बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जेब्रा क्रसिङमा ज्यान जोगाउनै गाह्रो : साउन यता ३४ पैदलयात्रीले ज्यान गुमाए (भिडियो)

मङ्गलबार, २९ पुस २०७६, ०८ : ३९
मङ्गलबार, २९ पुस २०७६

स्थान ः जिल्ला अदालत काठमाडौँ अगाडिको जेब्रा क्रस ।

सडकको बीचमा जेब्रा क्रसको छेउमा ट्राफिक प्रहरीले सवारी चालकलाई झस्काउने एउटा सूचना बोर्ड राखेको छ । बोर्डमा लेखिएको छ–‘ट्राफिक नियमको उल्लङ्घन गरेमा १० हजारसम्म जरिवाना गरिनेछ ।’

सोही सूचना बोर्ड हेर्दै पैदलयात्रुले हतार हतार सडक पार गरिरहेका हुन्छन् भने सवारी चालक पनि आफ्नो गन्तव्यतिर हुइँकिरहेका हुन्छन् । तर कतिपय सवारी साधन ट्राफिक प्रहरीले राखेको कडा जरिवानको सूचना र जेब्रा क्रसबाट यात्री हिँडिरहेको देख्दा देख्दै पनि सवारी हुइँक्याइदिन्छन् । 

अझ केही सार्वजनिक बस त जेब्रा क्रसमै घ्याच्च रोकिन्छन् र धमाधम यात्रु चढाउँछन् ।

ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने सवारीलाई १० हजारसम्म जरिवाना गर्ने सूचना राखेको  ठाउँमै बाटो काट्दा सर्वसाधारणले भने असुरक्षा महसुस भएको बताए ।

हामीले बबरमहल सडकमा रहेको जेब्रा क्रस प्रयोगकर्ता यात्रीसँग यसबारे कुरा गर्‍यौँ । अधिकांशले जेब्रा क्रसबाट बाटो काट्न डराउनुपर्ने अवस्था रहेको बताए ।

पैदलयात्री राजबज्र लामाले ३० प्रतिशत सवारी चालकले सडक नियम मान्ने गरे पनि अधिकांशले सडक नियम पालना नगर्ने बताए । उनले बाटो काट्ने ठाउँमा ट्राफिक लाइटको व्यवस्था हुनुपर्ने बताए ।

अर्की पैदयात्री दुर्गा केसी अधिकारीले जेब्रा क्रसबाट बाटो पार गर्दा सवारी साधन रोक्दै नरोकिने बताइन् । उनले भनिन्– ‘हामीले हात दिँदा पनि उहाँहरुले रोक्नुहुन्न । हामी अन्त कुनै ठाउँबाट काट्दैनौँ । जेब्रा क्रसिङबाट काट्दा पनि हामीलाई मतलब नै गर्नुहुन्न । एक पटक त सडक पार गर्दा जेब्रा क्रसमा गाडीले हानेर म लडेको पनि छु । घाउचोट त केही लागेन । एक पटक म यसरी लडिसकेको छु ।’

अर्का पैदलयात्री सञ्जय चौधरीले बाटो काट्दै गर्दा अधिकांश सवारीसधान नरोकिने बताए । उनले भने– ‘अधिकांश गाडि रोकिँदैनन् । हात दिँदा पनि कोही कोही जबरजस्ती नै आउँछ । कोही कोही चाहिँ रोकिन्छ पनि । कतिपयले आफै सोचेर रोकिदिन्छ पनि ।’ उनले कोटेश्वरमा जेब्रा क्रसबाट बाटो काट्दा गाडीले झन्डै झन्डै ठक्कर दिन खोजेको बताए ।

पैदलयात्रु पदमलाल पौडेल हात दिँदा मात्र गाडी रोकिने अन्यथा जेब्रा क्रसमा गाडीले बाटो काट्न नदिने बताउँछन् । अर्का पैदलयात्री भगवतीप्रसाद शर्माले सडक पार गर्दा सडकमा ७० प्रतिशत सवारी साधन नरोकिने गरेको बताए ।

यस्तै गोरखाका सुमनबहादुर मगर पनि पैदलयात्रीलाई सवारी साधानले जेब्रा क्रसिङमा सहयोग नगर्ने बताउँछन् । उनले भने– ‘मलाई के लाग्छ भने यो गाडीवालाहरुलाई एउटा प्रशिक्षण नै दिनुपर्छ । ट्राफिक प्रहरीले सवारी चालकलाई प्रशिक्षण दिएर जेब्रा क्रसमा सर्वसाधारणलाई सम्मानपूर्वक हिँड्न पाउने वातावरण बनाइदिनुपर्छ । म पनि यो देशको एउटा सभ्य नागरिक हुँ । जेब्रा क्रसबाटै आइरहेको छु तर गाडीले हान्ला भनेजस्तो गर्छ । सकेसम्म पेलेरै जाने गाडी चलाउनेहरुको समस्या छ ।’

अर्का पैदलयात्री कविता थापा सोडारी चालकहरुबीच प्रतिस्पर्धाको भावना, बेलुका मादक पदार्थ सेवन गर्ने र दिनभरी पनि त्यसको असरका कारण समस्या निम्तिने गरेको बताउँछिन् ।

ट्राफिक प्रहरीले थाल्यो १५ दिने यात्री सचेतना क्रार्यक्रम

महानगरीय ट्राफिक प्रहरी महाशाखाको आकडा अनुसार गत साउनदेखि हालसम्म काठमाडौँ उपत्यकामा सडक दुर्घटनामा ७६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ३४ जना पैदलयात्रीले ज्यान गुमाएका छन् ।

मादक पदार्थ सेवन गरेर गाडी चलाउने, प्रतिस्पर्धा गरेर, लेन मिचेर सवारी चलाउने र पैदलयात्रीले जथाभावी सडक पार गरेका कारण दुर्घटना निम्तिने प्रहरीको भनाइ छ ।

यसैबीच सोमबारदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमै सचेतना कार्यक्रम सुरु गरेको छ । जेब्रा क्रस उल्लङ्घन गर्ने पैदलयात्रीलाई, जेब्रा क्रसमा नरोक्ने सवारी साधानलाई सम्झाउने गरी सडकमा कार्यक्रम थालिएको ट्राफिक प्रहरी प्रमुख भीम ढकालले रातोपाटीलाई जानकारी दिए । सडक प्रयोगकर्ताको बानीमा सुधार नआउन्जेलसम्म सडकमा ठाउँ ठाउँमा कक्षा लिइराख्ने कार्यक्रम बनाएको उनले बताए । 

एसएसपी ढकालले भने– ‘साउनदेखि हालसम्म ३४ ज्यान गुमाएका छन् । त्यसकारण पैदलयात्रीहरुले बढी सचेत हुनुपर्ने अवस्था छ । पैदलात्रीले जथाभावी बाटो काट्ने, आकाशे पुलको प्रयोग नगर्ने, हतारमा बाटो काट्ने समस्या छ । यसबारेमा हामीले सचेतना कार्यक्रम गर्न थालेका छौँ । सडकमै कक्षा लिने अभियान पनि सुरु गर्दैछौँ ।’

पैदलयात्रीले जथाभावी बाटो काट्दा सडक जाम हुने, पैदलयात्रीको सडक दुर्घटनामा निधन भएका कारण, हतारमा हिँड्ने बानी, जेब्रा क्रसबाट, आकासे पुलबाट बाटो काट्ने बानी बसाल्न अभियान सुरु गरेको उनले बताए ।

कोटेश्वर, बानेश्वर, चावहिल, नारायणगोपाल चोक, न्युरोड गेट, रत्नपार्क केशर महल, लौनचौर, कालीमाटी त्रिपुरेश्वर लगायतका मुख्य ठाउँमा सचेतना कार्यक्रम गरिएको हो । यसका लागि २१ जना ट्राफिक प्रहरीको टोली परिचालन गर्न लागेको ढकालले जानकारी दिए ।

उनले भने– ‘तत्कालका लागि झन्डै १५ दिन हामी सडकमै सचेतना कक्षा लिन्छौँ । त्यसपछि कारबाही पनि गर्छौं ।’

विभिन्न स्थानमा फरक फरक दिन पारेर पैदलयात्री सचेतना कार्यक्रम गर्न लागेको उनले बताए ।

हेर्नुहोस् भिडियोः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप