शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनामा पहिरो : भाल्भर्डे बर्खास्त नयाँ प्रशिक्षकमा सेटिन

मङ्गलबार, २९ पुस २०७६, १० : ००
मङ्गलबार, २९ पुस २०७६

पाँच दिनअघि साउदी अरबमा भएको स्पेनिस सुपरकपको सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग पराजित भएपछि बार्सिलोनाको व्यवस्थापन पक्ष रुस्ट बनेको थियो । फुटबलमा हार खान नचाहन बार्सिलोनाले सुपरकपमा हारको मुख्य कारण प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई ठानेको थियो ।

बार्सिलोनाका खेलाडी पनि भाल्भर्डेसँग त्यति खुसी देखिएनन् । सुपरकपमा खेपेको हारकै कारण बार्सिलोनाले सोमबार प्रशिक्षक भाल्भर्डेलाई बर्खास्त गरेको छ । बार्सिलोनाले भाल्भर्डेलाई बर्खास्त गर्नासाथ क्विक सेटिनलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

सेटिन रियल बेटिसका पूर्व प्रशिक्षक हुन् । बार्सिलोनाले सेटिनलाई २०२२ को जुन सम्म अनुबन्ध गरेको विज्ञप्तीमा उल्लेख छ । बार्सिलोनाका ६१ वर्षीय नयाँ प्रशिक्षक सेटिनले आफू आक्रामक फुटबलमा केन्द्रित हुने बताएका छन् । उनी २०१७ देखि २०१९ मे सम्म बेटिसको प्रशिक्षक थिए । 

बार्सिलोनाले भल्भर्डेसँगको सम्झौता समाप्त भएको भन्दै उनले क्लबमा गरेको योगदान र सहयोगका लागि धन्यवाद दिएको छ । ५५ बर्षीय भाल्भर्डेले बार्सिलोनालाई दुई पटक स्पेनिस ला लिगाको उपाधि जिताएका थिए । उनी सन् २०१७ मा बार्सिलोनाको प्रशिक्षक बनेका थिए ।

बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका भाल्भर्डेले सन् १९८८ देखि १९९० सम्म बार्सिलोनाबाटै फुटबल खेलेका थिए । यसपटक पनि बार्सिलोना लिगको शीर्ष स्थानमै छ । तर, बार्सिलोना गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभपुरसँग पराजित हुँदै बाहिरिएपछि भाल्भर्डेको दिनगन्ती त्यतिबेलै सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप