बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी सम्झौता ३ वर्षअघि काँग्रेस र तत्कालीन माओवादीको सरकारले गरेको हो : परराष्ट्रमन्त्री ज्ञवाली

मङ्गलबार, २९ पुस २०७६, १९ : २५
मङ्गलबार, २९ पुस २०७६

बुटवल । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले अहिलेको सरकार तिब्र विकासको गतिमा अगाडी बढे पनि प्रतिपक्षले नकरात्मक रुपमा जनतामा भ्रम छरेको आरोप लगाएका छन् । मंगलवारदेखि गुल्मीमा दोश्रो रुरु महोत्सव तथा रिडी माघेसक्रान्ति मेलाको समुद्घाटन गर्दै मन्त्री ज्ञवालीले सो आरोप लगाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘खाली नकरात्मक भ्रम छरेर सकरात्मक कुरालाई ओझेलमा पार्दै जनतालाई निराश पार्ने काम भएको छ ।   हिजो मुलुक कस्तो थियो ?  विधिको शासन थिएन । जसको शक्ति उसैको भक्ति भने झैं थियो । भ्रष्ट टाँकचोरहरुको राज थियो । त्यस्ता भ्रष्टहरुलाई अहिलेको सरकारले खोजी–खोजी जेलको चिसो खुवाउँदै आएको छ ।’

उनले थप भने, ‘जुनसुकै ओहदाको होस, चाहे सम्मानीय होस् वा माननीय होस्, हामीले गल्ती गर्ने कसैलाई छाडेका छैनौं । धमाधम भ्रष्टहरु कार्वाहीमा पर्न थालेका छन् । कोही अत्तालिएर बेहाल छ । हामीले भ्रष्टचारीहरुलाई अरिङ्गालको गोलो पोलेझैं आगो झोस्न थालेका छौं ।’

पछिल्लोपटक अमेरिकासँग गरिएको एमसीसी सम्झौतालाई अनावश्यक विवाद र बहसमा ल्याइएको बताउँदै उनले भने, ‘हामीले विकास सहायतालाई बन्दुकसँग जोडेर हेर्दैनौ । असंलग्न सिद्धान्तप्रति अहिलेको सरकार कटिबद्ध छ । पहिलो कुरा यो सम्झौताको प्रयास गरेकै ८ वर्ष भयो ।’

यो सम्झौता ३ वर्षअघि नेपाली काँग्रेस र तत्कालीन माओवादीको सरकार छँदा भएको समेत उनले स्पष्ट पारे । मन्त्री ज्ञवालीले भने, ‘अहिले हामीले यो सम्झौता संसदमा पेश गरेका छौं । यसबाट हामीले देशको विकास गर्न चाहन्छौं ताकि सैन्य सम्बन्ध केवल भ्रम हो ।’ उनले अहिलेको सरकार राष्ट्रियताका पक्षमा दृढतापूर्वक उभिएको दावी समेत गरे ।  भने,‘पछिल्लो अर्को मुद्धामा भारतले कालापानी लगायतको नेपाली भूमी आफ्नो नक्सामा पारेको विरुद्ध पनि सरकार दृढतापूर्वक उभिएको छ ।’ उनले थप भने, ‘कालापानी लगायतको सिमा विवादबारे भारतसँग पत्रचार ग¥यौं । उसले पनि कुटनैतिक तौरबाट विवाद समधान गर्न तयार भएको पत्र पठाएको छ ।’

ज्ञवालीले अबको ११ वर्षपछि मध्यम आय भएको मुलुकको सूचीमा नेपाललाई पुर्याउने समेत बताए । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गृहजिल्ला गुल्मीको रुरु क्षेत्रमा बाल्यकालमा खेलेको स्मरण गर्दै रुरु महोत्सवमा सहभागि हुन पाउँदा हर्ष महुशस भएको बताए ।  

कार्यक्रममा प्रदेश सांसद कमलराज श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली,  प्रमुख जिल्ला अधिकारी कोशकान्त निरौला र  विभिन्न जनप्रतिनिधिहरुले पनि शुभकामना मन्तब्य राखेका थिए ।  महोत्सममा नेवाःखल गुल्मी लगायत विभिन्न जातजातजातीका  सांस्कृतिक झाँकी सहित उद्घाटन  समारोहमा निकै रौनक छाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप