केन्द्रीय संस्करण
मध्यपूर्वमा तनाव

‘मर्नका लागि शतप्रतिशत तयार थियौँ’

इरानी क्षेप्यास्त्र हमलामा सद्दाम हुसेनकालीन बङ्करले जोगिए अमेरिका सेना

person explore access_timeपुस २९, २०७६ chat_bubble_outline0

अकिम फर्गुसन बङ्करमै थिए जब उनको टोलीले मन नै चिसो बनाउने रेडियो सङ्केत पाए – छ वटा इरानी ब्यालिस्टिक क्षेप्यास्त्र उनीहरुकै दिशामा आउँदैछ ।

उनीहरु बसिरहेको कंक्रिटको स्ल्याबले इराकमा रहेका अमेरिकी सेनाहरुमाथि प्रहार गरिएको क्षेप्यास्त्रबाट निकै कम सुरक्षा प्रदान गर्दथ्यो ।

‘मैले छेउमा रहेको बन्दुक समाते, टोउको तल गरेँ र एउटा शान्त कुना खोज्न थाले ताकि मस्तिष्कमै भए पनि म मेरो छोरीका लागि गीत गाउन सकुँ,’ ६ फुट अग्ला अमेरिकी सार्जेन्टले सुनाए, ‘त्यसपछि कतिबेला क्षेप्यास्त्र खस्छ भनेर पर्खेर बसेँ । जे भएपनि चाँडै सकियोस् भन्ने आशा गरेँ ।’

‘म मर्नका लागि शतप्रतिशत तयार थिएँ,’ उनले भने ।

 

फोटो : सार्जेन्ट फर्गुसन इराकको क्षेप्यास्त्र हमलाका क्रममा उनी बसेको बङ्कर जस्तै अर्को अमेरिकी सेनाको बङ्कर अगाडि ।

जनवरी ८ को विहान इराकको अल–असाद बेसमा गरिएको इरानी ब्यालिस्टिक क्षेप्यास्त्र हमलामा फर्गुसनसहित अन्य अमेरिकी सेनाहरु सुरक्षित रहे ।

अमेरिकी सेनाको बेसमा यत्रो ठूलो मात्रामा क्षेप्यास्त्र हमला गरिएको पछिल्लो दशकमा नै यो पहिलो पटक थियो । यस घटनामा कसैलाई केही नहुनुलाई धेरैले ‘चमत्कार’ नै मान्छन् ।

आईएसआईएसविरुद्ध कारवाही चलाउन र इराकी सुरक्षाफौजलाई प्रशिक्षण दिनका लागि अमेरिकी सेना उक्त बेसमा तैनाथ छन् । इरानको क्षेप्यास्त्र हमलामा कुनै इराकी सैनिक पनि घाइते भएनन् ।

बेसको अध्ययन गर्दा अमेरिकी सैनिकहरु यस्तो प्रकारको हमलाका लागि असुरक्षित रहेको देखाउँछ । अमेरिकी सेनाले क्षेप्यास्त्र हमला हुनुभन्दा धेरै घण्टा पहिले नै यसबारे सूचना पाएका थिए, जसले गर्दा उनीहरुले ‘कभर’ लिन पाए । यसका बावजुद उनीहरुसँग यस्तो क्षेप्यास्त्र हमला रोक्नका लागि जमिनबाट आकाशमा हान्ने ‘एयर डिफेन्स’ सुरक्षा प्रणाली थिएन । अमेरिकी सेनाले इराकको सबैभन्दा पूरानो र ठूलो बेसमा यस्तो हमलाबाट जोगिनका लागि कुनै संरचना नै बनाएको थिएन । उनीहरु ‘भाग्य’ भरोसा बाँचेका थिए ।

बेसको एयरफिल्डमा यत्रतत्र छरिएका फलामका टुक्राबीच ठूलो भ्वाङ परेको थियो । क्षेप्यास्त्रले पारेको उक्त खाल्डोलाई दुई जना अमेरिकी सेनाले नाप्दै थिए । त्यसको गहिराई करिब दुई मिटर थियो भने त्यसको ब्यास ३ मिटरको थियो ।

खाल्डोको छेउमा ‘ब्युटी एण्ड द बिस्ट’ नामक चलचित्रको एउटा जलेको कपी थियो । सँगै, एउटा चप्पल, उनो कार्ड र सेनाको ज्याकेट पनि छरिएको थियो ।

ध्वस्त भएको स्थानमा त्यहाँ ड्रोन पाइलटहरु बस्ने गर्थे । उनीहरुलाई क्षेप्यास्त्र हमलाअघि त्यहाँबाट सारिएको थियो । संयोग मान्नुपर्छ, उनीहरुले त्यो भवनको नाम नै ‘लथालिङ्ग’ भनेर राखेका थिए ।

बेसमा रहेको अमेरिकी सेनाको क्षेत्रमा पहिलो क्षेप्यास्त्र खस्नभन्दा दुई घण्टाअघि नै सबैलाई बङ्करमा सुरक्षित सारिसकिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका सबैभन्दा शक्तिशाली जनरल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा हत्या गरिएको जवाफमा उक्त क्षेप्यास्त्र हमला भएको थियो ।

हत्यापछि नै तेहरानले जवाफी हमला गर्ने आशंकामा अमेरिकी सेनाहरु हाइ–अलर्टमा थिए । ईरानको ‘शुन्य मानवक्षति’ सहितको जवाफी कारवाहीपछि धेरैले राहतको श्वास फेरे । अल–असाद क्याम्पमा अमेरिकी सेनाहरु कति दिनपछि बल्ल आनन्द निदाउन पाए ।

११ मध्ये दश क्षेप्यास्त्र इराकी एयरबेसमा रहेको अमेरिकी सेनाको क्षेत्रमा खसेको थियो भने बाँकी एउटा इराकी सेना रहेको क्षेत्रमा परेको थियो ।

बेसको एक तिहाई क्षेत्रलाई अमेरिकी सेनाले नियन्त्रण गरेको छ । अन बोर्ड गाइडेन्स सिस्टम जडान भएको मिसाइलले अमेरिकी सेनाको संवेदनशील क्षेत्रमा नोक्सानी पु¥याउन सफल रह्यो । जसमा स्पेसल फोर्सको कम्पाउन्ड, दुई ह्याङ्गर र ड्रोन सञ्चालन गर्ने गृह थिए ।

पूर्ववत सूचना

गुप्तचरको सिग्नलबाट साँझ नै सम्भावित क्षेप्यास्त्र हमलाबारे सूचना आएको थियो । जनवरी ७ मा राति ११ बजेभित्र अल असादमा रहेका प्रायः सबै अमेरिकी सेना बङ्करभित्र छिरिसकेका थिए । बेसमा रहेका कमान्डरहरुका अनुसार अन्य केहीलाई भने अन्यत्र सारिसकिएको थियो ।

केवल टावर गार्ड र ड्रोन पाइलट मात्र बङ्करभित्र थिएनन् । उनीहरु क्षेप्यास्त्र हमलापछि जमिनबाट हुनसक्ने सम्भावित हमलाका लागि तैनाथ थिए ।

(फोटो : क्षेप्यास्त्र हमलापछि अल असाद बेसको दृश्य)

तर, जमिनबाट कुनै आक्रमण भएन । सैनिकहरु झिसमिसे उज्यालो भएपछि मात्र बङ्करबाट बाहिर निस्किए । क्षेप्यास्त्र हमला बिहान ४ बजे आसपास सकिएको थियो ।

इराकी प्रधानमन्त्री अदिल अब्दुल महदीले मध्यरातमा नै इरानले आफूलाई हवाई हमलाबारे जानकारी दिएको जानकारी दिएका थिए । एक कुटनीतिज्ञका अनुसार इराकी पक्षले नै अमेरिकालाई हवाई आक्रमणबारे जानकारी दिएको थियो ।

अल असादका लेफ्टिनेन्ट कर्णेल टिम गार्लेन्ड भने इराकी पक्षले क्षेप्यास्त्र हमलाबारे जानकारी गराउनअघि नै आफूहरुलाई सोबारे सूचना आइसकेको दाबी गर्छन् ।

पहिलो क्षेप्यास्त्र १ बजेर ३४ मिनेटमा बेसमा खसेको थियो । त्यसपछि १५ मिनेटको अन्तरालमा ३ वटा थप क्षेप्यास्त्र खसेको थियो । त्यसपछि दुई घटना बढीसम्म केही समयको अन्तरालमा क्षेप्यास्त्रहरु खसिरहे । त्यो समय आफूहरु अनिश्य, डर र लाचार बनेको भावनाले गस्त बनेको अमेरिकी सेनाका जवानहरु सुनाउँछन् ।

‘तपाईं सैनिक हमलालाई प्रतिरक्षा गर्न सक्नुहुन्छ, तर यस्तो हमलामा सक्नुहुन्न,’ बेसमा अमेरिकी एयरफेर्सका क्याप्टेन प्याट्रिक लिभिङस्टोनले भने, ‘तत्काललाई यो बेसमा क्षेप्यास्त्र हमलालाई प्रतिरक्षा गर्ने क्षमता छैन ।’

सद्दाम हुसेनकालीन बङ्कर

क्षेप्यास्त्रको सम्भावित हमलाको समय नजिकिँदै गएपछि प्रायः सबै अमेरिकी सैनिक पिरामिड आकारको भवनमा एकत्रित भए । ती बङ्कर सत्ताच्यूत गरिएका इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनको पालामा निर्माण भएको थियो । तीनलाई दशकौँ अघि इरानको सम्भावित हमलाबाट बच्नकै लागि निर्माण गरिएको थियो । इराक र इरानले सन् १९८० देखि १९८८ सम्म आठ वर्ष लामो युद्ध लडेको थियो ।

अमेरिकी सेनाका अनुसार ती बङ्कर इरानको क्षेप्यास्त्रको हमला थेग्छ कि थेग्दैन भन्नेमा उनीहरु आश्वस्त थिएनन् । तर, रकेट र मोर्टार हमलाबाट बच्न बनाइएका अमेरिकी बङ्करहरुभन्दा चाहिँ दह्रो रहेको उनीहरुको ठम्याइ थियो । आईएसआईएस, जियादी चरमपन्थी र शिया प्यारामिलिटरीले हल्का तौल भएका रकेटहरु अमेरिकी सेनाविरुद्ध प्रयोग गर्दै आएका थिए । तर, इरानले प्रहार गरेका क्षेप्यास्त्रमा तीभन्दा कयौँ गुणा धेरै विस्फोटक पदार्थ थियो । तिनको तौल औसतमा आधा टन रहेको अनुमान छ ।

सद्दामकालीन बङ्करभित्र जान साँघुरो हलबाट भित्र छिर्न पर्थ्यो । भित्ताहरुमा बाक्ला दुई पत्र थिए । त्यहाँ दुईवटा ठूला हल थियो जसमा फोल्डिङ बेड, म्याटरेस, स्ट्रेचर र लकरहरु थिए । क्षेप्यास्त्र हमलाको बेला एउटा रुमलाई बाथरुमका रुपमा प्रयोग गरिएको थियो जसमा प्लास्टिक बोतलहरुलाई काटेर ट्वाइलेट बनाइएको थियो ।

‘जब हामी त्यहाँ पुग्यौँ मलाई लाग्यो हामीले यहाँ आएर ठूलो गल्ती ग-यौँ भन्ने लाग्यो,’ लेफ्टिनेन्ट कर्णेल स्टेसी कोलम्यानले भनिन्, ‘दश मिनेटपछि बुम, बुम, बुम विस्फोट हुन थाल्यो । निकै ठूलो आवाज थियो, जमिन हल्लिन थाल्यो । विस्फोटको वेभ यहाँसम्म महसुस गर्न सकिन्थ्यो ।’

‘हामीलाई यो हमला कहिले सकिन्छ भन्ने थाहा थिएन,’ उनले भनिन्, ‘हामीले त्यहीँ नै पर्खेर बस्यौँ ।’

पहिलो चरणको क्षेप्यास्त्र खसेपछि केही साथी कोही हताहत वा घाइते भए कि भनेर खोज्न बाहिर गए । १५ मिनेटपछि दोस्रो पटक जब क्षेप्यास्त्र खस्यो, केही साथीहरु बाहिर नै परे ।

सार्जेन्ट फर्गुसनका अनुसार बाहिर भएका साथीहरुबारे उनी चिन्तित थिए । ‘दोस्रो चरणको क्षेप्यास्त्र प्रहार सकेपछि गेटमा रहेका केही साथीहरुलाई मैले तानेर भित्र ल्याएँ,’ उनले भने, ‘त्यसपछि हामीले प्रतिक्षा गर्दै बस्यौँ ।’

क्षेप्यास्त्रपछि जमिनबाट पनि हमला हुनसक्ने अनुमान अमेरिकी सेनाहरुले गरेका थिए । त्यही भएर उनीहरु फेरि बन्दुक बोकर अर्को सम्भावित हमलाका लागि तैनाथ बने । तर, त्यो कहिले पनि भएन ।

‘हामीले क्षेप्यास्त्र प्रहार हुँदा जस्तो डर महसुस ग-यौँ, यो संसारमा कसैले पनि गर्न नपरोस्,’ फर्गुसनले बिट मारे ।

स्रोत : https://edition.cnn.com/2020/01/13/middleeast/iran-strike-al-asad-base-iraq-exclusive-intl/index.html

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.