मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालपारीका विद्यालय पोखरामा

मङ्गलबार, २९ पुस २०७६, १३ : ४३
मङ्गलबार, २९ पुस २०७६

पोखरा । हिउँदमा अत्यधिक हिमपातले हिमाली भेगको जनजीवन प्रभावित बन्छ । अरु काम त परै जाओस् घरदेखि बाहिर निस्कन समेत मुश्किल पर्छ यो याममा ।  हिउँले दैनिकी कष्टकर बनेपछि हिमाली भेगदेखि स्थानीय प्रायजसो जाडो छल्न तल्लो भेगमा झर्ने गर्छन् । स्थानीय बेसीँ झरेपछि पठनपाठन ठप्प नहोस् भनेर हिमाली भेगका विद्यालयले घुम्ती कक्षा सञ्चालन गर्ने गर्छन् । 

यसवर्ष पनि जाडो छल्न हिमाली जिल्लादेखि विद्यालयहरु पोखरामा झरेका छन् । हिमाली जिल्ला मुस्ताङदेखि विद्यालयहरु पोखरामा झरेका छन् । दिब्य दीप माध्यमिक विद्यालयका प्रधानध्यापक राम श्रेष्ठले चिसो बढेपछि मुस्ताङका सबै विद्यालयदेखि सबैजसो विद्यालय पोखरामा झरेको जानकारी दिए । उनका अनुसार कात्तिकदेखि फागुनसम्म चल्ने पोखरामा विद्यालयहरुले घुम्ती कक्षा सञ्चालन गर्ने गर्छन् । 

‘जाडो सुरु भई सकेपछि चिसो पनि अत्यधिक बढ्ने,’ उनले भने, ‘अभिभावकहरु पनि व्यापारका लागि पोखरामा झर्ने भएकाले हिमालमा विद्यालय सञ्चालन गर्न सकिएन । त्यसैले पनि हामीले घुम्ती स्कुल सञ्चालन गर्दै आएका छौं ।’ 

शिक्षा विकास समन्वय इकाई समिति मुस्ताङका प्रमुख टंक बरालले २० वटा विद्यालयले पोखरामा घुम्ती कक्षा सञ्चालन गरिरहेको जानकारी दिए । जिल्लामा जम्माजम्मी ५४ सामुदायिक विद्यालय रहेकोमा २० विद्यालयले पोखरा आसपासका क्षेत्रमा घुम्ति कक्षा सञ्चालन गरेको उनले सुनाए । ‘५४ विद्यालयमध्ये हाम्रो २० वटा विद्यालय अहिले पोखरा र पोखरा आसपासका क्षेत्रमा घुम्ती विद्यालय सञ्चालन गरिरहेका छन्,’ उनले भने । 
लोक हेकर गाउँपालिकाका ८, लोमान्थाङ गाउँपालिकाका १० र मुक्तिनाथ बारागुङदेखि २ विद्यालय गरी २० विद्यालय पोखरा आसपासका क्षेत्रमा झरेको उनले सुनाए । घुम्ती बाहेकका विद्यालयमा अत्यधिक हिमपातका कारण पुस र माघमा बिदा हुने उनले जानकारी दिए । फागुनदेखि नयाँ सेशन सुरु हुने गरी कक्षा सञ्चालन गरेर २ महिना बिदा दिइने गरेको उनले बताए । 

घुम्ती कक्षा सञ्चालन गर्ने २० विद्यालयमध्ये ७ वटा केन्द्रमा बाँडेर कक्षा सञ्चालन हुँदै आएको उनले जानकारी दिए । विद्यालयका ७ केन्द्रमध्ये प्रतिकेन्द्र ३ लाख ५० हजार रुपैयाँ अनुदान केन्द्र सरकारबाट पाइने उनले बताए । ‘केन्द्रबाट छुट्याइएको रकम नपुगेको खण्डमा गाउँपालिकाले पनि आफ्नो विद्यालयलाई अनुदान दिएर घुम्ती विद्यालय सञ्चालन हुँदै आएको छ,’ उनले भने । 

घुम्ती विद्यालय सञ्चालन गर्न सुरुवाती समयमा गाह्रो भए पनि अहिले सहज अवस्थामा विद्यालय सञ्चालन भइरहेको उनले सुनाए । छोसेर गाउँपालिकाको दिब्य दीप माविको विजयपुर आर्मी ब्यारेक नजिकै बिल्डिङ बनाएर विद्यालय सञ्चालन गरि रहेको उनले जानकारी दिए । दिब्य दीपको बिल्डिङमा अरु ३ विद्यालय पनि सञ्चालन हुँदै आएकाले उनले बताए । यस्तै, लोमान्थाङ गाउँपालिकाका ६ विद्यालय हेम्जास्थित आफ्नै बिल्डिङमा सञ्चालन हुँदै आएको उनले सुनाए । विदेशी डोनरको सहयोगमा बनेको उक्त स्कुलमा शिक्षक विद्यार्थीको लागि खानेबस्ने सुविधा पनि रहेको उनले सुनाए । 

लोकहेकर दामोदर कुन्डका ६ प्राइमरी स्कुलको भने बिल्डिङ नएको हुँदा दुलेगौंडामा बिल्डिङ भाडामा लिएर सञ्चालन हुँदै आएको उनले बताए । वारागुङ मुक्तिक्षेत्रको विद्यालयको पनि आफ्नै बिल्डिङ नभएको हुनाले भाडामा बिल्डिङ लिएर सञ्चालन हुँदै आएको उनले जानकारी दिए । 

घुम्ती विद्यालय विद्यार्थीहरुका लागि निकै फलदायी बनेको उनको भनाई छ । ‘माथिल्लो भेगमा शिक्षक पनि बस्न नसक्ने, अभिभावक पनि हिमपातकै कारण बच्चाहरु लिएर तल्लो भेगमा बसाई सरेर आउने हुन्छ, पढाईका कोर्स पनि नसकिने,’ उनले भने, ‘यसरी, विद्यालय सञ्चालन गर्न एकदमै गाह्रो थियो । अहिले घुम्ती विद्यालयले विद्यार्थीहरुको लागि पनि धेरै ने राम्रो गरिरहेको छ ।’

बैशाखको पहिलो हप्तादेखि नै सुरुवात भएका घुम्ती विद्यालयहरु दसैं/तिहारको बिदापछि घुम्ती कक्षाको लागि तल्लो भेगमा झर्ने गर्छन् । हिमाली भेगका विद्यालयले घुम्ती विद्यालय सञ्चालन गर्नको लागि विद्यालयले माग गरेको खण्डमा सञ्चालन गर्न पाउने प्रावधान छ । 

हिमाली भेगका विद्यालयलाई घुम्ती विद्यालय सञ्चालन गर्नको लागि कानुनी व्यवस्था पनि छ ।  तस्बिर: दिब्य दीप मावि छोसेर 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप