाग्रह, गालीगलौज, साम्प्रदायिक सद्भावलाई खलल पार्ने खालका विचार र अश्लील शब्दहरुको प्रयोग गरिएको हुन नहुने बताइएको छ। अंग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिका भाषामा लेखिएका कविताहरूले पनि प्रतियोगितामा प्रवेश पाउनेछन्। तर, उक्त कविताहरूका नेपाली रुपान्तरण पनि साथमै संलग्न हुनु पर्ने बताइएको छ। रचनाका साथमा कविको छोटो परिचय, पासपोर्ट साईजको फोटो, सम्पर्क ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी सगरमाथा साहित्य प्रतिष्ठानको इमेलमा पठाउन संस्थाको फेसबुक पेजमा जारी सुचनामा आग्रह गरिएको छ। 

कविता पूर्णतः मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित(प्रसारित नभएको र साथै कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने पनि सगरमाथा साहित्य प्रतिष्ठान नेपालको प्रतियोगिताको प्रचार–प्रसार संजोकले जनाएका छन्।

प्रतियोगिताले बिश्वभरी छरिएर रहेका नयाँ पुस्ताका कविहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्ण विश्वकर्माले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप