केन्द्रीय संस्करण

सुलेमानी हत्या प्रकरण : इरान अमेरिका द्वन्द्वको पछिल्लो कारण

person explore access_timeपुस २९, २०७६ chat_bubble_outline0

गत जनवरी ३ तारिखका दिन बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल बाहिर कारमा सवार इरानी कुद्र्स फोर्सका सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकी हवाई हमलामा मृत्यु भएपछि इरान र अमेरिका बीचको शत्रुतापूर्ण दूरी निरन्तर बढ्दो क्रममा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठाडो आदेशमा अमेरिकी सेनाको मानवरहित ड्रोन विमानबाट प्रहार गरिएको रकेट आक्रमणमा परेर सुलेमानीको मृत्यु भएपछि दुई देशका  राष्ट्र प्रमुखहरू वाकयुद्धमा निरन्तर सहभागी भएका छन् । इरान अमेरिका सम्बन्ध डोनाल्ड ट्रम्पको सत्तारोहणसँगै निरन्तर तीक्ततापूर्ण बन्दै गएको पृष्ठभूमिमा सुलेमानी हत्या प्रकरणले आगोमा घिउको काम गरिरहेको छ । ट्रम्पका आक्रामक अभिव्यक्तिहरूको इरानी उच्च तहले कठोर जवाफ फर्काउँदै आइरहेको छ । 

ओपेकको सदस्य राष्ट्र हुनुका नाताले इरानी तेल विश्व बजारको महत्त्वपूर्ण  अङ्ग हो । पर्सियन खाडीको बाटो हुँदै विश्व बजारमा आपूर्ति हुने तेल हर्मुज स्ट्रेट हुँदै विभिन्न गन्तव्यमा जाने गर्दछ । हर्मुज स्ट्रेट पूर्ण रूपमा इरानी नियन्त्रणमा रहेको छ । जुन मार्ग हुँदै बहराइन, ओमान, कुवेत, कतार, इरान र साउदी अरबले विश्व बजारमा तेल निर्यात गर्दछन् । अमेरिका हर्मुज स्ट्रेट माथिको इरानी नियन्त्रणलाई भत्काएर मध्यपूर्वको सबैभन्दा ठूलो आम्दानीको स्रोत तेल माथि आफ्नो अधिकार बलियो बनाउन चाहन्छ । यसका निम्ति मध्यपूर्वका प्रमुख दुई देश साउदी अरब र इजरायल अमेरिकी महत्त्वकाङ्क्षालाई मदत गरिरहेका छन् । सुन्नी बाहुल्य मुलुक साउदी अरब र यहुदी बाहुल्य मुलुक इजरायल सिया बाहुल्य मुलुक इरानलाई अमेरिकी सहयोगमा घुँडा टेकाउन चाहन्छन् । 

इरानप्रति नरम देखिएका पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले इरान परमाणु सम्झौतामार्फत इरानको परमाणु उत्पादनलाई नियन्त्रण कायम गरे पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा उक्त सम्झौताबाट एकतर्फी रूपमा अमेरिका अलग भएको घोषणा गरेका थिए । ट्रम्पको उक्त घोषणाले इरान परमाणु सम्झौतामा हस्ताक्षर गर्ने युरोपेली राष्ट्रहरू बेलायत, फ्रान्स र जर्मनी चिडिएका थिए । इरानमा गरिएको अर्बौं डलरको लगानी डुब्ने चिन्ता युरोपेली राष्ट्रहरूका मनमा थियो । अमेरिकी कदमले युरोपेली लगानीकर्ताहरूमा उत्पन्न भय सेलाउन नपाउँदै इरान अमेरिका बीचको तनावले निकै उचाइ लिइसकेको थियो । जसको फलस्वरूप इरानले युरेनियम संवद्र्धनको कामलाई पुन सुचारु गर्‍यो भने अमेरिकाले इरानमाथिको नाकाबन्दीलाई निकै कडा बनाउँदै लग्यो । त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेयो तथा इरानी सर्वाेच्च नेता आयोतल्लाह अलि खमेनी र इरानी राष्ट्रपति हसन रुहानी एकअर्काे देशविरुद्ध शब्दयुद्धमा उत्रिए । 

अमेरिकी ड्रोन हमलामा कासिम सुलेमानी मारिनुलाई मध्यपूर्वमा अमेरिकी प्रभुत्व कायम राख्ने पछिल्लो कदमका रूपमा लिन सकिन्छ । इरानलाई मध्यपूर्वमा शक्तिशाली बनाउने तेजस्वी दिमाग भएका व्यक्तिका रूपमा उनलाई हेरिएको थियो । सुलेमानी इरानभित्र मात्र नभई मध्यपूर्वकै कुशल सैन्य र राजनीतिक खेलाडी थिए । उनको कुशल सैन्य र कूटनीतिक गतिविधिबाट मध्यपूर्वमा अमेरिकी प्रभुत्व प्रभावित थियो । इरानी नजरमा सुलेमानी मध्यपूर्वमा इरानको महत्त्वकाङ्क्षा कार्यान्वयन गर्ने कुशल योजनाकार थिए । सुलेमानीको गैरन्यायिक हत्या अमेरिकाका निम्ति लज्जाको विषय हो भने इरानका लागि अपूरणीय क्षति हो । 

अमेरिका इरानका बीच सुलेमानी हत्या प्रकरणले उब्जाएको पछिल्लो परिस्थितिप्रति विश्वका शक्तिसम्पन्न राष्ट्रहरूले गम्भीरतापूर्वक समीक्षा गरिरहेका छन् । विशेष गरेर मध्यपूर्वमा इरानका शत्रु राष्ट्र साउदी अरब र इजरायलले इरानमाथि अमेरिकी सैन्य कारवाही अपरिहार्य रहँदै आएको बताएका छन् । साउदी अरब इरानको पराजयले आफ्नो उन्नयन बढ्ने दाउमा छ । केही महिना पहिले साउदी अरबको सबैभन्दा ठूलो तेल उत्पादन केन्द्र अरामकोमा हुथी विद्रोहीले गरेको हमलामा इरान र सुलेमानीको संलग्नता रहेको आरोप अमेरिका र साउदीको छ भने इरानले त्यो आरोप निराधार रहेको बताउँदै आएको छ । यसै सेरोफेरोमा विश्वका प्रमुख शक्तिसम्पन्न राष्ट्रहरू बेलायत, जर्मनी, फ्रान्स, चीन र रुसले अमेरिका इरानका बीचको विकसित पछिल्लो घटनाक्रमप्रति गहन समीक्षा गरिरहेका छन् । यसका निम्ति जर्मन चान्सलर एन्जेला मर्केल र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा रुसी विदेशमन्त्री र चिनियाँ विदेशमन्त्रीको भेटवार्ता तय गरिएको छ । 

आणविक शक्तिसम्पन्न युरोपेली राष्ट्र बेलायत र फ्रान्सले अमेरिकाको इरान नीतिमा असहयोग गर्ने सम्भावना उच्च छ । किनकि यी राष्ट्रहरू सन् २०१८ मे ९ तारिखमा इरान परमाणु सम्झौताबाट अमेरिका एकतर्फी रूपमा अलग भएसँगै ट्रम्पसँग असन्तुष्ट छन् । रुस र चीनले भरसक युद्धलाई टार्न हरसम्भव प्रयास गर्ने छन् । यदि अमेरिका इरान युद्धमा होमियो भने रुस र चीनको समर्थन इरानलाई हुन जान्छ । युरोपेली युनियन पनि अमेरिकासँग सन्तुष्ट नभएको पृष्ठभूमिमा इरानमाथि अमेरिकी फौज होमिनु अमेरिकाका निम्ति महँगो पर्ने सुनिश्चित छ । यसअघि उत्तर कोरियासँग युद्धको सँघारमा पुगिसकेको ट्रम्प सरकार अचानक वार्तामा उभिएको घटना ताजै छ । इरान युद्ध आरम्भ भए ट्रम्प सरकार अन्तर्राष्ट्रिय समुदायबाट मात्र नभई स्वयं आन्तरिक रूपमा एक्लिने सम्भावनालाई नजरअन्दाज गर्न सकिँदैन ।

इराकी भूमिमा अमेरिकी ड्रोन हमलामा परेर कÞासिम सुलेमानीको हत्या भएको घटनाप्रति इराकी प्रधानमन्त्री आदिल अब्दुल महदीले अमेरिकाको निर्मम आलोचना गरेका छन् । उक्त हत्याकाण्डलाई इराकी सार्वभौमसत्तामाथिको हमलाका रूपमा गराइएको बुझाइ इराकी पक्षको छ । त्यसको लगत्तै इराकी संसदले आफ्नो भूमिबाट अमेरिकी सेनालाई देश छोड्न निर्देशन दिएको छ । यद्यपि ट्रम्प सरकारले इराकबाट आफ्ना पाँच हजार सेना फिर्ता नहुने बताएको छ । ट्रम्पले इराकमाथि इरानको भन्दा कडा प्रतिबन्ध लगाउने उद्घोष गरिसकेका छन् । मध्यपूर्वको राजनीतिक स्थायित्वमा अमेरिकी हस्तक्षेपको विरोध इरान लगायत उसका पक्षमा उभिएका देशहरूले निरन्तर गरिरहेका छन् । 

आफ्ना सैन्य कमान्डर एवं मास्टर माइन्डेड जनरल कासिम सुलेमानीको शवयात्रामा इरानका सर्वोच्च धार्मिक नेता आयोतल्लाह अली खमेनीले अमेरिकालाई उचित सैन्य जवाफ दिने बताएको केही समयपछि इरानी सेनाले इराकस्थित अमेरिकी सैनिक बेस क्याम्पमा रकेट हमला गर्‍यो । यसबाट विश्व समुदायले इरान अमेरिका युद्ध सुनिश्चित भएको विश्लेषण गर्‍यो । इरानी सर्वोच्च नेता खमेनीले उक्त कारवाहीलाई अमेरिकाको गालामा हानेको झापड भनी प्रतिक्रिया दिए । उनले अमेरिकाले अझै कडा आक्रमणको सामना गर्नुपर्ने प्रतिक्रिया दिए ।

तथापि जनवरी ८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा केही नरम भाषाको प्रयोग गर्दै इरानको परमाणु शक्तिसम्पन्न राष्ट्र बन्ने महत्त्वकाङ्क्षा पूरा हुन नदिने प्रतिक्रिया दिए । जसबाट अमेरिका तत्काल इरानसँग युद्ध नगर्ने सोचमा पुगेको सङ्केत पाउन सकिन्छ । 

केही महिना अगाडि अरब सागरमा तेल बोकेका जहाजमाथि भएको आगजनी कासिम सुलेमानीको डिजाइनमा भएको आरोप अमेरिकाको पक्षमा उभिएका मुलुकहरूले लगाएका थिए । सुलेमानीले मध्यपूर्वबाट अमेरिकी सेना हटाउन विभिन्न योजनाहरू बनाइरहेको आरोप स्वयं अमेरिकाको थियो । यद्यपि त्यसको स्वतन्त्र पुष्टि भने भएको छैन । सुलेमानीको हत्यालाई अमेरिकाले धन जनको क्षति रोक्न गरिएको कारबाही भन्दै जवाफ दिने गरेको छ । इरानको सैन्य क्षमता अमेरिकाभन्दा कमजोर भए पनि रुस र चीनजस्ता परमाणु शक्तिसम्पन्न मुलुकहरूको साथ इरानलाई हुनसक्ने आकलन विश्लेषकहरूको रहँदै आएको छ । 

सुलेमानी हत्या प्रकरणपश्चात चर्किएको अमेरिका इरान द्वन्द्वलाई कतिपयले तेस्रो विश्वयुद्धको प्रारम्भका रूपमा टिप्पणी गरेका छन् । तेस्रो विश्वयुद्ध मानव अस्तित्वका लागि घातक हुने हुनाले यसका निम्ति परमाणु शक्तिसम्पन्न राष्ट्रहरूले सैन्य उन्माद त्यागेर वार्ताका माध्यमबाट समस्या समाधानका उपायहरू निकाल्नु पर्दछ । शीतयुद्धको अन्त्य (सन् १९९० को दशक) देखि विश्वभर अमेरिकी प्रभुत्व कायम छ । अमेरिकाले शीतयुद्धको अवधिमा पनि भियतनाम युद्ध र कोरियाली युद्धमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागिता जनाएको थियो ।

जसमा करिब साठी लाख मानिसहरूको जीवन समाप्त भयो । इराक अफगानिस्तान युद्धमा पनि लाखौँ निर्दोषहरूले जीवन गुमाए । उक्त युद्धहरूमा अमेरिका र उसका सहयोगी देशहरूले पनि ठूलो धनजनको क्षति बेहोर्नुपर्‍यो । पछिल्ला केही दशकयता परमाणु हतियार उत्पादनको विश्वव्यापी होड चलिरहेको परिप्रेक्ष्यमा तेस्रो विश्वयुद्धको सम्भावनालाई पूर्ण रूपमा नकार्न भने सकिँदैन । तथापि युद्ध समस्याको समाधान कदापि हुनै सक्दैन । 

मध्यपूर्वको राजनीतिक स्थायित्व विश्व शान्तिको अभिन्न अङ्ग हो । त्यहाँ सक्रिय सियावादी र सुन्नीवादी आतङ्ककारी सङ्गठनहरूका कारण र त्यसको नियन्त्रणका नाममा हुने बाह्य मुलुकहरूको राजनीतिक एवं सैन्य हस्तक्षेपले धेरै निर्दोष मानिसहरूको रगत बगिसकेको छ । अरब राष्ट्रहरूमा पाइने प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थमाथि पश्चिमा राष्ट्रहरूको बक्र दृष्टिकोण मध्यपूर्वको द्वन्द्व समाधानको प्रमुख चुनौती हो । हतियार उत्पादन गरेर द्वन्द्वग्रस्त क्षेत्रहरूमा बिक्री गर्ने अमेरिका र रुसका व्यापारिक एवं सामरिक स्वार्थहरू पनि त्यतिकै जिम्मेवार छन् । विश्व बजारमा आफ्नो बलियो पकड कायम गर्ने चिनियाँ स्वार्थ पनि यसमा जोडिएर आउने विषय हो । अमेरिकी सत्ताका निम्ति इरान सधैँ टाउको दुखाइको विषय बन्ने गरेको यथार्थ जगजाहेर छ । शासकीय अहमको चेपुवामा निर्दोष मानिसहरू पर्नु सबैका निम्ति दुखद् विषय हो । 

अमेरिका इरानका बीचको द्वन्द्वको असर संसारभर परेको छ । विशेष गरेर तेल आपूर्तिमा यसको गम्भीर असर देखिएको छ । विश्व बजारमा आपूर्ति हुने पेट्रोलियम पदार्थ र ग्यास निर्यातको मुख्य क्षेत्र पर्सियन खाडी र ओमनको खाडी अशान्त बन्दा कच्चा तेलको मूल्य वृद्धि भएको छ भने अमेरिकी अर्थतन्त्रको प्रमुख हिस्सा सुनको मूल्य निरन्तर उकालो लागेको छ । कच्चा तेलको मूल्य वृद्धिले ढुवानी लागत बढ्ने र वस्तुको उत्पादन तथा बिक्री स्वतः महँगिने सुनिश्चित छ । जसको फलस्वरूप संसारभरको अर्थतन्त्रमा गम्भीर सङ्कट उत्पन्न हुन जान्छ । मुद्रास्फीतिले कमजोर अर्थतन्त्र भएका मुलुकको दैनिक जीवनयापन थप कष्टकर बन्दै जानेछ । 

परमाणु हतियार सम्पन्न मुलुकहरूका बीच बढ्दै गएको युद्ध उन्माद आजको विश्वको साझा चुनौती हो । शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घका दर्जनौँ दस्तावेजमा हस्ताक्षर गरेका मुलुकहरू त्यसको अक्षरशः परिपालनामा प्रतिबद्ध देखिँदैनन् । परमाणु हतियार निशस्त्रीकरणका बारेमा बेलाबेला बहसहरू हुने गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा अमेरिका, रुस, चीन, बेलायत, फ्रान्स, भारत, पाकिस्तान, इजरायल आदि मुलुकहरू व्यावहारिक रूपमा अग्रसर भएका छैनन् । परमाणु शक्ति मानव हितका पक्षमा भन्दा पनि शासकीय सत्ता उन्मादको रक्षा कवचमा रूपान्तरित छ । जसले धर्तीको अस्तित्वमाथि खुला चुनौती थपेको छ । डोनाल्ड ट्रम्पका पछिल्ला ट्विटर सन्देशहरू र पत्रकार सम्मेलनका क्रममा दिइएका अभिव्यक्तिहरूले सत्ता उन्मादमा परमाणु हतियार बलियो आधार भएको सिद्ध हुन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.