बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माइक्रोसफ्टका सीईओ सत्या नडेलाको टिप्पणी : भारतको नागरिकता संशोधन विधेयकलाई ‘दुखद् र खराब’

मङ्गलबार, २९ पुस २०७६, १६ : १४
मङ्गलबार, २९ पुस २०७६

एजेन्सी । भारतको केन्द्र सरकारले ल्याएको नागरिकता संशोधन कानुन (सीएए) संसदमा प्रस्ताव भएदेखि नै विरोध सुरु भएको थियो । कानुनको विरोधी प्रदर्शन अहिले देशव्यापी भएको छ ।  

पछिल्लो समय विश्व चर्चित सफ्टवेयर कम्पनी माइक्रोसफ्टका सीईओ सत्या नडेलाले पनि सीएएप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

भारतीय मूलका नडेलाले सीएएबारे बोल्ने क्रममा उक्त कानुनलाई ‘दुखद् र खराब’ टिप्पणी गरे । 

नडेला भारतको नागरिकता संशोधन कानुनको आलोचना गर्ने पहिलो ठूलो प्राविधिक कम्पनीका मालिक भएका छन् । 

सत्या नडेलाले म्यानहजनमा माइक्रोफ्टको आयोजना गरेको एक कार्यक्रममा सोमबार बजफिडका प्रधान सम्पादक बेन स्मिथसँग बोल्ने क्रममा भने, ‘मैले बुझेसम्म यो दुखद् र नराम्रो कुरा हो ।’

बेन स्मिथले नाडेलाको भनाइ समेत एक ट्विट गरेका छन्, जसअनुसार सत्या नडेलाले उनीसँग भने, ‘मलाई एक दिन बङ्गलादेश प्रवासीले भारत आएर भावी सफल कम्पनी स्थापित गरेको वा इन्फोसिसको सीईओ बनेको हेर्न मन छ ।’

सत्या नडेला भारतको दक्षिणी सहर हैदराबादका हुन् । उनले बेन स्मिथसँग बोल्ने क्रममा आफ्नो बहुसांस्कृतिक मूल (स्रोत) बारेमा पनि कुरा गरे । 

उनले भने, ‘म हैदराबादमा जन्मे, हुर्के । मलाई त्यहाँको जुन सांस्कृतिक विरासत प्राप्त भएको छ, त्यसमाथि मलाई गर्व छ । बाल्यकालको सम्झनामा त्यो सहरको एउटा शानदार छाप छ । हामी हैदराबादका बासिन्दा दीवाली मनाउँथ्यौँ, इद मनाउँथ्यौ, हामी क्रिसमस मनाउँथ्यौँ । यो तीनवटै चाड हाम्रा लागि निक्कै ठूलो लाग्थ्यो ।’

बेन स्मिथले नडेलाको बयान ट्विट गरेको केहीपछि नडेलाको कम्पनी माइक्रोसफ्टले पनि नडेलाको भनाइ आफ्नो ट्विटरमा पोस्ट गरेको छ । 

यसमा उनले ‘हरेक देशले आफ्नो सीमारेखा र आफ्नो राष्ट्रिय सुरक्षाका हिसाबमा प्रवासी नीति बनाउनुपर्छ । लोकतन्त्रमा यसको फैसला सरकार त्यहाँको नागरिक बीचको संवादबाट तय हुनुपर्छ’ लेखेका छन् ।

नडेलाको भनाइमा अगाडि भनिएको छ, ‘म आज जे छु त्यसमा बहुसांस्कृतिक भारतमा हुर्कंदा र अमेरिकाको आप्रवासी अनुभवको प्रभाव छ । म यस्तो भारतको कामना गर्छु जहाँ आप्रवासीले पनि एक बलियो स्टार्ट–अप स्थापना गर्ने वा बहुराष्ट्रिय निगमको नेतृत्व गर्ने आँट गरून् । यसले मात्र भारतीय समाज र समग्र अर्थतन्त्रलाई फाइदा गर्छ ।’

सत्या नडेलाको भनाइको समर्थनमा धेरै मानिस अगाडि आएका छन् । 

प्रसिद्ध भारतीय इतिहासकार रामचन्द्र गुहाले नडेलाको भनाइबारे ट्विट गर्दै लेखेको छन्, ‘नडेलाले जे भने, त्यसबाट मलाई खुसी लागेको छ । मलाई भारतीय आईटी कम्पनीका प्रमुख पनि यस्तो साहस र बुद्धिमता प्रदर्शन गरून् भन्ने इच्छा थियो । अहिले पनि त्यसका लागि समय छ ।’

अन्य पत्रकार र मूर्धन्य व्यक्तिले पनि सत्या नडेलाको भनाइप्रति समर्थन गरिरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप