केन्द्रीय संस्करण

केन्द्रीय राजनीतिमा जटिलता देखिन्छन् कहिलेकाहिँ : प्रचण्ड

person explore access_timeपुस २९, २०७६ chat_bubble_outline0
File Photo

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको माडीको विकासका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेका बताएका छन् ।

उनले केही बर्षभित्रै माडी दुर्गमबाट सुगममा परिणत हुने दावी समेत गरे । माडीको विकासका लागि आफूले माडीको जनप्रतिनिधि र एउटा पार्टीको अध्यक्षको हैसियतले माडीका जनताका समस्या समाधान गर्न माडीको पर्यटन र कृषिको विकास गरेर अघि बढ्न सकिने बताए ।

मंगलबार ‘प्रथम माडी खिचरा महोत्सव २०७६’ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफूले निर्वाचनका बेला माडी दुर्गम क्षेत्र रहँदैन भनेर गरेको प्रतिवद्धता क्रमशः पुरा हुँदै गएको बताए ।

प्रचण्डले ठोरी–केरुङ जोड्ने बाटो बन्दै गएको भन्दै अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘माडीलाई मणी बनाउन सकिन्छ । प्रचण्डले भने, ‘मैले माडीको विकासका लागि के गरिरहेको छु भन्ने कुरा माडीका जनप्रतिनिधिहरुले देखिरहनुभएको छ ।’

विद्युत, शिक्षा, रिङरोडलगायतका विषयमा आफू विकास गर्न लगातार बहस र संघर्षमा रहेको प्रचण्डको भनाई छ । उनले राष्ट्रिय निकुञ्जका कारण मानिसहरुले धेरै दुःख पाएको भन्दै त्यो ऐन संशोधनको पक्षमा आफूले काम गरिहरेको बताए ।

उनले आउने तीन बर्षमा सबैले देख्नेगरी अर्कै ठाउँमा पुग्ने बताए ।

सम्बोधनका क्रममा प्रचण्डले माडीलाई सुगम, सम्मृद्ध र केन्द्रसँग जोड्न आफू क्रियाशिल रहेको भन्दै राष्ट्रिय निकुञ्ज र माडीका जनताबीचको सम्बन्धमा आएको तिक्तता मेट्ने प्रयास भइरहेको बताए ।

उनले माडीका जनताको सम्मानकै लागि केही दिनअघि राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्दा नेकपाका नेता स्व. डीआर पौडेलकी धर्मपत्नी गंगा बेल्वासेलाई छानिएको भन्दै अब माडीबासीको प्रतिनिधित्व राष्ट्रियसभामा पनि हुने बताए ।

उनले केन्द्रीय राजनीतिमा केही जटिलता उत्पन्न हुन लागेको भन्दै यस्तो बेला पार्टीका साथीहरुले बाहिर नजान गरेको आग्रहलाई पनि वेवास्ता गर्दै २ घण्टाका लागि भएपनि आफू माडी आएको बताए ।

प्रचण्डले भने, ‘केन्द्रीय राजनीतिमा जटिलता देखा पर्न खोज्छन् कहिलेकाहिँ । तिनलाई समाधान गर्नका निम्ति लगातार छलफल गर्नुपर्ने थियो । मलाई नेताहरुले, साथीहरुले यस्तो बेलामा बाहिर नजान भनिराख्नुभएको थियो । तर मैले माडी दुई घण्टाका लागि जाने नै भएँ भनेर आएको हुँ ।’

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...