भिडियो समाचार : नेपालकै पहिलो संसद भवन भत्काइने, नयाँ भारतीय राजदूतमा विनय मोहन
संसद बन्धक
लामो समयदेखि संसद सभामुखबिहीन छ । सभामुख चयन गनुपर्ने बेलामा सत्तारुढ दलनै आपसी खिचातानीमा रुमल्लिएपछि संसद बन्धक जस्तै बनेको छ । सत्तारुढ दल नेकपाले सभामुख आफ्नो पार्टीबाट बनाउने बताएपनि पात्र चयन गर्न नसक्दा आगामी माघ ६ गतेसम्मका लागि संसद स्थगित गरिएको छ । यसैबीचमा नेकपाले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न गरेको आग्रहलाई उनले टार्दै आएकी छिन् ।
उनले प्रतिनिधि सभाको सभामुख पद रिक्त रहेको र उक्त रिक्त पदलाई परिपूर्ति गर्नको निम्ति निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्ने बताएकी छिन् । उक्त निर्वाचन प्रकृया अगाडि बढाउनको निम्ति सत्तारुढ दललेसभामुख पदमा उम्मेदवार बनाउछु भने पनि उम्मेदवार तयार नभएको बताइन् ।
माघको ६ गते प्रतिनिधि सभाको बैठक भएकाले सम्भवतः त्यो दिन प्रकृया अगाडि बढ्ने सम्भावना रहेको उनले बताइन् ।
तुम्बाहाङ्फेले आफू राजीनामा दिन तयार रहेको तर त्यसका लागि दलहरुले पहिला सभामुखबारे निर्णय गर्न आवश्यक रहेको बताइन् ।
प्रचण्ड चितवनमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको माडीको विकासका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनले केही वर्षभित्रै माडी दुर्गमबाट सुगममा परिणत हुने दावी समेत गरे ।
मंगलबार ‘प्रथम माडी खिचरा महोत्सव २०७६’ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफूले निर्वाचनका बेला माडी दुर्गम क्षेत्र रहँदैन भनेर गरेको प्रतिवद्धता क्रमशः पुरा हुँदै गएको बताए ।
प्रचण्डले ठोरी–केरुङ जोड्ने बाटो बन्दै गएको भन्दै अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
विद्युत, शिक्षा, रिङरोडलगायतका विषयमा आफू विकास गर्न लगातार बहस र संघर्षमा रहेको प्रचण्डको भनाइ छ ।
उनले केन्द्रीय राजनीतिमा केही जटिलता उत्पन्न हुन लागेको भन्दै यस्तो बेला पार्टीका साथीहरुले बाहिर नजान गरेको आग्रहलाई पनि वेवास्ता गर्दै २ घण्टाका लागि भएपनि आफू माडी आएको बताए ।
दिगो विकास समितिमा यातायातमन्त्री
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर जयनगर रेल २ महिनाभित्रमा सञ्चालनमा आउने बताएका छन् ।
राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले ट्रयाक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट रेल खरिदका लागि अर्डर समेत भइसकेको बताए । २ महिनाभित्रमा जयनगर जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनम आउने र त्यसपछि बर्दिबाससम्म विस्तार हुनेमा ढुक्क रहन उनले आग्रह गरे ।
सरकारले संघ अन्तर्गत पर्ने बाटोहरुको पूर्ननिर्माणका कामहरु गरिरहेको उनले बताए । खाल्डा पुर्ने, कालोपत्रे गर्ने कामहरु संघीय सरकारले गरिरहेको उनले बताए । संघ अन्तर्गत रहेको १२ हजार किलोमिटर सडकको मर्मतको कामभइरहेको र करिब ४७ किलोमिटर सडक स्थानीय र प्रदेश सरकारले हेर्ने उनले बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक इञ्जिनियर गोगनबहादुर हमालले स्थानीय तहभित्र रहेको यातायात व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकार, प्रदेशभित्रको व्यवस्थापन गर्ने दायित्व प्रदेश सरकारको भएको बताए ।
समितिमा सांसद दिनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिहरुले जथाभावि डोजर किनेर जथाभावी सडक निर्माण गरि गाडी गुडाउने गरेको अवस्था रहेको र त्यसलाई न्यूनीकरण गर्नुपर्ने बताए ।
सांसद विमला राई पौडेलले चालकहरुसँग चालक अनुमतिपत्र छ छैन भन्ने कुरा यात्रुले थाहा नपाउने भएकाले यात्रुले देख्ने गरी कार्ड राख्ने व्यवस्था गर्नुपर्ने बताइन् ।
समितिमा यातायात व्यवस्थित गर्न दिइएको निर्देशनको पालना भए नभएको विषयमा मन्त्री र यातायात व्यवस्था विभागका महानिर्देशकसँग छलफल भएको थियो ।
विकास समिति, नेपालकै पहिलो संसद भवन भत्काइने
विकास तथा प्रविधि समितिले सिंहदरबार स्थित नेपालकै पहिलो संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ ।
शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जिर्ण बनेको संसद भवन भत्काएर यसको मौलिकतालाई विग्रन नदिइ नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो । समिति सभापति कल्याणी कुमारी खड्काले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई उक्त निर्देशन दिइन् ।
बैठकमा सांसदहरुले राष्ट्रिय पुननिर्माण प्राधिकरणले संसद भवन भत्काएर वा रेट्रोफिटिङ गर्ने भन्ने विषयमा उचित सुझाव दिन नसकेको बताएका थिए ।
बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने सुझावहरु विज्ञबाट आएको बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव शिवहरी शर्माले भवनलाई यथावत अवस्थामा राख्न उपयुक्त नहुने भएपनि भत्काएर अर्को संरचना बनाउने कि के गर्ने निर्णय नभएको बताए ।
समितिले भने भवनलाई यत्तिकै बचाएर उपयोग गर्ने अवस्था नहुने भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो ।
लेखराज भट्ट
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको आवधारणा ल्याएको बताएका छन् ।
नेपाल प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै व्यापारघाटा कम गर्न यो अवधारणा आएको राजधानीमा आयाेजित एक कार्यक्रममा उनले बताए ।
नयाँ भारतीय राजदूत
नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा नियुक्त भएका छन् । भारतको मन्त्रीपरिषद्को बैठकले क्वात्रालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो । भारतीय विदेश मन्त्रालयका अनुसार विनयलाई नेपालका लागि नयाँ राजदूतम नियुक्त गरिएको छ ।
विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन् । गत डिसेम्बरमा कार्यकाल पूरा गरी स्वदेश फर्किएका भारतीय राजदूत मञ्जिभसिंह पुरीको ठाउँमा जिम्मेवारी विनयलाई दिइएको हो । ३० वर्ष भारतीय विदेश सेवामा कार्यरत विनयले प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा तथा विदेश मन्त्रालयमा नीति योजना तथा अनुसन्धान महाशाखामा समेत काम गरिसकेका छन् ।
एक करोड बरामद
भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको ६५ लाख भारतीय रुपैयाँ कैलाली प्रहरीले बरामद गरेको छ ।
जसको नेपाली रुपैयाँ १ करोड ३ लाख हुन आउँछ । बरामद रकमसँगै प्रहरीले तीन जनालाई समेत पक्राउ गरेको छ । यस्तै उनीहरूबाटै थप एक लाख नेपाली रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।
बाजुरा बूढीगङ्गा नगरपालिका–१, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार जहरसिंह र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए ।
मंसिर ४ गते नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट उनीहरूले उक्त रकम चोरी गरेर फरार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी बस्नेतले बताउनुभयो । चोरी भएको रकमबारे भारतीय राजदूतमार्फत नेपाल प्रहरीलाई पत्रमार्फत जानकारी गराइएको थियो ।
सोही आधारमा कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्डो खनेर टिनको बाकसमा गाडिएको अवस्थामा रकम फेला परेको हो । पक्राउ परेका तीनै जनालाई कैलाली प्रहरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
वर्षा र हिमपात
पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् प्रतिभा मानन्धरले भोलिबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने बताइन् ।
हाल पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूरपश्चिमका उच्च पहाडी भू–भागका धेरैजसो स्थानमा हल्का वर्र्षा र हिमपात भइरहेको जनाएको छ ।
भोलि देशकको पहाडी भू–भागमा आंशिक बदली भई अन्य भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ । बिहीबार देशको पश्चिमी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा